अनुभवी अनुभव

अनुभवी अनुभव

मर्ने कसैलाई रहर हुँदैन

तर नमरेको प्रहर हुँदैन

भागेर जाऊँ कुन ठाउँ जाऊँ

मान्छे नमर्ने सहर हुँदैन।

भाइबहिनी हो, यो गीत तिमीहरूमध्ये धेरैले सुनेका होलाऊ। यसलाई सुन्दा तिमीहरूलाई स्कुले विद्यार्थीले ड्रेस लगाएर अभिनय गरेको भिडियो पनि याद आउँछ होला। चलचित्र ‘नाइँ नभन्नु ल २’ मा यो गीतमा अभिनय गर्ने बालकलाकार हुन्, अनुभव रेग्मी। हँसिलो अनुहारका अनुभवको स्वभाव पनि रमाइलो छ। उनलाई जिस्की रहनुपर्छ। फन्नी जोक्स गरिरहन उनी मन पराउँछन्। उनीसँग गफ गरेर बस्दा समय बितेको पत्तै हुँदैन।

अनुभव अहिले ११ वर्षका भए। कक्षा ६ मा पढ्ने उनी विद्यालयमा मेहनती विद्यार्थीमा पर्छन्। उनी सुटिङमा जाँदा प्रायजसो आफ्नो आमासँग जान्छन्। भर्खरै मात्रै ‘हजार जुनीसम्म’ चलचित्रको सुटिङ सकाएर उनी घर फर्केका हुन्। यसका लागि उनी दुई सातासम्म सिक्किममा बसेका थिए। उनलाई त्यहाँको बसाइ अत्यन्तै रमाइलो लाग्यो। नेपाल फर्केर पनि सिक्किमको सुन्दरता उनी सम्झिरहेका छन्।

अनुभव बलिउड अभिनेता सलमान खानका फ्यान हुन्। केही वर्षअघि उनले चलचित्र ‘दबङ’ हेरेका थिए। उक्त चलचित्र उनलाई अत्यन्तै मन पर्‍यो। त्यसपछिका दिनमा सलमान खानले जे गर्छन् उनलाई पनि त्यही गर्न मन लाग्ने भयो। सलमानकै फेसन उनले कपी गर्न थाले। यतिसम्म कि सलमानको जन्मदिन डिसेम्बर २७ हो भन्ने थाहा पाएपछि उनले २७ लेखिएकै क्याप किन्न लगाए। उनी सधंै त्यही क्याप लगाएर हिँड्ने गर्छन्। सलमानको शरीर, संवाद, अभिनय, सबैबाट उनी प्रभावित छन्।

उनी बिदाको समय मिलाएर सुटिङमा व्यस्त हुने गरेका छन्। छोटो चरित्र निभाउन स्कुलको अनुमति लिएर सुटिङमा जाने गरेका छन्। पढाइसँगै उनी गितार बजाउन, नृत्य गर्न र अभिनय सिक्न मन पराउँछन्। उनले अभिनय गरेको पहिलो चलचित्र ‘भिसा गर्ल’ हो। सुरुमा उनलाई अभिनयको बारेमा केही थाहा थिएन। त्यसैले एकदिन सुटिङ गरेर आएपछि दोस्रो दिन जान मन लागेन। उनका बाबामामुले मामाघर जाने भनेर सुटिङमा लगेका थिए। केही दिनपछि त अभिनयमा मजा लाग्न थाल्यो उनलाई। चलचित्रका संवाद गुनगुनाउँदै हिँड्न थाले उनी।

अहिले उनी अरूसँग भेट्दा पनि चलचित्रमा बोले जस्तै गरी बोल्छन्। हालसम्म उनले ‘नाइँ नभन्नु ल २, ३, ४ र ५ को सिरिज, काली, भैरे, रिदम, आवरण, लुटेरा, शब्द, ए मेरो हजुर २’ लगायत १३ बटा चलचित्रमा अभिनय गरिसकेका छन्।

उनले चलचित्रमा निभाएको भूमिकालाई लिएर संवाद सुनाउँदै साथीहरूले उनलाई जिस्काउँछन्। साथीभाइ र शिक्षकशिक्षिका सबैको माया पाउँदा उनलाई खुसी लाग्छ। उनलाई फन्नी क्यारेक्टरभन्दा इमोसनल क्यारेक्टर निभाउन मनपर्छ। किन त ? जिज्ञासा मेटाउँदै उनी भन्छन्, ‘सानैदेखि सेन्टिमेन्टल फिल्ममा खेलेकोले होला, सबैले मलाई यसैमा सुहाउँछ भन्नुहुन्छ।’

अनुभवलाई नन्भेज खाजा र खाना मनपर्छ। बफ मम पनि उनलाई मीठो लाग्छ। गोलभेँडा हालेको खानेकुरा उनी खानै सक्दैनन्। खानेकुरा र ड्रेस छान्ने काम आमाले गर्ने बताउँदै उनी भन्छन्, ‘मलाई फेसनअनुसारका लुगा र अन्य सामान किनिदिने सबै मामु हो।’ मामुले बनाएको सबै खानेकुरा उनलाई स्वादिलो लाग्छ।

अनुभव भविष्यमा राम्रो कलाकार बन्न चाहन्छन्। त्यसैले उच्च शिक्षाको क्रममा केही वर्ष अभिनय पढी सकेर मात्रै यो क्षेत्रमा सक्रिय हुने उनको विचार छ। अहिलेका नायकमा प्रदीप खड्का उनलाई मनपर्छ। नायक खड्कासँग अभिनय गर्ने उनको रहर छ।

एउटा कार्यक्रममा नायक खड्काले, ‘अब तिमी मेरो भाइ भएर फिल्ममा खेल्नुपर्छ है’ भनेको उनले बिर्सेका छैनन्। अनमोल केसी पनि उनको मनपर्ने कलाकारमै पर्छन्। चलचित्रमा बोल्नुपर्ने संवादहरू प्रायःजसो स्क्रिप्ट हेरेरै सिक्छन् उनी। केही लामा र अफ्ठ्यारा संवादहरू भए उनका बाबा र आमाले घरमै सिकाउँछन्। उनका लागि मामु नै सबैभन्दा नजिकको साथी हो। मामुसँग सबै कुरा सेयर गर्छन् उनी। अनुभवले धेरै नेपाली चलचित्र हेरेका छन्। केही चलेका र राम्रो समीक्षा आएका चलचित्र हेर्न उनलाई उनकै आमाले हलसम्म लैजाने गरेकी छिन्।

अनुभव विद्यालयका साथीहरूसँग फुटबल र बास्केटबल खेल्न रुचाउँछन्। छिमेकमा पनि बल खेल्ने साथीहरू छन् उनका। उनले स्कुलमा गितार बजाउन पनि सिकिरहेका छन्। अहिले अभिनय अनुभवको रहर हो। भविष्यमा यसलाई पेसा नै बनाउने उनको लक्ष्य छ।

तस्बिर : सुनिता डंगोल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.