थाक्ले डाँडामाथि सुपरम्यान

थाक्ले डाँडामाथि सुपरम्यान

‘घुम्न जाऊँ घुम्न जाऊँ घुम्न धुलिखेल...’। पर्यटकीय मार्ग धुलिखेलको बाटो हिँड्दा यही गीत नेपालीको मुखमा झुन्डिन्छ। पछिल्लो समय यो क्षेत्रमा नयाँनयाँ प्रविधिका रोमाञ्चक खेलहरूको थालनी हुँदा यो गीत झन् सान्दर्भिक बन्दै गएको छ। यहाँ हालै सुरु गरिएको छ, जिपलाइन खेल। डोरीमा झुन्डिएर एउटा डाँडाबाट अर्को डाँडामा पुग्न सकिने एडभेन्चरस खेल हो, जिपलाइन।

हामीले केबलकार र तुइत त देखेकै छौं। नदेखे पनि तुइन विस्थापन गर्ने प्रधानमन्त्रीको नीतिका बारेमा त पक्कै सुनेका छौं। यसमा मानिसलगायत सरसामान ओसारपसार गर्न मिल्छ। भौगोलिक विकटता भएको र सडक मार्ग बनाउन सहज नभएका पहाडी इलाकामा यस्तो केबल यात्रालाई प्राथमिकता दिइन्छ। यसको माध्यमबाट यात्रा सहज हुन्छ।

देशबाट तुइन विस्थापन गर्ने प्रधानमन्त्रीको भाषणले मूर्त रूप लेला कि नलेला, त्यो त भन्न सकिन्न तर तुइनकै ‘एडभान्स भर्जन’ जिपलाइनमार्फत गरिने रोमाञ्चक खेलको भने अब नेपालमै मज्जा लिन पाइने भएको छ।

जिपलाइन एक रोमाञ्चक खेल हो जुन इडभेन्चर मन पराउनेका लागि निकै रोचक खेल हुन सक्छ। यो खेलको मज्जा काठमाडौंबाट मात्र ३० किलोमिटरको दूरीमा रहेको धुलिखेलमा लिन सकिने छ। नेपालमा पहिलोपटक पोखराबाट साधारण जिप लाइन सुरु भएको थियो। तर, सुपरम्यान फ्लाईको सुरुआत पहिलोपटक धुलिखेलबाटै भएको छ। पाँचखालबाट अगाडि बढ्दा बाटोमै सुपर ‘जिपलाइन धुलिखेल थाक्ले’ लेखिएको बोर्ड देख्न सकिन्छ।

यो खेल खेल्न चाहनेका लागि तीनवटा अप्सन छन्— सामान्य, जोडी (टेन्डम) र सुपरम्यान फ्लाई। जमिनतिर फर्किएर खेलिने सुपरम्यान फ्लाई गर्न कम्तीमा ५० किलो वजन हुनुपर्छ। वजन नपुगे यो खेलको मज्जा लिन सकिँदैन। यद्यपि हार्नेसमा झुन्डिएर वा टेन्डम गर्न भने मज्जाले सकिन्छ। यो खेलमा १६ वर्षभन्दा माथिका युवाले मात्र भाग लिन पाइने प्रावधान छ।

जिपलाइनमा सबैभन्दा मज्जा सुपरम्यान फ्लाईमा हुन्छ। यसमा खेल्नेलाई सेफ्टीका लागि हेल्मेट लगाउन दिइन्छ। एउटा हातमा ग्लभ्स पनि लगाउनु पर्छ। साथै शरीरलाई हार्नेसले बाँधिन्छ र विशेष किसिमको ज्याकेट लगाइन्छ। यो खेलमा मान्छेलाई पुली (घिर्नी)को मद्दतले मोटो वायरमा तुइन वा केबलकारलाई जस्तै झुन्ड्याइन्छ। त्यसपछि तपाईं सुपरम्यानजस्तै ‘पोजिसन’मा आकाशमा उड्न पाउनुहुने छ। थाक्लेडाँडामाथि सुपरम्यान बनेर उड्दा चारैतिर वनजंगल, गाउँबस्ती, खेतबारीलाई चरालेझैं नियाल्न पाइने छ।

यसमा फ्लाइङको गति प्रतिघन्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुन्छ। बढीमा एक मिनेट २० सेकेन्डमा एउटा स्टेसनबाट अर्को स्टेसनमा रहेको ११ सय मिटरको दूरी पार गर्न सकिन्छ। यो खेललाई वल्र्ड वाइड एड्भेन्चर कम्पनीले सञ्चालनमा ल्याएको हो। धेरै अनुसन्धान र दर्ता प्रक्रिया पूरा गरी जिपलाइनलाई धुलिखेलमा सञ्चालनमा ल्याइएको यस संस्थाका अध्यक्ष केदार थापा बताउँछन्।

थाक्लेडाँडामा जिपलाइनको सुरुआती स्टेसन छ। यो पाँचखालको खावामा रहेको अर्को स्टेसनमा पुगेर अन्त्य हुन्छ। यो डाँडा समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा छ। पर्यटन वर्ष २०२० लाई लक्ष्य गरी दुई महिनाअघि मात्र यो खेल सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ।

सम्भवतः यही हप्ता यो खेल सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिने अध्यक्ष थापाले बताए। खावास्थित ल्यान्डिङ स्टेसनको करिब ७० रोपनी जग्गामध्ये हाल २० रोपनी जग्गा सञ्चालकले प्रयोगमा ल्याएका छन्। ‘यसमा नाइट स्टे क्याम्प, रिसोर्ट, चिल्ड्रेन पार्क आदि थप्ने योजना छ’, थापाले भने।

जिपलाइनबाट रोमाञ्जक खेल सुरु गर्ने आइडिया केदार थापाका भाइ बद्री थापाले निकालेका हुन्। उनी क्यानडामा बस्दा यो खेललाई नेपालमा सञ्चालन गर्न सकिने विषयमा सोचेका थिए। यो योजनालाई पूर्णता दिन स्थानीय सरकारले पनि हातेमालो गरेको सञ्चालक थापा बताउँछन्। यस क्षेत्रलाई एड्भेन्चरस बनाउन सात करोड रुपैयाँ लगानी गर्ने योजनामा सञ्चालक छन्। हाल चार करोड रुपैयाँ खर्च भइसकेको कम्पनीका परियोजनाकार भुपेश श्रेष्ठ बताउँछन्।

युरोपेली र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भई अस्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएकाले यो खेल एकदम सुरक्षित रहेको उनको दाबी छ। खेलमा सहभागी पर्यटकका लागि कम्पनीले पाँच लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरेको छ। नेपाल, सार्क देश र अन्य देश गरी यस खेलको मज्जा लिन रकम पनि छुट्टाछुट्टै निर्धारण गरिएको छ। जिपलाइनको माध्यमबाट पर्यटकले लाङटाङ, दोर्जे लाक्पा, फुर्बी च्याचु लगायतका हिमालको दृश्यावलोकन गर्न सक्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.