बदलिँदो सिनेमा संस्कृति

बदलिँदो सिनेमा संस्कृति

कुनै समय थियो, दस रुपैयाँको सिनेमाको टिकट काट्न घण्टौं लाममा बस्नु पथ्र्यो। भीडमा च्यापिँदै टिकट काउन्टर नजिकै पुग्दा कयौं पटक टिकट सकिन्थ्यो अनि कि त ‘दसको तीस’ मा ब्ल्याकमा किन्नु पथ्र्यो कि त अमिलो मन बनाउँदै घर फर्कनु पथ्र्यो। तर, अहिले परिस्थिति धेरै बदलिएको छ। घरमै बसीबसी आफ्नै मोबाइलबाट आफूलाई चाहिएको सिनेमा हलको सिट बुक गर्न सकिन्छ। आफ्नो बजेट र आवश्यकताअनुसारको सुविधा उपभोग गर्दै सिनेमा हेर्न पाउने सुविधा उपलब्ध हुँदै गएको छ। सुतेर हेर्ने कि, बसेर, अनि खाँदै, पिउँदै रमाइलो गर्दै हेर्ने कि मसाज गराउँदै। दिउँसो हेर्ने कि राति ? सिनेमा हलमा सुविधामाथि सुविधा थपिँदै गएका छन्।

सोफामा बस्नासाथ लचक्क लच्किएर निकै तल पुग्छ। कोमल नरम खालको सोफामा ढल्किनासाथ शरीरको थकान आधा हल्का हुन्छ। दुई सोफाको बीचमा बटमसहितको कफी टे« छ। एउटा बटम दबाउनासाथ सोफा सरक्क ढल्किएर बेडको आकारमा आउँछ। दर्शक एक सय ५० डिग्रीको आसनमा सुत्न सक्छ। बस्दा वा सुतेको बेलामा शरीरमा मालिस गर्न मन लाग्यो भने अर्को बटम दबाउनासाथ स्वचालित रूपमा मसाज हुन थाल्छ।

यो दृश्य कुनै मसाज सेन्टर या तारे होटेलको होइन। सुन्धाराको सीटीसी मलस्थित सीटीसी सिनेमा हलभित्र रहेको प्लाटेनियम क्लासको हो। एउटा बटम दबाउनेबित्तिकै सिनेमा हेर्दै दर्शकले आफ्नो स्वादअनुसारको खानेकुरा खान पाउँछन्। त्यहीँ बार छ। आफूलाई मन लागेको स्वादमा ड्रिंकस मगाउन सक्छन्। इच्छाअनुसारको बेभरेज एउटा बटम दबाएकै भरमा आइपुग्छ।

नेपालमा पहिलो पटक यो सुविधाको हल हल निर्माण गरेको सिभिल स्टेटका सीईओ तथा सीटीसी हलका प्रमुख विजय सुब्बाले जानकारी दिए। उनका अनुसार सीटीसी मलमा दुईवटा हलमा ६२ वटा सिट उच्च आधुनिक र सुविधा सम्पन्न छन्। अर्को एक सय ६९ सिट क्षमताको हलभित्र ४० सिट अत्यन्तै सुविधा सम्पन्न छन्। कम बजेट भएकाहरूका लागि नर्मल एक सय २९ वटा सिट छन्। सिटिङ, लाइटिङ, साउड सिस्टम सबै अत्याधुनिक छ। मोबाइल चार्जरदेखि पानीलगायतका सबै सुविधा उपलब्ध छन्।

सुरु टिकट आठ सय रुपैयाँको छ। त्यसपछि आफ्नो आवश्यकता अनुसारको सुविधा थप गर्न सकिन्छ। जति सुविधा थप्यो त्यसैअनुसार बिल थपिँदै जान्छ। डिनरसहितको सुविधा लिने हो भने एक हजार पाँच सय पर्छ।

पहिले जस्तो इन्टरभलमा पप कर्न र चिसो खोज्न बाहिर जानु पर्दैन। यहाँ आउने दर्शक रेगुलर छन्। प्रायजसो परिवार नै फिल्म हेर्न र खाना खान आउँछन्। एउटा परिवारले फिल्म हेर्न आउँदा चार, पाँच हजारदेखि २० हजार रपैयाँसम्म खर्च गर्ने अनुभव सुनाउँछन् सीईओ सुब्बा। यस्ता हलमा सिनेमा हेर्न आउने दर्शकको संख्या विस्तारै थपिँदै गएको छ।

पहिलेका हलमा बल्कुने, फस्ट क्लास, सेकेन्ड क्लास र थर्ड क्लासका टिकट काटिन्थ्यो। अहिलेका सुविधासम्पन्न हलमा सिल्भर, गोल्ड र प्लाटेनियम गरी तीन प्रकारका टिकट हुन्छन्। यसको न्यूनतम तीन सय ५०, पाँच सय ५० र आठ सय रुपैयाँ पर्छ।

नेपालको सबैभन्दो ठूलो सिनेमा हलको च्यानल क्यूएफएक्स हो। यसले कुल दर्शकको ५५ प्रतिशत बजार ओगटेको छ। एउटै छानामुनि सुविधा सम्पन्न दुई वा त्योभन्दा बढी हल सञ्चालनमा छन्। एकै पटक धेरैवटा सिनेमा देखाउन सकिने भएका कारण दर्शकको रोजाइमा यस्ता हल पर्ने गरेका छन्। जय नेपाल, कुमारी, छायाँलगायतका हल क्यूएफएक्सका चलेका हल हुन्।

नेपालमा सपिङ सेन्टर खुल्ने क्रम बढेसँगै सुविधा सम्पन्न हल खुल्ने क्रम निकै बढ्दै गएको छ। सपिङ मलमा सिनेमा हल अनिवार्य जस्तै भएको छ। एउटै मलमा एकभन्दा बढी सिनेमा हलसमेत खुल्न थालेका छन्। काठमाडौं बाहिरका प्रमुख सहरमा पनि यस्ता सुविधा सम्पन्न हल खुल्ने क्रम जारी छ। पोखरा, बुटवल, धरान, विराटनगर, झापालगायतका सहरमा सुविधा सम्पन्न र मल्टिप्लेक्स हल सञ्चालन भएका छन्। चलचित्र संघका अध्यक्षसमेत रहेका प्रदीपकुमार उदयले बुटवलमा भर्खरै यस्तै हल सञ्चालनमा ल्याएका छन् भने नरेन्द्र महर्जनले हेटौंडा अनि अशोक शर्माले झापामा सुविधा सम्पन्न हल सञ्चालनमा ल्याएका छन्।

राजधानीका क्यूएफएक्स, बिग मुभिज, क्युज, बिजी मललगायतका हल पनि दर्शकलाई सुविधा थप्ने होडबाजीमा छन्। पुराना हलहरू पनि धमाधम सुविधा

थप्दै छन्। निकै चर्चामा रहेको विश्वज्योति हलले पुरानो हललाई नयाँ स्वरूप दिँदैछ। भर्खरै सञ्चालनमा आएकोे विश्वज्योति मलमा पनि अर्को सुविधा सम्पन्न हल खुल्दैछ। ‘समयको मागअनुसार परिमार्जन गर्दै लगेका हौं’, विश्वज्योति हलका मोहन सर्राफले भने।

बन्द भएका केही पुराना हल पनि अहिले नयाँ रूपमा आउँदै छन्। कुनै समय सिनेमा हेर्ने केन्द्रबिन्दुको रूपमा रहेको रञ्जना सिनेमा घर अहिले बन्द छ। तर त्यहीँ खुलेको सपिङ मलमा सुविधा सम्पन्न हल खुल्दै छ।

सिंगल थिएटर विस्थापित हुँदै मल्टी प्लेक्समा परिणत हुँदैछन्। कुनै समय गोपीकृष्ण मुभिजले एकै ठाउँमा दुईवटा हल एकै पटक सञ्चालन गर्न लाग्दा दर्शकले अनौठो मानेका थिए। अहिले गोपीकृष्णको छानामुनि मात्रै ६ वटा हल पुगिसकेका छन्। यस्तै गुणको छानामुनि पाँचवटा हल छन्। अहिले देशभरिमा एक सय ७५ भन्दा बढी हल सञ्चालनमा छन्।

नेपालमा फिल्म संस्कृति भित्रिएको धेरै भएको छैन। तर नेपाली सिनेमा बन्नुभन्दा पहिले नै हल भने सञ्चालनमा आइसकेका थिए। ६५ वर्षको इतिहासमा हल निर्माणमा धेरै परिवर्तन आइसकेको छ। पहिला धेरै सिट क्षमता भएको एउटा हल निर्माण गर्ने परम्परा थियो भने अहिले एकै ठाउँमा धेरैवटा तर थोरै सिट क्षमता भएका हल निर्माण हुँदैछन्। ‘समय र आवश्यकताअनुसार परिवर्तन गर्दै जानुुपर्छ। अहिले फिल्म निर्माणको क्रम पनि बढेको हुनाले मल्टिप्लेक्सको आवश्यकता बढ्दै गएको हो’ गोपीकृष्ण मुभिजका उद्धव पौडेल भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.