एसईईको प्रश्नपत्र 'लिक' गर्ने खोज्दै सीआईबी
राजविराज : एसईईको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गर्ने अन्तिम प्रयोगकर्ता चाँडै पत्ता लाग्ने प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को संयुक्त टोलीले प्रश्नपत्र बाहिरिएको घटना अनुसन्धान गरिरहेका छन्। टोलीले सप्तरीबाट अनुसन्धान थालेको थियो।
दुई–तीन दिनमा केही न केही पत्ता लाग्ने प्रदेश प्रहरी कार्यालय जनकपुरका एसपी सन्तोष खड्काले बताए। ‘घटनाको अनुसन्धान गर्दै जाँदा २५औं तहसम्म पनि पुग्नुपर्ने हुन सक्छ’, उनले भने, ‘तर, दोषी पत्ता लाग्छ।’
सीआईबीका डीएसपी निरञ्जन भट्ट, इन्स्पेक्टर वरुण सिंह र आईटी विज्ञसहित २० जनाको टोली अनुसन्धानमा खटिएको उनले बताए।
उनका अनुसार परीक्षाअगावै प्रश्नपत्र पोस्ट गर्नेले कसरी कहाँबाट प्राप्त गर्यो भनेर विभिन्न व्यक्तिसँग सोधपुछ भइरहेको छ। सप्तरीका शिक्षक, पत्रकार, विद्यार्थी र अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा तानिएका छन्।