दमकल, एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई विलासी गाडी

दमकल, एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई विलासी गाडी

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ ९२ लाख रुपैयाँ पर्ने गाडी चढ्छन् । पाँच वडाध्यक्षलाई गाउँपालिका कार्यालयले एक÷एक थान मोटरसाइकल दिएको छ । मोटरसाइकलको मूल्य प्रतिगोटा १ लाख ८० हजार पर्छ ।

तर, जनप्रतिनिधिले विलासी गाडी चढिरहँदा गाउँपालिकामा आगलागी भए निभाउने दमकल छैन । कोही सिकिस्त बिरामी परे अस्पताल पु¥याइदिने एम्बुलेन्स छैन । यो समस्या जगरनाथपुरको मात्र होइन, विन्ध्यवासिनी गाउँपालिकामा पनि उस्तै छ । अध्यक्ष श्रीलाल साह मोदीका लागि ५६ लाख रुपैयाँको गाडी खरिद गरिएको छ । उपाध्यक्ष किरणदेवी गुप्ताका लागि मासिक ९० हजार भाडामा गाडी लिइएको छ । तर, गाउँपालिकासँग न दमकल छ न त एम्बुलेन्स ।

आलागी भइहाल्यो भने १२ किलोमिटर पर वीरगन्ज महानगरपालिकाबाट दमकल मगाउनुपर्छ । आठ किलोमिटर दूरीको पोखरिया नगरपालिकाबाट पनि मगाउन सकिन्छ । पर्सामा एक महागरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् । आठ तहका प्रमुख र उपप्रमुखका लागि सरकारी बजेटबाट लाखौं मूल्यका चारपांग्रे खरिद गरिएका छन् । पाँच तहमा भने (ठोरी गाउँपालिकाबाहेक) गाडी खरिदका लागि टेन्डर आह्वान भइसकेको छ ।

गाडी खरिद नगरिएका ठाउँमा मासिक ८० देखि ९० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिइएको छ । महानगरबाहेक १३ तहमा सबै वडाअध्यक्षका लागि मोटरसाइकलको व्यवस्था छ । तर, १२ स्थानीय तहले डेढ वर्ष बितिसक्दा पनि दमकल र एम्बुलेन्स खरिद गरेका छैनन् । वीरगन्जमा निर्वाचनअघि किनिएको र चालू अवस्थाका दुई दमकल छन् । महानगरले खरिद गरेको एम्बुलेन्स छैन । पोखरिया नगरपालिकामा दमकल छ, जुन निर्वाचनअघि खरिद गरिएको थियो । आफैं खरिद गरेको एम्बुलेन्स छैन ।

१२ तहमा आगलागी भयो भने वीरगन्ज वा पोखरियाबाट दमकल लैजाने गरिएको छ । ‘गाउँतिर पोखरियाबाहेक अन्त कहीं पनि वारुणयन्त्र (दमलक) छैन’, महानगरपालिकाका अग्निनियन्त्रक शेरबहादुर केसीले भने, ‘गाउँमा आगलागी भयो भने हामीलाई खबर गर्छन् । हामी पुग्दापुग्दै आगोले ठूलो क्षति पु¥याइसकेको हुन्छ ।’

जनप्रतिनिधिले गाडी सुविधा लिए पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक एम्बुलेन्स र दमकल खरिद गर्न बजेट छुट्याएका छैनन् । विकास निर्माणका काममा ध्यान नदिई सेवा–सुविधामा केन्द्रित भएको स्थानीयको गुनासो छ । ‘जनप्रतिनिधि चुनावको वाचा भुलेर आफ्नो सेवा–सुविधामा रमाइरहेका छन्’, सखुवा प्रसौनी–८ का श्याम पटेलले भने ।

ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले भने जनताको सेवा गर्न गाडी आवश्यक नपरेको बताए । ‘गाडी किन्न कम्तीमा ६० लाख लाग्छ तर त्यो रकमले १० वटा कल्भर्ट निर्माण गर्न सकिन्छ’, उनले भने, ‘हामी मोजमस्ती गर्न होइन, जनताको सेवा गर्न चुनिएर आएका हौं । गाडीमा करोडौं खर्च गर्नुभन्दा त्यो बजेट विकास निर्माणमा लगाउने हो भने जनता खुसी हुन्छन् ।’ बोर्ड बैठकमा सदस्यले गाडी खरिद गर्न दबाब दिए पनि आफूले अस्वीकार गरेको उनले सुनाए ।

जगरनाथपुरका अध्यक्ष मियाँले भने अर्को वर्ष दमकल खरिद गर्ने सोच बनाएको बताए । ‘अहिले त वारुणयन्त्र छैन तर अर्को वर्ष तीन गाउँपालिका मिलेर संयुक्त रूपमा खरिद गर्ने सोच बनाएका छौं’, उनले भने, ‘एम्बुलेन्स भने यसै वर्ष खरिद गर्छौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.