कस्ता विद्यालय राम्रा ?

कस्ता विद्यालय राम्रा ?

विद्यार्थीलाई घोकेर वा निरन्तर पढाएर परीक्षामा उच्च अंक ल्याउन योग्य बनाउनु आजको आवश्यकता होइन, जुन औसत अभिभावकमा देखिन्छ। 


शैक्षिक सत्र हुरु हुन अझै तीन साता बाँकी छ। अभिभावकले नानीबाबुलाई विद्यालय भर्ना गर्ने विषयमा परामर्श लिन स्कुल भ्रमण सुरु गरिसकेका छन्। टोलैपिच्छे खुलेका बग्रेल्ती स्कुलका कारण उनीहरूलाई कुन स्कुल उपयुक्त र कुनचाहिँ अनुपयुक्त भन्ने खुट्याउनसमेत मुस्किल परिरहेको छ। स्मार्ट प्रविधिबाट पढाइ हुने र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमको फलो गर्ने महँगा स्कुलदेखि मध्यम शुल्क भएका विद्यालयको भीडमा अभिभावक रुमल्लिइरहेका छन्। 

भर्नाबारे परामर्शमा जुटेकामध्ये एकथरी अभिभावकको चाहना छ, ‘महँगै शुल्क तिरेर भए पनि नानीबाबुलाई नामी स्कुलमा पढाउने। अर्काथरी अभिभावकको समूह पनि छन्, जसले बजारमा नाम चलेका र शुल्कका हिसाबले पनि मध्यम स्तरको संरचना भएको विद्यालयमा छोराछोरी भर्ना गर्ने योजना बनाएका छन्। 

त्योभन्दा पनि फरक सोचाइ राख्ने अभिभावक पनि हुन्छन्, उनीहरू स्कुलको पढाइ राम्रो छ वा छैन भन्दा पनि मेरो छोराछोरी सरकारी वा निजी कस्तो विद्यालयमा पढाउने भन्नेमा मात्र ध्यान दिन्छन्। अर्थात् ‘सोसिअल प्रेस्टिज’का लागि मात्र विद्यालय छान्छन्। यति हुँदाहुँदै पनि उनीहरूलाई विद्यालय छनोटमा त्यति सहज भने हुँदैन। सिकाइको साथमा संसार र सीप सिकाउने विद्यालय पनि पछिल्ला दिनमा अभिभावकको रोजाइमा पर्न थालेका छन्। अभिभावकको चाहना अनुसार स्कुल सञ्चालकहरूले पनि आफूहरूलाई परम्परागत पद्धतिभन्दा फरक तरिकाले प्रस्तुत गरिरहेका छन्। 

लगलनखेलमा रहेको सेन्ट मेरिज स्कुलमा छोरी भर्नाका लागि प्रवेश परीक्षा फारम भरेका रामकाजी श्रेष्ठले अन्य स्कुलमा पनि भर्ना गर्ने परामर्श गरिरहेका छन्। ‘सकेसम्म राम्रै स्कुलमा नानी बाबु पढाउने अभिभावको चाहना हुन्छ। म पनि त्यस्तै अभिभावकमध्येकौ एक हुँ’, धादिङ स्थायी घर भएका श्रेष्ठ भन्छन्, ‘स्कुल त घरनजिकै पनि छन्। तर कुन राम्रो कुन नराम्रो छुट्याउनै कठिन छ।’

लगनखेलस्थित क्याम्पियन स्कुलका प्राचार्य रोशन भण्डारी विद्यार्थीलाई सिकाउनेभन्दा पनि रचनात्मक कसरी बनाउने र भविष्यका लागि सक्षम नागरिक बनाउने स्कुलमा विद्यार्थी भर्ना गराउनु उपयुक्त हुने सुझाव दिन्छन्।

