मोरङबाट २७१ किलो गाँजा बरामद, मिनी ट्रकसहित चालक पक्राउ
विराटनगर : मोरङका अलग-अलग स्थानबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेका छन्। विराटनगर महानगरपालिकाबाट नेपाल प्रहरी र जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो ।
नेपाल प्रहरीले विराटनगर–१४ जतुवास्थित कच्ची सडकमा रोकेर राखेको मिनी ट्रकबाट १ सय ८१ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले मंगलबार राति ११ः३० बजेतिर ट्रकलाई नियन्त्रणमा लिएर गाँजा बरामद गरेको हो ।
खाली सिलिन्डर लोड गरिएको प्रदेश १–०२–००१ ख ९२७० नम्बरको ट्रकबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार सडकको साइडमा रोकेर राखिएको ट्रक खानतलासी गर्दा पछाडि बोरामा प्याक गरी माथिबाट कुचोले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो।
गाँजा बरामद भएपछि मिनी ट्रकलाई नियन्त्रणमा लिएर चालक संखुवासभाको चैनपुर नगरपालिका–१ बस्ने २७ वर्षीय लाक्पा दोर्जे शेर्पालाई पक्राउ गरिएको एसपी कार्कीले बताए। उनका अनुसार चालक शेर्पाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने छ।
त्यस्तै, नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत जहदा–१ मुसहरी टोलबाट सशस्त्र प्रहरीले मंगलबार साँझ ९० किलो गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार गाँजा कसले लुकाएको हो भन्ने यकिन भएको छैन। ‘मकै बारीभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो,’ उनले भने, ‘लुकाउने मान्छे फेला परेनन्।’ बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएर त्यसको धन्दामा संलग्नको खोजी थालिएको एसपी खड्काले बताए।
पछिल्लो समय बरामद भएको गाँजा सीमा क्षेत्रबाट भारततर्फ लैजाने गरिएको छ। नेपालमा भन्दा दोब्बर बढी मूल्य पाइने भएका कारण अवैध धन्दामा संलग्नहरुले गाँजा भारत पुर्याउन बल गर्ने गरेको प्रहरीको विश्लेषण छ। नेपाल–भारत सीमा क्षेत्रबाट पछिल्लो समय ठुल्ठूला परिमाणमा गाँजा बरामद भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !