मिथिलामा 'फगुवा'को स्वागत

जनकपुरधाम :
कञ्चनवन राम खेलैय होरी
किनका के हात कनक पिचकारी
किनका के हात अबिर झोरी,
कन्चनवन राम खेलैय होरी ।
मिथिला मध्यमा परिक्रमाको आठौं विश्रामस्थल धनुषाको कञ्चनवन बुधबार रंगअबिरले रंगियो । कञ्चनवनमा परिक्रमा यात्रीले होली खेलेपछि 'मिथिलार्मा फगुवा’ विधिवत् सुरु भएको हो ।
कञ्चनवनमा त्रेतायुगमा रामसीताले होली खेलेको किंवदन्ती छ । मिथिला मध्यमा परिक्रमाका क्रममा महोत्तरीको भंगहा नगरपालिकास्थित कञ्चनवनमा होली खेलिएपछि मिथिलामा होली सुरु हुन्छ ।
कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोह आयोजना गरी परिक्रमा यात्रीले होली खेल्ने गर्छन् । परिक्रमा यात्रीले कञ्चनवन पुगेर एकअर्कालाई होलीको शुभकामना आदानप्रदान गर्छन् । मठमन्दिरबाट निस्केको डोलामा सन्तमहन्थले होली आयोजना गर्छन् । यस वर्ष भंगहा नगरपालिकाकाले कञ्चनवनमा होली महोत्सव आयोजना गरेको हो । महोत्सवमा रामसीताको प्रतीकात्मक झाँकी राखी होली खेलाइयो ।
कञ्चनवनमा होली मनाउन सहभागी भएका परिक्रमा यात्री । तस्बिर सौजन्य : घनश्याम मिश्र
बूढापाकाका अनुसार कञ्चनवनमा भगवान्ले होली खेलेको हुनाले त्यहाँको माटो अहिले पनि रातो छ । कञ्चनवनमा होली समारोह हेर्न परिक्रमावासीबाहेक छिमेकी गाउँघरमा सयौं सर्वसाधारण सहभागी हुन्छन् । मिथिलामा होली सुरु भएसँगै लोकगीत जोगिरा पनि गाउँघरमा गुञ्जिन थाल्छ ।
जनकपुरमा होलीलाई विशेष रूपमा मनाउन साता पूर्वदेखि नै सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । होलीलाई भव्य बनाउन प्रत्येक वर्ष मिथिला नाट्यकला परिषद्द्वारा होरी महोत्सव र महामूर्ख सम्मेलन आयोजना गरिन्छ । यस वर्ष चैत ५ गते होली महोत्सव र चैत ६ गते महामूर्ख सम्मेलन आयोजना गरिने मिति तय गरिएको परिषद्का अध्यक्ष परमेश झाले बताए ।
कञ्चनवनपछि परिक्रमा यात्रीको पडाव पर्वता हुन्छ । पर्वताबाट धनुषाधाम पुग्ने गरेका यात्रुले धनुषाधाममा रामसीताको स्वयंवरको बेला रामले शिवको धनुष भाँचेको टुक्रा झरेको अवशेष भएको मन्दिरको दर्शन गर्ने गर्छन् । दशमी तिथिमा सतोषर भन्ने स्थानमा यात्री बास बसेर क्रमशः औरही, करुणा हुँदै कल्याणेश्वर भएर विशौल पुगी वि श्राम गर्छन् । फागु पूर्णिमाको दिन डोला जनकपुर पुगेर यहाँ अन्तरगृह परिक्रमा गरी समापन हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस !
