थामिएनन् पूर्वखेलाडीका आँसु

थामिएनन् पूर्वखेलाडीका आँसु

स्टेजमा ‘प्रो कार्ड’ जितेका खेलाडी खुसियाली मनाउँदै तस्बिरका लागि पोज दिँदै थिए। त्यति बेलै उनीहरूलाई पुरस्कार दिन स्टेजमा उक्लिएका आयोजक सानु गुरुङका आँखाबाट आँसु झरे। कमलादीस्थित एकेडेमी हलमा व्यावसायिक शारीरिक सुगठन खेलको सबैभन्दा ठूलो प्रतिस्पर्धा मिस्टर ओलम्पिया अन्तर्गतको छनोट खेल सम्पन्न हुँदाको दृश्य थियो त्यो। प्रतियोगिताको फाइनल राउन्डका सञ्चालकदेखि निर्णायक सबै विदेशी थिए। सहभागी खेलाडीमा पनि विदेशीको बाहुल्य थियो।

नेपालमा शारीरिक सुगठन खेलको यो स्तरको प्रतियोगिता हालसम्म भएकै थिएन। प्रतियोगिता सानुले नै नेपालमा भित्र्याएका हुनाले पनि उनी भावुक बने। भावुक बनाउने कारण भने अझ फरक थियो। ‘यो प्रतियोगिता आयोजनाका लागि मैले धेरै मेहनत गरेँ। प्रतियोगिताका लागि सम्बन्धन लिनेदेखि रोली विंकलारजस्ता खेलाडीलाई नेपाल भित्र्याउने काममा मेरो मेहनतसँगै खर्च पनि भएको छ’, सानुले भने, ‘तर दुःख त्यति बेला लाग्यो; मैले नेपाली खेलाडीका लागि यत्रो दुःख गर्दा खेल पदाधिकारीहरू नै यसविरुद्ध लागे। त्यही सम्झेर मैले आँसु थाम्न सकिनँ।’

उनका अनुसार नेपालमा मिस्टर ओलम्पियाको छनोट प्रतियोगिता भित्र्याउने घोषणा गरेदेखि नै त्यसको विरोध सुरु भयो। कतिसम्म भने नेपाली खेलाडीलाई प्रतियोगितामा सहभागी नहुन निर्देशन सहितको विज्ञप्ति नै जारी भयो। प्रतियोगितामा सहभागी भए खेलाडीलाई कारबाही गर्ने चेतावनीसम्म आयो। केही पदाधिकारी प्रतियोगिता बिथोल्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसम्मै पुगे। प्रतियोगिताको एक दिन विभिन्न सरकारी अड्डाबाट टेलिफोन गरी प्रतियोगिता रद्द गर्न निर्देशन सहितको धम्कीसमेत दिन लगाइयो।

सानुले पूर्वखेलाडीको हैसियतले नेपाली खेलाडीलाई घरैमा राम्रो अवसर दिने प्रयास गर्दा बेहोर्नु परेको यो अवरोध र विरोध नेपाली खेलकुदको नियति नै हो भन्दा फरक पर्दैन। नेपाली खेलकुदको नेतृत्व लिएर बसेका सीमित समूहले आफ्नो गुट वा स्वार्थमा नपर्ने कसैलाई पनि सहजै खेलकुदमा राम्रो काम गर्न दिँदैनन्।

‘आश्चर्यको कुरा, विरोधको नेतृत्व नेपाल ओलम्पिक कमिटीका मुख्य पदाधिकारीहरूले नै गरे। एउटा पूर्वखेलाडीले विदेशको थुप्रै अवसर त्यागेर नेपालमै केही गर्ने प्रयास गर्छ। नेपाली खेलाडीका लागि भनेर व्यक्तिगत पहलमा यति ठूलो प्रतियोगिताको आयोजना गर्छ भने त्यसको विरोध किन ? ’, सानु प्रश्न गर्छन्।

मिस्टर ओलम्पिया व्यावसायिक शारीरिक सुगठन खेलको सबैभन्दा ठूलो प्रतियोगिता हो। यो खेलका बादशाह हलिउड अभिनेता तथा क्यालिफोर्नियाका पूर्वगभर्नर आर्नाेल्ड स्वेज्नेगर संलग्न रहेको संस्था इन्टरनेसनल फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस (आईएफबीबी) लिग हो।

