‘केही गर्न नसके कम्युनिस्ट समाप्त हुन्छौं’
काठमाडौं : नेकपाका सचिवालय सदस्य वामदेव गौतमले सरकार जनता चाहेजस्तो काम गर्न नसकेमा मुलुकबाट सदाको लागि कम्युनिस्ट नै समाप्त हुने बताएका छन्।
आर्दश दम्पती तथा युवा सम्मान कार्यक्रम बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले यस्तो बताएका हुन्। ‘दुई तिहाईको सरकारले केही गर्न सकेनौ भने हामी कम्युनिस्ट समाप्त हुन्छौ’, गौतमले भने।
उनले शक्तिशाली सरकारबाट देश बन्नुको विकल्प नरहेको बताए। ‘देश बन्नुको विकल्प छैन, अब देश बन्नै पर्छ ,’ उनले भने, यत्रो शक्तिशाली सरकारले नबाए देश कस्ले बनाउँछ।’
उनले आफू पूर्ण बेरोजगार भएको बताए। ‘म मन्त्री पनि छैन, संसद पनि छैन, पार्टीमा त्यस्तो जिम्मेवारी छैन, पूर्ण बेरोजगार छु ,’ उनले भने, ‘कसैले बोलाउदैनन्।’
राउटे तथा सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले गौतम र उन श्रीमती तुलसा थापा, नेकपा नेता अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती तथा डा. मदन सत्याल र नर्मदेश्वरी सत्याललाई आर्दश दम्पत्ती सम्मान गरेको छ।
त्यस्तै डा. अनिल भटराई, डा. शरद कार्की, डा. शेखर गुरुङ, डा. रविन खड्का, सुनिलकुमार पोखरेल, गायक कृष्णप्रसाद कँडेल, बद्रीनारायण शाह, रुद्र भण्डारीलगायत पनि सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले उनीहरुलाई सम्मान गरे।
प्रतिक्रिया दिनुहोस !