उदार नीतिले लगानीकर्ता आकर्षित

उदार नीतिले लगानीकर्ता आकर्षित

काठमाडौं : पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा थप लगानी आकर्षित गर्न सरकारले शुक्रबार र शनिबार काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दै छ । सम्मेलनमा गैरआवासीय नेपालीबाहेक ४० देशबाट ६ सयभन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने बताइएको छ । यसअघि २०७३ मा लगानी सम्मेलन आयोजना गरिएको थियो । त्यसभन्दा अघि प्रजातन्त्र पुनर्वहालीपछि पहिलो लगानी सम्मेलन तत्कालीन उद्योमन्त्री रामकृष्ण ताम्रकारको अगुवाइमा भएको थियो ।

प्रजातन्त्र स्थापनापछि नेपालले अबलम्बन गरेको उदार आर्थिक नीतिका कारण विश्वभरका लगानीकर्ताको नेपालप्रति चासो बढेको थियो । २०४९ सालमा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी भएसँगै नेपालले विदेशी पुँजी र प्रविधिलाई नेपालमा आमन्त्रण गरेको पूर्वमन्त्री ताम्रकार बताउँछन् । उदार आर्थिक नीति अबलम्बनसँगै विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गरिएसँगै बहुराष्ट्रिय कम्पनी नेपाल भित्रिएको ताम्रकार बताउँछन् । ‘हामीले कानुनी र प्रशासनिक तौरतरिकामा ठूलो सुधार ग¥यौं । नेपालमा लगानी गरे प्रतिफल सुनिश्चित छ भन्ने सन्देश लगानीकर्तामाझ पु¥यायौं’, उनले भने, ‘त्यतिबेला श्रम मन्त्रीको जिम्मेवारी सम्हालेकाले श्रम ऐनमा पुनरावलोकन गरी मजदूर, उद्योगी र लगानीकर्ताबीच त्रिपक्षीय सम्झौता गराउन सहज भएको थियो ।’

उनले त्यतिबेला विभिन्न ३८ देशका चार सय ५० भन्दा बढी लगानीकर्ताले सम्मेलनमा भाग लिएको र त्यतिबेला भएका सम्झौतामध्ये धेरै लगानी आएको बताए ।

त्यतिबेला नेपालले लगानी सम्मेलन आयोजना गरी विदेशी लगानी आकर्षित गर्न सफल भएपछि संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो)ले नेपाललाई सफल उदाहरणका रूपमा प्रस्तुत गर्ने गथ्र्यो । ‘उद्योगमन्त्रालयका उच्च पदस्थ कर्मचारी युनिडोले विभिन्न देशमा आयोजना गर्ने लगानीसम्बन्धी कार्यक्रममा नेपालको सफलताको विधिका सम्बन्धमा प्रस्तुतीकरणका लागि जाने गर्थे’, ताम्रकार भन्छन् ।

त्यतिबेला विदेशी लगानीकर्ताले लगानीका लागि इजाजत मागेको ३० दिनभित्र इजाजत नदिए क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था गरिएको ताम्रकार बताउँछन् ।

केही बहुराष्ट्रिय कम्पनी तथा संयुक्त उपक्रममा ११९ ओटा विदेशी लगानी भित्रिएको ताम्रकार बताउँछन् । ‘पछि भने सशस्त्र द्वन्द्व चर्कंदै गयो । ‘बन्द, हड्ताल, चन्दा आतंक, भ्रष्टाचारजन्य गतिविधि, विद्युत् अभाव जस्ता दर्जनौ समस्याले लगानीको वातावरण रहेन’, ताम्रकार भन्छन्, ‘लगानीका लागि नीतिगत सुधारमात्र पर्याप्त होइन लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी दिन सक्नुपर्छ ।’

द्वन्द्व समाप्तिपछि लगानीको वातावरणमा सुधारका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उल्लेख्य पहलकदमी गरेका थिए । उनले लगानी बोर्डको स्थापना गरी विदेशी लगानीकर्तालाई एकद्वार सेवा दिने व्यवस्था गरेका थिए । त्यसयता लगानी बोर्डबाट लगानी स्वीकृत भई केही ठूला जलविद्युत् र सिमेन्ट परियोजना कार्यान्वयनमा छन् ।

२०४९ पछि अहिलेसम्म कुल एक सय ७३ अर्ब रुपैयाँ प्रत्येक्ष वैदेशिक लगानी भित्रिएकामा पछिल्लो १० वर्षमा ४६.६ अर्ब रुपैयाँ लगानी भित्रिएको छ । ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनामा भारतबाट आउने १.४ अर्ब अमेरिकी डलर, तथा चीनबाट होङ्सी सिमेन्टमा ३६ करोड डलर र हुवासिन सिमेन्टमा १४ करोड डलर विदेशी लगानी पछिल्लो समय नेपालमा भित्रिएका ठूला विदेशी लगानी हुन् ।

लामो द्वन्द्व र राजनीतिक संक्रमणको समाप्तिसँगै संविधान जारी भएपछि २०७३ सालमा तत्कालीन उद्योमन्त्री नवीन्द्रराज जोशीको अगुवाइमा दोस्रो लगानी सम्मेलन आयोजना भएको थियो । त्यतिबेला लगानीकर्ताले नेपालले साढे १३ अर्ब अमेरिकी डलर बराबरको लगानीका लागि आशय व्यक्त गरेका थिए । यसको ठूलो हिस्सा पूर्वाधारका लागि आशय व्यक्त भएको र त्यसको ‘फलो अप’ भैरहेकाले अनुकूल वातावरण भए आगामी केही वर्षभित्रै उक्त समयमा आशय व्यक्त भएका लगानी भित्रने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताउँछन् ।

तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्ने लगानीकर्ताका लागि लगानीको सुरक्षा दिने, प्रतिफल फिर्ता लैजान सहज वातावरण बनाउने र व्यावहारिक कठिनाइमा समेत सहजीकरण गर्न सरकार तत्पर रहेको बताए । लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विशेष आर्थिक क्षेत्र ऐन, निजी सार्वजनिक साझेदारी तथा लगानी बोर्ड ऐन, हेजिङ नियमावली जस्ता कानुन जारी गरिसकेको छ । यस्तै, व्यवसायिक झञ्झट कम गर्न सुधारलाई निरन्तरता दिने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.