यो संस्थाले हरेक वर्ष सेप्टेम्बरमा अमेरिकाको लस भेगासमा ‘मिस्टर ओलम्पिया’ आयोजना गर्दै आएको छ। यही संस्थाले आर्नाेल्ड क्लासिक प्रतियोगिताको पनि आयोजना गर्ने गरेको छ। विश्वका विभिन्न देशमा हुने यस्तै छनोट प्रतियोगितामार्फत प्रो कार्ड जित्ने खेलाडीहरूले मिस्टर ओलम्पिया र आर्नाेल्ड क्लासिक अन्तर्गतको एमेच्योर प्रतियोगिता खेल्ने अवसर पाउँछन्। सोही एमेच्योर प्रतियोगितामार्फत उनीहरूले मिस्टर ओलम्पियामा पनि प्रतिस्पर्धाको अवसर पाउने हुन्।

नेपाली खेलाडीले अहिलेसम्म व्यावसायिक प्रतिस्पर्धा खेल्ने अवसर पाएका थिएनन्। एमेच्योर प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गरिरहेका नेपाली खेलाडीलाई व्यावसायिक प्रतिस्पर्धासमेत खेल्ने अवसर दिनु यो प्रतियोगिताको उद्देश्य थियो। ‘एमेच्योर प्रतियोगिता मात्र खेलेका नेपाली खेलाडीलाई व्यावसायिक प्रतिस्पर्धाको अवसर दिनु भनेको विद्यालय शिक्षा सकेका विद्यार्थीलाई कलेजको शिक्षा लिने अवसर दिनुजस्तै हो। मैले नेपालमा पहिलोपटक यस्तो प्रयास थाल्दा पनि ठूलै अवरोधको सामना गर्नु प¥यो’, सानु गुनासो गर्छन्।

विरोधका बीच आफ्नो प्रयास सफल भएकोमा भने सानु निकै उत्साहित छन्। ‘प्रतियोगिताको सफलताले मलाई उत्साही बनाएको छ। यद्यपि नेपाली खेलाडी सोचेजति सहभागी भएनन्। सहभागी नभएकोमा भन्दा पनि उनीहरूले अवसर गुमाएका कारण दुःखी छु’, सानु भन्छन्। सानु आफैं पनि कुनै समयका चर्चित खेलाडी हुन्। उनले नेपाली शारीरिक सुगठन खेललाई अहिलेको अवस्थासम्म ल्याउन महत्त्वपूर्ण योगदान गरेका छन्।

उनले सन् २००५ देखि सन् २००७ सम्म निरन्तर तीन वर्ष ‘मिस्टर नेपाल’को उपाधि जितेका थिए। उनले नेपाली शारीरिक सुगठनको साखलाई बेलायत र हङ्कङसम्म फैलाएका थिए। उनी तीनपटक मिस्टर हङकङ र दुईपटक नेपालको धर्म श्री विजेता पनि बने। पूर्वगोर्खा सैनिकका सन्तान उनी बेलायत र हङकङले दिएको स्थायी बसोबासको अवसरसमेत त्यागेर नेपालमै केही गर्ने योजनासहित बसेका छन्।

‘शारीरिक सुगठन खेलमा तीन दशक बढी समय बिताएकाले पनि यो खेलबाट टाढा हुन सक्दिनँ। त्यसैको पहिलो प्रयास हो, नेपालमा सम्पन्न भएको प्रतियोगिता’, सानु भन्छन्, ‘मेरो पहिलो प्रयास र अनुभवले भविष्यमा अझ राम्रो गर्ने प्रेरणा दिएको छ।’

उनले निकट भविष्यमै शारीरिक सुगठनको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छन्। ‘अर्काे वर्षको मिस्टर ओलम्पिया छनोट प्रतियोगिताका लागि हामी अघिल्लो ६ महिनादेखि नै तयारी गर्ने छौं। त्यसअघि नै राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्ने छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.