फागु मनाउने थकाली समूदायको फरक शैली
बेनी : म्याग्दी र मुस्ताङमा बसोबास गर्ने थकाली समुदायले तोरन ल्ह (फागु पुर्णिमा) पर्वको रौनक छाएको छ।
नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन्।
तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्किएका छन्। तोरन ल्हमा थकाली समुदायले घर सफा गर्ने गर्छन्।
फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म चल्ने थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए।
‘तीन दिन सबैरे उठेर चोखो नितो भएर पृतिलाई सम्झिएर पुजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’ शेरचनले भने ‘आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ।’
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहूल्य बसोबास छ।
म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ।
परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा मंगलबारदेखि तारा खेल (आर्चरी) सुरु भएको छ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संख्यात्मक हिसाबले न्युन भएपनि सांस्कृतिक रुपमा धनी थकाली समुदायको मौलिक कला र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए।
प्रजिअ लीलाधर अधिकारीले धर्म, संस्कृति, रितिरीवाजको संरक्षणमा जोड दिए। धनुषवाणलाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन्।
धार्मिक ग्रन्थमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ति कालदेखिनै भएको अनुमान गरिन्छ।
कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा विधाको रुपमा मान्यता पाएको छ।
आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्द अल्पसंख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचान मानेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनको भनाइ छ।
एउटा समूहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ।
एक सयदेखि डेढ सय मिटरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र कोपिएको आधारमा खेलको मूल्याङकन हुन्छ। फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपीएमा खोल पसेको भनिन्छ। खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो।
तोरन ल्ह पर्व मनाउन सजिएका थकाली समुदायका महिलाहरु। तस्बिर : सन्तोष गौतम
प्रतिक्रिया दिनुहोस !