अझै पनि धेरै अभिभावकको चाहना नानीबाबुले जसरी भए पनि परीक्षामा उच्च अंक ल्याऊन् भन्ने छ। दिनरात घोकेर होस् वा विद्यालयमा नियमितबाहेक अतिरिक्त समयमा ट्युसन पढेर नै किन नहोस्, नतिजामा उनीहरू अब्बल रहून् भन्ने चाहना धेरै आमाबाबुको हुन्छ। तर अहिले समय अलि बदलिएको छ, अब छोराछोरीलाई पढाइ मात्र होइन, नैतिकवान् र चरित्रवान् बनाउनेतर्फ पनि अभिभावकको रुचि मोडिएको छ। समाजमा योग्य नागरिक भएर बस्ने हो भने पढाइको साथमा समाजका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउन यस्तो शिक्षाको जरुरत पर्ने उनीहरूको बुझाइ छ। 

‘विद्यार्थीलाई घोकेर वा निरन्तर पढाएर परीक्षामा उच्च अंक ल्याउन योग्य बनाउनु आजको आवश्यकता होइन, जुन आजको औसत अभिभावकमा देखिन्छ’, क्याम्पियनका प्राचार्य भण्डारी भन्छन्, ‘विद्यार्थीमा रचनात्मक क्षमताको विकास गराउन सक्ने हो पढाइमा मात्र होइन, हरेक क्षेत्रमा सक्षमता प्रस्तुत गर्न सक्छन्।’

समाजका रीतिरिवाज, परम्परा, संस्कृति तथा मौलिकता आदिका विषयमा पनि विद्यार्थीलाइ जानकारी गराउनुपर्छ भन्ने पक्षमा उभिन थालेका छन्, अभिभावकहरू र यस्तै स्कुलको खोजीमा लागेका छन् उनीहरू। कलंकीस्थित एडमार्क एकेडेमीका प्राचार्य शिव अधिकारी विद्यार्थीलाई महँगो स्कुलमा पढाउनेभन्दा पनि उनीहरूको ‘होलिस्टिक डेभलपमेन्ट’ गराउने विद्यालयमा पढाउनु बेस हुने बताउँछन्। 
‘विद्यार्थीलाइ घोकाएर परीक्षामा राम्रो नतिजा ल्याउनलाई मात्र गुणस्तरीय शिक्षा भन्ने चलन छ। तर यो मानसिकता परिवर्तन गर्नुपर्ने बेला भएको छ’, अधिकारी भन्छन्, ‘विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनु र नैतिकवान् नागरिक बनाउनु विद्यालयको कर्तव्य हो। विद्यालय छनोटका क्रममा अभिभावकले यस्ता विषयमा विशेष ध्यान दिनुपर्छ।’

अहिले विद्यालयको पहुँच नपुगेको गाउँ भेट्टाउन करिब असम्भव जस्तै छ। यस हिसाबले हेर्ने हो पछिल्ला दिनमा अभिभावक र विद्यार्थीका लागि कुन विद्यालयमा पढ्ने भन्ने छनोट गर्न प्रशस्त विकल्प पनि छन्। एकथरी अभिभावक सबैभन्दा पहिला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका विद्यालयमा आफ्ना नानीबाबु भर्ना गराउन कम्मर कसेर लाग्छन्। जहाँ शुल्क पनि महँगो नै हुन्छ, तैपनि उनीहरू जसरी पनि छोराछोरीलाई भर्ना गराउनेतर्फ मात्र केन्द्रित हुन्छन्। 

सरकारी कि निजी ? 
शिक्षा विभागले समेत विद्यालयलाई उनीहरूको भौतिक संरचना, विद्यार्थीलाई प्रदान गरेको सुविधा तथा शिक्षाको गुणस्तरका आधारमा ‘क’देखि ‘घ’ वर्गसम्म निर्धारण गरेको छ। मुलुकमा अहिले तारे होटलमा जस्तै सुविधा भएका निजी स्कुलदेखि सामान्य स्तरका सार्वजनिक विद्यालय पनि सञ्चालनमा छन्।

