बन्दको विषक्षमा पूर्वका व्यापारी, मोरङमा आंशिक प्रभाव

बन्दको विषक्षमा पूर्वका व्यापारी, मोरङमा आंशिक प्रभाव

विराटनगर : पूर्वका उद्योगी व्यवसायी नेत्रविक्रम चन्द 'विप्लव' नेत्रृत्वको नेकपाले आह्वान गरेको बन्दको विपक्षमा देखिएका छन्। बन्दको प्रभाव बिहीबार मोरङमा आंशिक रुपमा परिरहँदा उनीहरुले जुनसुकै पक्षले बन्द र हड्तालको आब्हान गरेपनि त्यो आफूहरुलाई मान्य नहुने बताए।

उद्योगी व्यवसायीकै विरोधका कारण उद्योग कलकारखाना र बजार पसलमा बन्दको असर परेको छैन। सधैं बन्द र हड्तालको चपेटामा परिरहँदा मुलुकमा औद्योगिक र व्यापारिक क्षेत्र फस्टाउन नसक्ने तथा उद्योग कलकारखाना धारासायी हुँदै जाँदा त्यसले मुलुकलाई घाटा पुर्‍याउने उनीहरुको ठम्याई छ। 

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जसले पायो त्यसले बन्द र हड्ताल गरिरहँदा त्यसको मार सर्वसाधारण र उद्योगी व्यवसायीले खेप्नु पर्ने बताए। 'बन्दका कारण उद्योग धन्दा चौपट हुन्छ,' उनले भने, 'विगतमा भएका विभिन्न आन्दोलनका नाममा बन्द र हड्ताल गरिंदा जर्जर बनेको यो क्षेत्र अझै पनि उक्सिन सकिरहेको छैन।'

 
फेरी यो वा त्यो वहानामा हड्ताल गरिंदा त्यसले सबै क्षेत्रलाई घाटा पुग्ने र औद्योगिक क्षेत्र थप तहसनहस हुने उनको भनाइ छ । 'औद्योगिक र व्यापारिक क्षेत्रले बन्दको विरोध गरेको छ र सधैं गरिरहने छ,' उनले भने, 'मजदुरले काम नछाडुनजेल औद्योगिक क्षेत्रमा बन्दको कुनै पनि प्रभाव पर्ने छैन।' सारडाले बन्दको उल्लंघन गरिएको रुपमा भन्दा पनि बन्द र हड्ताल राम्रो हैन भन्ने कुरा बन्दकर्ताले बुझ्नु पर्ने बताए। 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बन्द र हड्ताल आब्हान गरेर औद्योगिक एवं व्यापारिक क्षेत्रलाई आघात पुर्‍याउने र सर्वसाधारणलाई त्रसित बनाउने काम गर्नुभन्दा वार्ताबाटै समस्याको समाधान खोजिनुपर्ने बताए।'असन्तुष्ट पक्षले आफ्ना माग सरकारलाई राख्नुपर्छ।सरकार पनि असन्तुष्टको माग सम्बोधन गर्न तयार हुनुपर्छ,' उनले भने, 'हैन भने यस्ता बन्द र हड्ताल सधैं औद्योगिक र व्यापारिक क्षेत्रले धान्न सक्दैनन्। राजनैतिक स्थायित्व हुनुपर्ने ठाउँमा अस्थिरता निम्तिए मुलुक संकटमा पर्नेतर्फ सबैले ध्यान दिन जरुरी छ।' घिमिरेले मुलुकमा शान्ति स्थापना हुनुपर्ने र कुनै पनि वहानामा अशान्ति हुन नहुने बताए। 

'विगतमा बन्द र हड्तालको प्रभाव सिधै औद्योगिक र व्यापारिक क्षेत्रमा पर्ने गरेको थियो। त्यही भएर पनि उद्योगी व्यवसायी यसको विरोधमा उत्रन थालेका हुन्,' उनले भने, 'उद्योग र व्यवसाय क्षेत्रमा बन्द र हड्तालले असर गर्दा मुलुकमा समृद्धि एवं विकास सम्भव हुँदैन।धर्तीले सधैं अशान्ति थाम्न र धान्न पनि सक्दैन।' राज्यको निर्णयमा असन्तुष्टि जनाउँदै विक्षिप्त भएर एउटा-एउटा समूह टुक्रदै जाने हो भने भोलीका दिनमा पनि विगतकै द्वन्द्वको नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष घिमिरेले यस विषयमा सरकार र सम्बन्धीत पक्ष गम्भीर हुनुपर्ने बताए। 

शैक्षिक संस्था र यातायात क्षेत्रमा बन्दको विशेष प्रभाव पर्‍यो।बन्दका कारण शैक्षिक संस्थामा पठन पाठन सञ्चालन हुन सकेनन्। लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेनन्। प्रहरीले विशेष सुरक्षाको व्यवस्था गर्ने बताए पनि यातायात व्यवसायी सवारी साधन सञ्चालन गर्न राजी भएनन्।

यातायातका साधन नचल्दा यात्रुहरु मारमा परेका छन्। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बन्दका कारण उत्पन्न हुने समस्यालाई मध्यनजर गर्दै सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको बताए।'ठाउँठाउँमा बन्दका नाममा अपराध हुन सक्नेतर्फ प्रहरी सचेत छ,' उनले भने, 'राजमार्ग, बजार क्षेत्र, सार्वजनिक स्थल, भित्री सडक खण्डहरु, शैक्षिक तथा औद्योगिक क्षेत्र लगायतका सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ।' केसीले बन्दका नाममा कुनै पनि अवाञ्छित गतिविधी भएमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाइने जानकारी दिए।

विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्यिनसिपमा आफूहरुको ध्यान केन्द्रीत भएकाले बन्दको प्रभाव नपरोस भनेर विशेष सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका क्रममा प्रदेश भरीनै कुनै पनि घटनाहरु भएका छैनन् । 

प्रदेश प्रहरीका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार प्रदेशका १४ वटै जिल्लाको सुरक्षा व्यवस्था मजवुत बनाइएका कारण कुनै पनि ठाउँमा त्यस्ता अप्रिय घटना हुन पाएका छैनन्। बन्दकर्ताको खोजीका लागि नेपाल र सशस्त्र प्रहरीको विशेष टोली परिचालित छ। 

नेपाल यातायात मजदुर संघका सह-सचिव भुपाल केसीले बन्दका कारण यातायात क्षेत्र प्रभावित बनेको जानकारी दिए। उनले बन्दको प्रभावको अवस्था हेरेर साँझबाट सवारी साधन चलाउने या नचलाउने भन्ने कुराको निर्णय हुने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.