मानेभन्ज्याङमा जिप खस्दा सातको मृत्यु
ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-७ थाक्लेमा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
जिप सोलुखुम्बुको जुनबेसीस्थित ठूलो गुम्बाबाट काठमाडौंतर्फ जाँदै थियो। बा१६च २२०७ नम्बरको जिप आइतबार बिहान पौने १२ बजे सिद्धिचरण राजमार्गअन्तर्गत थाक्लेको भीरबाट दुई सय मिटर तल खसेको हो।
६ जनाको घटनास्थल र एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। जिपमा ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
मृत्यु हुनेहरूमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र उनकी ४५ वर्षीया श्रीमती डोमा शेर्पा, काठमाडौं बौद्धस्थित नयाँबस्तीका ३६ वर्षीया नोर्बु शेर्पा, ४० वर्षीया ङावाङ शेर्पा, ५० वर्षीया सांगेला शेर्पा र ३२ वर्षीया नुमा शेर्पा रहेको प्रहरीले बताएको छ।
दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए। घाइतमध्ये काठमाडौं नयाँबस्तीका कुङ्सिङ्गे शेर्पाको उपचारका लागि काठमाडौं पुर्याएपछि मृत्यु भएको छ। काठमाडौं बौद्धका ३० वर्षीय चालक कृष्ण श्रेष्ठ र ९ वर्षीय बालक मिङ्मा शेर्पाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
उनीहरूको अवस्था गम्भीर रहेकाले काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। उदयपुरको घुर्मीस्थित आस्था अस्पतालमा घाइतेको सामान्य उपचारपछि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो।
तीव्र गतिमा रहेको जिप अनियन्त्रित हुँदा दुर्घटनामा परेको अनुमान छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टर्माटमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याइएको छ। पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ।