पलेँटी च्यानलमा नारी गीत
सहिद शुक्रराज शास्त्री नेपाली प्रजातान्त्रिक इतिहासका महानायक हुन्। २००७ सालको क्रान्तिमा दिएको बलिदानबाटै उनलाई सबैले चिन्दै आएका छन्।
तर, शुक्रराज गीतकार पनि हुन् भन्ने कतिलाई थाहा छ ?
गीतकारका रूपमा पनि उनले आफूलाई उत्तिकै युगद्रष्टा प्रस्तुत गरेका थिए।
उनका गीतका शब्दमा त्यो कालखण्डताका पनि नारीप्रतिको सम्मान झल्कन्छ।
गीतको शब्दले भन्छ–
‘न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो’
त्यसैगरी यो गीतलाई स्वर दिने अर्की नेपाली ऐतिहासिक पात्र हुन्, पहिलो नेपाली गायिका मेलवादेवी। चन्द्रशमशेरको दरबारमा गायिकाको रूपमा सेवारत मेलवादेवीका भोगाइहरू अहिले पनि दन्त्यकथा जस्तै नेपाली समाजले सुन्दै आएको छ। चन्द्रशमशेरको प्रिय हुँदाहुँदै पनि एक संगीतकर्मीकै प्रेममा दरबार छाडेकी मेलवादेवीले कालान्तरमा नेपाल छाडेर प्रवासमै जीवन बिताइन्।
संगीतकर्मीका अनुसार त्यो बेलाको गायकीका हिसाबले मेलवादेवीलाई दक्षिण एसियाकै स्तरमा राखेर तुलना गर्न सकिन्छ।
ओखलढुंगाको रुम्जाटारबाट आएकी यी गुरुङ चेलीले संगीतको साधना गर्दागर्दै कालान्तरमा शास्त्रीय स्वरलाई मिलाएर गाउन सक्ने अद्भुत कला विकास गरेकी थिइन्। गीतको बीचबीचमा उनले लिने गरेका छोटा तानहरू अहिले सुन्दा पनि गजबका लाग्छन्।
उनको रेकर्ड भएका गीतहरूमध्येमा ‘सवारी मेरो रेलैमा’ बढी चर्चित छ। अर्को गीत हो– ‘न घरलाई घर कहिन्छ।’ रेकर्ड भइसकेता पनि हिजोआज दुर्लभ भइसकेको शुक्रराज शास्त्री र मेलवादेवीको यो गीतलाई पलेँटी शृंखलाले अब आम श्रोताका निम्ति युट्युबमा राखेको छ।
यो गीत गत महिनाको पलेँटी शृंखलामा गायिका मीना निरौलाले गाएकी थिइन्। मीनाको आवाजमा यो गीतले मेलवादेवीकै झलक आउने गरी गहनता पाएको प्रतिक्रिया श्रोताले दिएका थिए। ‘त्यसैलाई मनन् गर्दै पलेँटी शृंखलाले यो गीत युट्युबमा सार्वजनिक गर्ने निधो गरेको हो,’ पलेँटीका संयोजक आभास भन्छन्, ‘गीत मेलवादेवीप्रति नै समर्पित गर्दै प्रस्तुत हुनेछ।’ गायक तथा संगीतकार आभासका अनुसार उक्त अवसरमा मीनाले गाएको सबैजसो महान् गायिकाहरूका गीतलाई क्रमशः युट्युबमा सार्वजनिक गर्ने योजना पलेँटी शृंखलाले राखेको छ।
भर्खरै तयार पारिएको यो लाइभ भिडियोलाई पलेँटीको आधिकारिक यू ट्युब च्यानलबाट हेर्न सकिन्छ।
झन्डै १३ वर्षदेखि चल्दै आएको पलेँटी बीचमा केही समय बन्द भएपछि गत महिनायता ‘थिम’ मा आधारित भएर निरन्तरता पाउन थालेको छ। गएको महिना यसले नेपालका महिला स्वरहरूको सम्मानमा आफूलाई प्रस्तुत गरेको थियो।
यसपाला भने अंग्रेजी महिनाको अन्तिम साता अर्थात् यही साता तीन दिनसम्मै पलेँटीले यसकै संयोजक गायक आभासको गायन यात्रालाई प्रस्तुत गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस !