दिल्लीबाट १२ नेपाली महिलाको उद्दार
![दिल्लीबाट १२ नेपाली महिलाको उद्दार](https://annapurnapost.prixacdn.net/media/albums/bihar-women-rescue_20190331064337_eH8iyYYF7U.jpg)
नयाँ दिल्ली : कामको खोजीमा कुबेत, इराक र दुबई लैजाने प्रलोभनमा पारेर नयाँ दिल्लीमा बन्धन बनाएर राखिएका १२ नेपाली महिलाको शनिबार मध्य रातमा उद्धार गरिएको छ। नयाँ दिल्ली बाहिरको क्षेत्रमा पर्ने द्धारकाको कुतुव बिहार र श्याम बिहारमा छापा मारेर उनीहरुको उद्धार गरिएको हो। दिल्ली महिला आयोग तथा दिल्ली पूलिस छावला थाना तथा के आइ नेपालको संयुक्त पहलमा शनिबार साँझदेखि आइतबार बिहानसम्म विभिन्न तीन ठाउँमा छापा मारेर दुई स्थानबाट उनीहरुको उद्दार गरिएको हो।
कुतव बिहारबाट ८ जना र श्याम बिहारबाट ४ जनाको उद्धार गरिएको हो। उदय राना नामको निकै पुरानो दलालले यी महिलालाई दिल्ली पुर्याएको बुझिएको छ। रानाको विरुद्ध दिल्ली पुलिसको छावरा थानामा मानव वेचविखन विरुद्ध मुद्दा पनि दर्ता गरिएको उद्धारमा संलग्न केआई नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीले जानकारी दिए।
'दलालको विरुद्ध ठगीका उजुरीहरु पनि निकै थियो। अवैध र गैरकानुनी तरीकाबाट पैंसा ठगी गदै बाहिर पठाइदिन्छु भनेर नेपाली चेलीहरु ओसार पोसार गराएको हो,' जोशीले भने । दलालले पछिल्लो समयमा महिलालाई बन्धक बनाउने स्थान परिवर्तन गरेका छन्। इलाका पहाडगंज, जीबी रोडजस्ता भित्रि इलाकाभन्दा बाहिरको दुरदराजका गाउँ, घर, खण्डरजस्ता स्थानमा राख्न थालेका छन्।'प्रहरीको नजर नपर्ने गाउँठाउँ उनीहरुले खोज्जे गरेका छन्।तर हाम्रो सक्रियता त्यस्ता क्षेत्रमा पनि बढाइराखेको हुँदा उद्धार गर्न सफल भएको हो,' जोशीले भने।'
नेपालको पूर्वदेखि पश्चिमबाट आएका महिलामध्ये धादिङबाट ३, झापाबाट २,दाँगबाट २ , मकवानपुरबाट २ ,रसुवा र धनगढीबाट एक/ एक गरी १२ जना रहेको उद्धारमा संलग्न केआइ नेपालका नवीन जोशीले जानकारी दिए।
२२देखि ४० वर्ष उमेर समूहमा रहेका यी महिला महिला आयोग मातहतको संरक्षण गृहमा राखिएको छ। जोशीका अनुसार प्रकृया पुर्याएर उनीहरुलाई नेपाल फर्काइने छ। इराकमा बेचिएर नेपाल फर्किन सफल भएकी एक नेपाली चेलीको सूचना र सहयोगको आधारमा छापा मारिएको बुझिएको छ। यी महिलाले विदेश जानका लागि भनेर २० हजारदेखि २ लाख रुपैयाँ सम्म दलाललाई बुझाएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)