हिमालयको जहाज भाडामा

काठमाडौं : निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले एउटा जहाज भाडामा दिन स्वीकृति पाएको छ। यो वायुसेवाले ओमानको सलाम एयरलाई ६ महिनाका लागि जहाज भाडामा लगाउने स्वीकृति मंगलबार पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए। उनका अनुसार यो वायुसेवाले दुईवटा जहाज भाडामा लगाउन अनुमति मागेको भए पनि हाललाई एउटाको मात्रै स्वीकृति दिइएको हो।
हिमालयको जहाज अब सलाम एयरले भाडामा प्रयोग गर्नेछ। ओमानको पहिलो बजेट एयरलाइन्स सलाम एयरले हिमालयको जहाजलाई आफ्नो उडानका जुनसुकै गन्तव्यमा पनि प्रयोग गर्न सक्नेछ। हिमालयले सलामलाई ६ महिनाको निम्ति वेट लिजमा जहाज भाडामा दिएको छ। जहाज भाडामा लिने र दिने कम्पनीले आफ्नो अनुकूलताअनुसार समय बढाउन सक्ने सर्तलाई पनि प्राधिकरणले स्वीकृति दिएको छ। सलामले भाडामा लिएको हिमालयको एउटा जहाज हिमालयकै चालकदलका सदस्यलाई उडाउन दिइनेछ। दुईवटा कम्पनीबीच भएको सहमतिअनुसार अब सलाम एयरको उडानमा हिमालयको जहाज प्रयोग हुनेछ। यो वायुसेवा नेपालकै दर्ता नम्बरमा, हिमालयकै ब्रान्डमा सलामले आफ्नो उडान गन्तव्य भएको जुनसुकै गन्तव्यमा पनि प्रयोग गर्न सक्नेछ।
हिमालय एयरलाइन्स नेपाल भित्रिएको करिब तीन वर्ष पुगेको छ। २०७२ चैत्र ३० देखि काठमाडौंबाट श्रीलंकाको कोलम्बो व्यावसायिक उडान सुरु गरेको यो वायुसेवाले मागेको नाफामूलक रूट नपाएको र जहाजको क्षमता विस्तार गर्न नसक्दा भाडामा लगाएको जानकारी प्राधिकरणले दिएको छ। हिमालयले भारतको नयाँ दिल्ली, चीनको चल्तिका विमानस्थलसहितको गन्तव्यमा उडान अनुमति मागेको थियो। उक्त गन्तव्यमा उडान अनुमति नपाएका कारण हिमालयले अपेक्षाअनुसार लाभ लिन नसक्दा जहाज भाडामा लाउने निर्णण गरेर प्राधिकरणसमक्ष आएको पनि उल्लेख छ।
हिमालयले ओमानको सलाम एयरलाई ६ महिनाका लागि वेट लिजमा जहाज भाडामा दिएको छ।
कम लाभकै गन्तव्यमा खुम्चनुभन्दा छोटो समयका लागि भाडामा लगाउनु उपयुक्त हुने निर्णय गरेका हिमालयले आफूलाई चाहिएको बेला जहाज ल्याउन सक्नेछ। यो वायुसेवाले हाल साउदी अरबको दमाम, कतारको दोहा, संयुक्त अबर इमिरेट्स (यूएई)को दुबई र मलेसियाको क्वालालम्पुरमा काठमाडौंबाट सातामा २२ वटा उडान गर्छ।
एयरवसको ए३२०–२१४ नामक १५८ सिट क्षमताको न्यारोवडी जहाज उडाइरहेको हिमालयले यसअघि सुरुवात गरेको श्रीलंकाको कोलम्बो र म्यानमारको रंगुनबाट भने लाभ लिन नसकेकै कारण उडान बन्द गरिसकेको छ। यसले आगामी चैत १७ गतेबाटे यूएईको अबुधाबीमा साताको तीनवटा उडान गर्ने गरी तालिका तय गरेको छ।
हिमालयसँग जम्मा तीनवटा जहाज छन्। यसले अब दुईवटा जहाजबाट मात्रै काठमाडौंबाट उडान गर्नेछ। यो वायुसेवाले सञ्चानलनमा आएदेखि नै पूर्ण क्षमतामा र लाभको गन्तव्यमा उडान गर्न नपाएको कारण नाफामा लैजान नसकेको जानकारी प्राधिरकरणले दिएको छ। यो वायुसेवाले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाइ जहाज ल्यान्डिङ, पार्किङबापतको करिब २० करोड रुपैयाँ पनि बुझाउन पनि बाँकी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।
हिमालय एयरलाइन्सले आफैंले जहाज लामो समयको निम्ति ड्राइ लिजमा तिब्बत एयरलाइन्सबाट ल्याएको छ। यो वायुसेवामा नेपाली लगानीकर्ता यती वल्र्ड इन्भेस्टमेन्टको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर छ।
हिमालयको जहाज भाडामा लिने वायुसेवा सलाम एयरले गत भदौबाट मस्कट–काठमाडौं उडान सुरु गरेको हो। यो वायुसेवाको नेपालस्थिति जनरल सेल्स एजेन्ट्स (जीएसए) आईएमई ग्रुप अन्तर्गतको आईएमई इन्टरनेसनल ट्राभल हो।
प्रतिक्रिया दिनुहोस !
