ट्याक्टरका कारण गोरु विस्थापित

ट्याक्टरका कारण गोरु विस्थापित

गाईघाट : कुनै समय भैंसीभन्दा महँगो पर्ने गोरु पछिल्लो समय खसीबोकाको मूल्यमा पनि बिक्री हुन छाडेको छ। समथर भूभागमा ट्याक्टरमार्फत खनजोत गर्न थालिएपछि गोरुको मूल्य घट्नुका साथै खरिद–बिक्री हुन छाडेको स्थानीय बताउँछन्। कृषिमा आधुनिकीकरणसँगै नयाँ प्रविधि भित्रिएपछि हलो जोत्न ट्याक्टर र थ्रेसरबाट पेलेर धान, गहुँ, पराल निकाल्न थालिएको छ।

‘२ वर्ष अघिसम्म एक हल गोरुको मूल्य ५० देखि ६० हजार रुपैयाँसम्म थियो’, रौतामाई गाउँपालिका–७ का कृषक दिलबहादुर राउतले भने, ‘अहिले हल गोरुलाई २० हजार रुपैयाँमा पनि जान मान्दैनन्।’ गोरुको मूल्य नभएपछि किसानले बाछी पाल्ने र बाछालाई छाडा छाड्न थालेको उनको भनाइ छ। ‘पहाडमा गोरु जोत्ने युवा छैनन्। तराईमा ट्याक्टरले जोत्न थालेपछि गोरु कसैले लिन मान्दैनन्’, उनले भने।

गोरुले १० दिनमा जोत्ने खेत ट्याक्टरले १/२ दिनमै सक्ने भएकाले गोरुको मूल्य घढ्दै गएको कृषि ज्ञानकेन्द्र गाईघाटका प्रमुख सरोजकान्त अधिकारीले बताए। ‘समय, खर्च, जनशक्ति सबै बचत हुन्छ। अनि गोरु किन पाल्नु’, अधिकारीले भने, ‘जोत्ने, रोप्ने, आली लगाउने, बाउसे गर्न ८/९ जना चाहिन्छ तर ट्याक्टर लगाउँदा २ जना भए पुग्छ।’

गोरु कृषि प्रयोजनमा आउन छाडेपछि काटेर खान व्यापारीले सीमापारि बेच्न कम मूल्यमा गोरु किन्ने गरेका छन्। खुला नाकाको फाइदा उठाउँदै भारतबाट गाउँ–गाउँ आउने व्यापारीले गोरु खरिद गरी लैजाने गरेका छन्। पछिल्लो समय सरकारले सीमामा कडाइ गर्नुका साथै निकासीमा रोक लगाएपछि व्यापारी गाउँ जान छाडेको किसान हरि कोइरालाको भनाइ छ।

ट्र्याक्टर र थ्रेसरलाई भ्याइनभ्याई

किसानले अन्न भित्र्याउने सिजनमा ट्याक्टर र थ्रेसरलाई भ्याइनभ्याई हुन्छ। खासगरी धान बाली एकै सिजनमा लगाउने र  भित्र्याइने भएकाले ट्याक्टर र थ्रेसरलाई भ्याइनभ्याई हुने गर्छ। अन्य सिजनमा भने प्रतिस्पर्धाका कारण ट्याक्टरले न्यून मूल्यमै ढुंगा, गिट्टी, बालुवा बोक्ने गरेको छ। खेती लगाउने र  भित्र्याउने सिजनमा ट्याक्टर व्यवसायीले आफूखुसी चर्को मूल्य लिने गरेको किसानको गुनासो छ। ‘अन्न लगाउने र थन्क्याउने सिजन ट्याक्टर व्यवसायीका लागि दसैंजस्तै हुन्छ’, त्रियुगा नगरपालिका–६ का किसान हेम कार्कीले भने, ‘अरु बेला प्रतिस्पर्धाले कमाइ नभएर बैंक किस्ता तिर्न धौधौ परेका व्यवसायी यो सिजनमा रमाउँछन्।’

कृषि ज्ञानकेन्द्रले समय–समयमा अनुदान र मूल्य छुटमा किसानलाई हाते ट्याक्टर दिने गरेको र बैंकले कम ब्याजदरमा ट्याक्टर दिने गरेकाले किसानको यसप्रति आकर्षण बढेको छ। कार्यालयले दिने प्रविधि सहुलियतमा पाउने भएपछि किसानले २०/२५ घरको समूह बनाएर रकम संकलन गरेका छन्। कार्यालयले कृषि पेसालाई आधुनिक, व्यवस्थित र पेसामा आकर्षित गर्न सरकारको अनुदानमा वार्षिक दर्जन हाराहारीमा कृषकलाई ५० देखि ७० प्रतिशत छुटमा हाते ट्याक्टर उपलब्ध गराउँदै आएको छ। ट्याक्टरलाई १ देखि १५ लाख रुपैयाँसम्म पर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.