सकियो निगमको बोइङ युग
काठमाडौं : नेपाल वायुसेवा निगमले करिब ३० वर्षदेखि नियमित उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बोइङ बी ७५७ एसीबी सधैंका लागि ग्राउन्डेड भएको छ। मलेसियामा दुई महिना मर्मत गरेर गत माघ २ गते काठमाडौं आइपुगेको यो जहाज विमानस्थलमा थन्किएकै तीन महिना नाघेको छ।
काठमाडौं आइपुगेकै दिन विन्ड सेन्सरले काम नगरेपछि थन्किएको जहाज फेरि बनाएर उडाउने हिम्मत नगरेकै कारण निगमका निम्ती उडान इतिहास बनेको बोइङ युग सकिएको छ। निगमले बोइङलाई विस्थापित गरेर चारवटा जहाजसँगै एयरबस युग सुरु गरिसकेको छ।
यसअघि निगमले भएकै बोइङको बी ७५७ एसीए जहाज कवाडीमा बेचिसकेको छ। जहाज बीबी एयरवेजले किनेको भए पनि अझै विमानस्थलबाट नहटाएका कारण त्यसको पार्किङ शुल्क भने निगमकै जिम्मेवारीमा छ। बीबीले जहाज नहटाएका कारण बेचिसकेको जहाज पनि निगमलाई अझै टाउको दुखाइ बनेको छ। निगम अर्को जहाज बेच्ने तरखरमा भए पनि सरकारी अनुमति पर्खिरहेका कारण अनुमति आउँदा जहाज कौडीको भाउमा पुग्छ भन्ने चिन्तामा पनि छ।
वायुसेवा निगमले यो जहाजलाई बिक्रीको सहमतिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको छ। ‘यसअघि पनि मन्त्रालयले नै सहमति नदिएका कारण न्यूनतम मूल्यांकन र बसेको जहाज बेच्न सकिएको छैन’, निगमका सहप्रवक्ता नवराज कोइरालाले भने। उनका अनुसार पछिल्लो समय निगमले जोखिम लिएर निर्णय गर्न नसकेकै कारण फेरि मन्त्रालयको सहमति खोजेको हो। सहमति आएको अवस्थामा यो जहाज बिक्री हुन्छ।
बोइङ उडाउन फेरि मर्मत गर्नुपर्ने, इन्जिनबाहेक सबै मर्मतको समय सीचेकसहितको मर्मत गरेर करोडौं खर्च गर्नुभन्दा अब बिक्री नै गर्ने र नउडाउने निष्कर्षमा निगम पुगेको हो। यो जहाज अब चाहेर पनि निगमले उडाउन नसक्ने भएको छ। ‘निगम स्रोतका अनुुसार सिंगापुरको एक कम्पनीले ७० करोड रुपैयाँलाई न्यूनतम मूल्यांकन गरेर लिलाम बढाबढ गर्न सुझाव दिएको भए पनि जहाज उड्न छोडेकाले अब योभन्दा निकै कम मूल्यमा बेच्नुपर्छ। उडान भइरहेको जहाजको जति राम्रो मूल्य आउँछ उड्न छोडेपछि कबाडीको भाउमा बेच्नुको विकल्पन हुँदैन’, स्रोतले भन्यो।
निगमले बोइङ विस्थापित गरेर चारवटा जहाजसँगै एयरबस युग सुरु गरिसकेको छ।
सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन नै बन्द पनि भइसकेको छ। यो सिरजको जहाज नयाँ उत्पादन नहुँदा बजार भाउअनुसार नभएर यसको हरेक पाटपूर्जा र अन्य उपयोगी सामानका आधारमा मूल्यांकन भएको छ। यस्तो मूल्यांकनअनुसार जहाजको बिक्रीमा पनि उडानयोग्य जहाजको मात्रै भएको छ। जहाज उड्न छोडेपछि यसको मूल्यांकन अनपेक्षित रूपमा कम हुन्छ।
निगमले यस अघि बिक्री गरेअनुसार लिलामीबाट जसले धेरै पैसा दिन्छ उसैलाई बिक्री गर्नेछ। निगमले ०४४ सालमा करिब २३ लाख अमेरिकी डलरमा खरिद गरेको यो जहाजले निगमलाई निरन्तर ३० वर्षदेखि अन्तर्राष्ट्रिय उडानमा नियमित सेवा दिइरहेको थियो।
बोइङका सबै पाइलटले छाडे
मर्मतका निम्ति सिंगापुर गएर करिब दुई महिनापछि आएको जहाज काठमाडौं आएरै तीन महिना थन्किसकेको छ। यस बीचमा जहाज नउड्ने भएपछि बोइङ उडाउने निगमका सातजना क्याप्टेन अन्यत्र गइसकेका छन्। बोइङ उडाउने क्याप्टेनमध्ये सोनी राणा एयरबस उडाउन सफल भएकी छन्। सन्तोष शर्मा र राजन मानन्धर एयरबसको निम्ति लिने परीक्षामा असफल भए। आरबी श्रेष्ठ र केबी क्षेत्रीले राजीनामा दिएका छन्।
बाँकी दुई क्याप्टेन दीपाल शेरचन र शुक्रशम्शेर राणाका विषयमा निगमले नै उपयुक्त निर्णय गर्ने भएको छ। जहाज मर्मतमा अधिक खर्च हुने, खर्चअनुसार लाभ लिन नसकेको र एउटा मात्रै पुरानो जहाज भएकाले यसलाई विस्थापन गरेर सबै एयरबसको जहाज मात्रै उडाइने भएकाले पनि अब बोइङ नउड्ने भनाइ निगमको छ।
निगमसँग हाल एयरबसकै ए३२०–२०० सिरिजको १५० सिट क्षमताको दुईवटा न्यारोबडी र एयरबस सबै २७४ सिट क्षमताका ए३३०–२०० सिरिजका दुईवटै वाइडबडी छन्। यी जहाजमार्फत निगमले काठमाडौंबाट भारतको नयाँ दिल्ली, मुम्मै, बंग्लोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, थाइल्यान्डको बैंकक, संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइ र हङकङमा नियमित उडान गरिरहेको छ।
निगमले एयरबसमार्फत लामो गन्तव्यको दूरीअन्तर्गत कोरिया, जापान, चीन, साउदी अरबमा उडान गर्ने योजना बनाएको भए पनि बाइडबडी भित्रिएको १० महिनासम्म पनि सफल हुन सकेको छैन। निगमले पहिलो चरणमा जापान र चीन उडान गर्ने गरी तयारी गरेको भए पनि सफल भने हुन सकेको छैन।