समर्थककै शंकाको घेरामा  सीके राउत

समर्थककै शंकाको घेरामा  सीके राउत

जनकपुरधाम : स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले अचानक सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेपछि उनका समर्थक, शुभचिन्तक र सर्वसाधारण आश्चर्यमा परेका छन् ।

राउतको राजनीतिक रणनीति समर्थकले बुझ्न नसकेकै कारण उनी जनकपुर आउँदा स्वतन्त्र मधेसको नारा घन्काइएको चर्चा चलिरहेको छ । राउतको वास्तविक राजनीतिक गतिविधि भने प्रस्ट हुन सकेको छैन ।

सरकारसँगको सम्झौतापछि आइतबार जनकपुर आएका राउतले सञ्चारकर्मीलाई केही प्रतिक्रिया दिएका छैनन् । सोमबार राउतसँग प्रतिक्रिया लिन जनक—८ बलवा टोलस्थित निजी निवासमा पुग्दा उनका कार्यकर्ताले भेट्न नमिल्ने बताएर फर्काइदिए । व्यस्त सहरको गल्लीमा रहेको राउतको घर धेरैले देखेका छैनन् । घरको पर्खालमा स्वतन्त्र मधेस गठबन्धनको झन्डा झुन्ड्याइएको हुँदा घर पहिचान गर्न सजिलो भएको थियो ।

ढोकामै सानो पोस्टरमा देखिने गरी आगन्तुकका लागि सूचना टाँसिएको भेटियो । सूचनामा थियो, ‘भेट्न आउनेले पहिला ९८०४७३८८० नम्बरमा सम्पर्क गरी अनुमति लिनुहोला ।’ तर सम्पर्क गर्दा फोन अफ थियो ।

जनकपुरको बलवा टोलस्थित सीके राउतको घरमा झुन्ड्याइएको स्वतन्त्र मधेसको झन्डा । तस्बिर : मनिका झा

तीनतले घरको माथिल्लो तल्लामा सीसीटीभी क्यामराले आगन्तुकमाथि निगरानी गरिराखेको थियो । सुनसान घरको ढोका केहीबेर ढकढकाएपछि एक व्यक्ति बाहिर आए तर, ढोका खोलेनन् । उनले प्रश्न गरे, ‘किन आउनुभएको ? के काम छ ? ’ संवाददाताले परिचय दिएपछि ती व्यक्तिले भने, ‘दुई दिनपछि मात्रै राउत सरले कुरा गर्नुहुन्छ, अहिले भेट्न मिल्दैन ।’ सीकेको स्वास्थ्य अवस्था राम्रो नहुँदा दुई दिनसम्म कसैलाई पनि नभेट्ने निर्देशन आएको ती व्यक्तिले सुनाए ।

उनीसँग भेटघाटका लागि आफन्त र केही कार्यकर्ता मात्र आएको निजी सहायक एसएन मण्डलले बताए । मण्डलले भने, ‘कसैलाई पनि भेट्ने अनुमति छैन । घरमा उहाँका परिवार र बच्चा छन् । आफन्तले मात्र भेट गरेका छन् ।’ दुई दिनपछि राउतले पत्रकार सम्मेलन गरी आफ्नो कुरा राख्ने मण्डलले जानकारी गराए ।

राउतले कार्यकर्ता सम्हालनुपर्छ : बुद्धिजीवी

सीके राउत आश्चर्यजनक रूपमा विखण्डनको मुद्दा परित्याग गरी जसरी मूलधारमा समाहित भए त्योभन्दा बढी उनका कार्यकर्ताको क्रियाकलाप आश्चर्यजनक रहेको प्रा.डा. सुरेन्द्र लाभ बताउँछन् । लाभ भन्छन्, ‘उनी मूलधारमा आए तर उल्टो धार बगाउन समय त चाहियो नि ।’ सीकेका कार्यकर्ता र समर्थकबाट जनकपुरमा भएका गतिविधि एकदुई दिनसम्म पचाउन सकिए पनि यस्ता क्रियाकलाप नसच्चिए राज्यले सहमतिमा विचार पु¥याउनुपर्ने सुझाव उनको छ ।

‘सीके राउतको माग नयाँ होइन । यसै मागलाई लिएर मधेसमा विभिन्न भूमिगत समूहले आन्दोलन पनि गरिरहेका छन् । तर राउतले यो मागलाई अहिंसात्मक रूपमा उठाउनु केही फरक धार थियो’, लाभ थप्छन् । राउतले गरेको विखण्डनको बीजारोपण निकाल्नु राज्यका लागि चुनौती रहेको लाभको ठम्याइ छ ।

‘संविधानले विखण्डनको अनुमति कसैलाई पनि दिएको छैन । संविधान पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो’, अधिवक्ता राजकुमार महासेठ भन्छन्, ‘त्यसमा पनि सरकारसँग औपचारिक सहमति भइसकेपछि त्यसको इमानदारीपूर्वक पालना गर्नुपर्ने जिम्मेवारी दुवै पक्षको हो । तर राउतको गतिविधिले सम्झौता उल्लंघन गरेको छ ।’

राउतले आफ्ना माग एक्कासि त्याग्नुले उनीमाथि शंका उत्पन्न भएको अधिवक्ता वीरेन्द्र यादव बताउँछन् । उनी भन्छन्, ‘यस्ता सहमति हुँदा त्यसको केही पृष्ठभूमि हुन्छ तर, राउतले सहमति गरेपछि मात्र जनतामाझ सूचना आयो । यसले कार्यकर्तालाई पत्याउन समय लाग्छ ।’

गल्ती सच्याउन प्रशासनको आग्रह

सीके राउत सहमतिपूर्ण वातावरणमा मूलधारको राजनीतिमा प्रवेश गरे पनि उनको समर्थकका तर्फबाट पुरानो मुद्दा छाडिएको देखिएन । जनकपुरमा आइतबार उनका समर्थकले स्वतन्त्र मधेसको झन्डा बोकी विखण्डनको नारा घन्काए । ‘सीके राउतले अहिलेसम्म कुनै पनि गैरजिम्मेवार क्रियाकलाप गरेको हाम्रो जानकारीमा छैन’, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल भन्छन्, ‘उनले भद्रता देखाउनु राम्रो हुन्छ । तर लामो समयसम्म उनका समर्थक र कार्यकर्तामा रहेको मनोविज्ञानले स्वतन्त्र मधेसका केही प्लेकार्ड र प्रचार देखियो यो राम्रो होइन ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.