प्रदेश सरकारको लगानीमा नाटक घर

प्रदेश सरकारको लगानीमा नाटक घर

सुर्खेत : पहिलो पटक सुर्खेतमा आयोजना भएको रारा राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ। नाटकको माहोल नै नभएको क्षेत्रमा पनि कत्तिको सफलता पाइएला भन्ने चिन्ताबीच सुरु भएको सप्ताहव्यापी नाटक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक संस्थान नेपाल र स्थानीय आरंग नेपालको आयोजनामा फागुन २३ देखि सुरु भएको नाटक महोत्सव उत्साहपूर्ण रूपमा सकिएको हो।

देशभरका सात प्रदेशबाट दुई/दुई गरी १४ वटा नाटक समावेश भएको महोत्सवमा आयोजकले सोचेको भन्दा बढी दर्शक अए। दैनिक नाटकघर दर्शकले भरिभराउ हुँदा नाटक प्रदर्शन गर्ने कलाकारले पनि उत्साहपूर्ण तरिकाले आफ्नो प्रस्तुति राखे। पहिलो पटक नै भए पनि नाटकले स्थानीय तहदेखि प्रदेश सरकारको भरपुर सामीप्यता प्राप्त गर्न सफल भएको छ।

संस्कृति र सभ्यताबिना जीवन नै नहुने दाबी गर्ने नाटक विधाले कर्णालीवासीलाई भरपुर मनोरञ्जन दियो। अन्ततः जुन उद्देश्यका साथ महोत्सव आयोजना गरिएको थियो त्यो उद्देश्य पनि केही हदसम्म नाटक क्षेत्रले प्राप्त गर्न सफल भएको छ। छिटफुट रूपमा नाटक मञ्चन हुने सुर्खेतमा आफ्नै नाटकघर नहुँदा नाट्य विधा अपेक्षाअनुसार मौलाउन पाएको थिएन। तर अन्तिम दिन प्रदेश सरकारले नै आफ्नै लगानीमा नाटक घर निर्माण गर्ने वाचा गरेपछि सांस्कृतिक संस्थान र आरंग नेपालका पदाधिकारीले सुर्खेतमा महोत्सव लगाउनुको उद्देश्य पूर्ति भएको बताएका छन्।

काठमाडौंको ङ समूहको नाटक प्रदर्शनपछि प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आगामी आर्थिक वर्षमा नै नाटकघर निर्माणका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए। ‘सात दिनमध्ये अधिकांश दिन नाटक हेर्न हामी सरकारका प्रतिनिधि उपस्थित भयौं, जीवन बोकेको नाट्य विधा सबैको मन मनमा हुँदा पनि कतै कमी भएको महसुस भयो’, उनले भने, ‘त्यो कमी भनेको सम्भावना हुँदा पनि नियमित नाटक मञ्चन हुने नाटकघरको हो, सरकारको प्रतिनिधि भएका हैसियतले आगामी आर्थिक वर्षको बजेटमा नै आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

मन्त्री रावलले बजेट विनियोजन हुनुपूर्व सांस्कृतिक संस्थानलाई डीपीआर तयार पार्न अनुरोध गरे। कला, संस्कृति र भाषाको संरक्षणबिना मानव अस्तित्व कायम नहुने भएकाले कर्णालीको पहिचान स्थापित गर्न प्रदेश सरकारले जिम्मेवारपूर्ण भूमिका निभाउने वाचा गरे। यस्तै, राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ रंगकर्मी खेम नेपालीले कला, संस्कृति र भाषालाई अलग राखेर जीवनको अस्तित्व नहुने दाबी गरे। संस्कृति सुसज्जित भएमा मात्रै अरू नीति सभ्य हुने भएकाले संस्कृतिको जगर्ना गर्न नसक्दा नै नेपाली राजनीति फोहोरी खेलका रूपमा परिणत भएको उनको भनाइ थियो।

सांस्कृतिक संस्थानका नाट्य प्रमुख प्रभाकरदेव शर्माले प्रदेश सरकारले रकम विनियोजन गर्ने भएमा डीपीआरका लागि संस्थान तयार हुने प्रतिबद्धता जनाए। स्थानीय आयोजक आरंग नेपालका संयोजक गणेशभक्त गौतमले सात दिनसम्म सञ्चालन भएको नाटकको उद्देश्य कलाको प्रदर्शन मात्रै नभई सुर्खेतमा नाटक मञ्चन हुने स्थानको खोजी पनि भएकाले प्रदेश सरकारको प्रतिबद्धताबाट सन्तुष्ट भएको बताए। प्रदेश सरकारले लिएको अपनत्वलाई आफूहरूले कार्यान्वयनका लागि सांस्कृतिक संस्थानसँगको सहकार्यमा डीपीआर तयारीका लागि ताकेता गर्ने बताए।

उद्घाटनको दिन आरंग नेपालको मुसलपर्व प्रस्तुत गरिएको थियो। दैनिक दुई/दुई वटा नाटक मञ्चन हुने प्रहरी व्यायामशालाको हलमा २४ गते प्रदेश नं.१ बाट सोलुखुम्बु नाट्य समूह, सोलुखुम्बुबाट युवराज युराकद्वारा निर्देशित नाटक ‘आरन’ प्रदर्शन भएको थियो। सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को खप्तड सांस्कृतिक मञ्च परिवार, कैलालीबाट पुष्पा अवस्थीद्वारा निर्देशित ‘छाउ’ प्रदर्शन गरियो।

त्यस्तै, २५ गते ११ बजे प्रदेश १ बाट मानवअधिकार मञ्च नेपाल, इलामबाट सुरेश पोर्तेलद्वारा निर्देशित नाटक ‘म पहिलो सन्तान किसान जन्माउँछु’ र कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट बालकृष्ण सुनारद्वारा निर्देशित नाटक ‘आमाको सपना’ प्रदर्शन भयो।

२६ गते प्रदेश २ बाट श्री गढीमाई नाट्य कला केन्द्र, बाराको रामलोचन चौरसियाद्वारा निर्देशित ‘दहेज आ दारू’ सुदूरपश्चिमाञ्चल साहित्य समाज, कैलालीबाट भीष्म जोशीले निर्देशन गरेको नाटक ‘ श्रीमान् वीरबहादुर’, २७ गते बजे प्रदेश नं. ३ को साइलेन्ट एक्ट, काठमाडौंबाट आरके मेहताले निर्देशन गरेको नाटक ‘जिउँदो आकाश’, कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाबाट रन्नीबहादुर घर्तीले निर्देशन गरेको ‘फड्को’ नामक नाटक मञ्चन भएको थियो।

यस्तै २८ गते बिहान ११ बजे प्रदेश नं. ४ को मञ्जरी नाट्य समूह, लमजुङबाट पुरु लम्सालले निर्देशन गरेको नाटक ‘नौगेडी’, प्रदेश नं. ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट झकेन बीसीले निर्देशन गरेको नाटक ‘हिटवा’ र २९ गते बिहान ११ बजे प्रेसन नं. ४ को युथ क्रिएसन थिएटर पोखराबाट केदार पौडेलले निर्देशन गरेको नाटक ‘घेरो’ प्रदेश नं. ३ को ङ समूह काठमाडांैबाट प्रवीण खतिवडाले निर्देशन गरेको नाटक ‘एक बोली एक दाम’ मञ्चन भएको आरंग नेपालका संयोजक गणेश गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.