धेरै जसो अभिभावकको चाहना छोराछोरीलाई निजी स्कुलमै पढाउने हुन्छ। गुणस्तरीय शिक्षाका हिसाबले होस् या सामाजिक प्रतिष्ठा उकास्नका लागि किन नहोस्, बिहानबेलुका मजदुरी गरेर गुजारा चलाउने अभिभावकको पनि पहिलो रोजाइ निजी स्कुल हुन्छ। सार्वजनिक शिक्षाको खस्किँदो स्तरका कारण पनि अभिभावकलाई यसतर्फ सोच्न बाध्य बनाएको थियो।

किनकि पछिल्ला दिनमा एक छाक खाएर मात्र भए पनि छोराछोरीको शिक्षाप्रतिको चेतना अभिभावकमा ह्वात्तै बढेको छ। तर अभिभावकले छोराछोरी भर्ना गरिसकेपछि वर्षैभरि भोग्नुपर्ने समान समस्या बनेर आउँछ शुल्क संरचना। भर्ना गर्ने बेलामा गरिएका सहमतिविपरीत विद्यालय सञ्चालकहरूले परीक्षा, अतिरिक्त क्रियाकलाप, ट्युसन शुल्कलगायत शीर्षकमा थोपर्ने रकमका कारण अभिभावक सधैं प्रताडित हुन्छन्। यस्ता समस्यालाई शिक्षा मन्त्रालय तथा सरोकारवाला निकायले समेत समाधान गर्न सकेको छैन। यस्तो समस्या विशेष गरेर निजी शैक्षिक संस्थामा धेरै आउँछ।

महँगो शुल्कका कारण छोराछोरी पढाउन सास्ती भोगिरहेका अभिभावकलाई अहिले सार्वजनिक (सरकारी वा सामुदायिक) विद्यालय पनि राम्रो विकल्प बनेका छन्। सरकारी भन्नेबित्तिकै नाक खुम्च्याउनुपर्ने अवस्थालाई अहिले राजधानीलगायत मुलुकबाहिरका समेत केही सामुदायिक विद्यालयले अन्त्य गरिदिएका छन्। अर्थात् नाम चलेका निजी शैक्षिक संस्थाभन्दा पनि धेरै विद्यार्थी यस्ता सामूदायिक विद्यालयले भर्ना गरिरहेका छन्।

तथ्यांकमा विद्यालय शिक्षा
मुलुकभर हाल कक्षा १ देखि १२ सम्म पढाइ हुने ३५ हजार पाँच सय विद्यालयहरू सञ्चालनमा छन्। त्यसबाहेक पाँच वर्ष उमेर पूरा नभएका विद्यार्थीलाई पढाउने उद्देश्यले स्थापना गरिएका हाल बाल विकास केन्द्र तथा पूर्वप्राथमिक तहका विद्यालयको संख्या ३६ हजार ९३ छन्।

कुल विद्यालयमध्ये पाँच हजारको हाराहारीमा निजी स्कुल छन्। सञ्चालनमा रहेका विद्यालयमध्ये कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालय सबैभन्दा धेरै ३४ हजार ७ सय ३६ छन्। कक्षा आठसम्म मात्र पढाइ हुने विद्यालय १५ हजार एक सय ७० र कक्षा नौको समेत पढाइ हुने विद्यालय ३४ हजार नौ सय ७० छन्। कक्षा ९ र १० को पढाइ हुने विद्यालय संख्या ९ हजार ८४ र कक्षा ११ तथा १२ को मात्र पढाइ हुने विद्यालयको संख्या तीन हजार ६ सय ७३ छ। कक्षा ९ देखि १२ सम्मको पढाइ हुने विद्यालय संख्या ९ हजार २ सय ७९ छ।

शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पूर्वप्राथमिक तहमा ९ लाख ७३ हजार ४ सय १३ जना, प्राथमिक तहमा ४१ लाख ३५ हजार  २ सय ५३ जना विद्यार्थी अध्ययनरत छन्। निम्न माध्यमिक तहमा १८ लाख ५९ हजार तीन सय ५९ जना, माध्यमिक तहमा ९ लाख ५८ हजार ५ सय २ तथा माध्यमिक तहमा ४ लाख २९ हजार ८४ जना विद्यार्थी अध्ययनरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.