करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ
बागलुङ : अवैध रूपमा कालीगण्डकी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन्। बागलुङ नगरपालिका-४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा आइतबार राती साढे १० बजे करेन्ट लगाएर माछा मारिरहेका बेला चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवले बताए।
पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका-८ का ३४ वर्षीय गोकुल गौतम, सोही ठाउँका ३० वर्षीय किस्मत पुन, ३७ वर्षीय दिलबहादुर मगर र वडा नं. ७ का आर्यन शर्मा रहेको डिएसपि यादवले बताए। कालीगण्डकी नदी किनारमा ब्याट्री मार्फत करेन्ट प्रवाह गरी अवैध रूपमा माछा मार्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको १२ भोल्टको ब्याट्री एक थान, सेतो तार बेरिएको आल्मुनियमको स्ट्रिक दुई थान, जालीसहितको कुँडुलो दुई थान बरामद गरिएको डीएसपी यादवले बताए। पक्राउ परेका चारै जना विरुद्ध जिल्ला प्रशासन कार्यालय बागलुङमा जलचर संरक्षण ऐन २०१७ अन्तर्गतको कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जलचर संरक्षण ऐन अनुसार कुनै समात्ने वा मार्ने अभिप्रायले जानिजानी जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतीय धार, विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्नु हुँदैन भन्ने व्यवस्था रहेकाले कोही–कसैले माछा मार्ने उदेश्यले खोला नदीमा करेन्ट नलगाउन समेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !