कहालीलाग्दो त्यो ‘एक मिनेट’

कहालीलाग्दो त्यो ‘एक मिनेट’

बारा : बारा फेटा गाउँपालिका–१ भलुई भरवलियाका शिवजी राउत जयसवालले आइतबार परिवारसँग रमाउँदै खाना खाए । सदाझैं खाना खाएपछि उनले परिवारका सदस्यलाई सुत्न पठाए र आफू पनि सुत्ने तरखरमा लागे । अचानक उनका अगाडि यस्तो विपत् आइलाग्यो, जसले एकछिनअघिको खुसीलाई ‘एक मिनेट’ मै शोकमा बदलिदियो ।

सामान्य वर्षा र हावाले भयानक रूप लिँदा सुत्ने तरखरमा रहेका जयसवाल परिवार घरविहीन बन्न पुग्यो । त्यति मात्र होइन, भुमरीसहितको भीषण हुरीले घर भत्काउँदा उनकी भाउजू मनरमा देवी जयसवालको तत्काल निधन भयो । परिवारका अन्य सदस्यको ज्यान जोगिए पनि त्यो क्षण आफ्ना लागि कहालीलाग्दो बनेको उनी बताउँछन् । उनले भने, ‘खुसीका साथ बसिरहेको परिवारलाई हावाहुरीले एक मिनेटमै तहसनहस बनाइदियो ।’ घर उजाडिएको पीडाले उनी भावविह्वल छन् ।

खाना खाँदै गर्दा च्यापिइन् कुसिया

फेटा गाउँपालिका—७ पुरैनियामा अढाई वर्षीया बालिका कुसिया खातुन खाना खाँदै थिइन् । उन बसेको घरको पर्खालले उनलाई किच्यो । उनलाई घरको पर्खालले थिचिदियो । आमा नजमुन नेसहाले तीन छोरी मनि, साहिल र रेसमा खातुनलाई घरबाट निकालेर बचाइन् । तर कुसियालाई बचाउन सकिनन् ।

तीनै छोरी र नजमुन घाइते छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । ‘बसेको घरकै पर्खालको इँटाले बच्चीलाई थिच्यो । निकाल्दा मरिसकेकी थिइन्,’ स्थानीय मोहमद हारुलले भने ।

कुसियाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । कुसियाका बुबा मेहोरोदिन मियाँ मजदुरी गर्न साउदी गएका छन् ।

००

टोलमा शव उठाउने मान्छे छैन

फेटा गाउँपालिका—१ भलुही भरवलियाका एघारमहिने बालक रञ्जित दास सोमबार आमा खोजिरहेका थिए । उनी छिनछिनमा रुन्थे । हजुरबुबा रामसुरत फकाउँदै दूधदानीमा दुध चुसाउँथे । रञ्जितकी आमा रुनादेवीको हावाहुरीमा मृत्यु भएको छ । रुनादेवी हावाहुरीले घर भत्काउँदा काठले लागेर घाइते भइन् । उपचारका क्रममा ३२ वर्षीया उनको वीरगन्जमा मृत्यु भयो ।

रामसुरतकी ५० वर्षीया पत्नी मोतीसार देवीको पनि मृत्यु भएको छ । उनको शव भत्किएको झुपडीछेउमा तन्नाले छोपेर राखिएको थियो । पत्नीको शव लिन वीरगन्ज गएका छोरा भीम दास साँझसम्म फर्किएका थिएनन् ।

रामसुरत गोर्खामा मजदुरी गर्न गएका थिए । पत्नी र बुहारीको मृत्यु भएको खबर पाएपछि उनी सोमबार बिहान गाउँ आइपुगेका हुन् । भत्किएको झुपडी छेउमा राखिएको मोतीसार देवीको शव कुर्न रौतहटबाट २२ वर्षीया छोरी मीनादेवी आइपुगेकी छिन् । रामसुरतले पत्नीको शव पनि उठाउन सकेका छैनन् । गाउँका मानिस घाइते भएर उपचार गराउन वीरगन्ज गएकाले पत्नीको दाहसंस्कार गर्न नसकेको रामसुरतले बताए ।

उनले भने, ‘घर भत्कियो, पत्नी र बुहारीको मृत्यु भयो । नातिनातिना आमा खोजिरहेका छन् ।’ बस्तीका हरिदास तत्माको पनि घरमा च्यापिएर मृत्यु भएको छ । टोलमा ५० भन्दा बढी घर भत्किएका छन् ।

शिवजी, नजमुन र रामसुरत मात्र हैन, हुरीले वितण्डा मच्चाएको फेटाकै पुरैनिया, गमरिया, धर्मनगर, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाका सयांै परिवार यस्तै पीडामा छन् । २७ जनाको ज्यान जाने गरी आएको कहालीलाग्दो हुरीका कारण झन्डै चार हजार घरपरिवार विस्थापित भएका छन् । घाइते चार सयभन्दा बढीको कलैया अस्पताल, वीरगन्जको नेसनल मेडिकल कलेज र नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

‘खाटमुनि लुकेर ज्यान जोगायौं’

रातिको समयमा भीषण हुरी चलेपछि बस्तीमा भागदौड मच्चिएको स्थानीयले बताए । कतिपयले भागेर ज्यान जोगाए । भाग्न नसकेका च्यापिएर मरे । फेटा १ का श्यामनारायण पटेलले हुरीले घर हल्लाउन थालेपछि ज्यान जोगाउन खाटमुनि लुकेको बताए । ‘बाहिर निस्केर भाग्न सक्ने अवस्था थिएन । हामीले भूकम्प आएझंै महसुस ग¥यौं’, पटेलले भने, ‘छोराछोरी चिच्याउन थालेपछि सबैलाई खाटमुनि लुकाएँ । घरको माथिल्लो भाग मात्रै भत्किएकाले क्षति हुन पाएन ।’

गाउँका बासिन्दा सोमबार दिनभर त्रसित थिए । चापाकल पुरिँदा स्थानीयले पानी पिउन पाएका छैनन् । कतिपयले आइतबार साँझदेखि केही खानेकुरा पाएका छैनन् । भग्नावशेषअगाडि मृतकका परिवारको रुवाबासी चलेको थियो ।

विद्युत् अवरुद्ध हुँदा रातको समयमा उद्धार गर्न निकै कठिन भएको सुरक्षा निकायले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी रातभर सक्रिय भए । घाइते सबैलाई राति नै अस्पताल पु¥याइयो । हुरीले बिजुलीको पोल र रुख ढल्दा बढी क्षति भएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।

प्रधानमन्त्रीले गरे हवाई निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन् । उनले वीरगन्जस्थित अस्पतालमा उपचार गराइरहेका घाइतेसँग भेट गरे । प्रदेशका २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित प्रदेश सरकारका सबै मन्त्री घटनास्थल पुगेका थिए । मन्त्री सोनलले घाइतेको उपचार र बसोबासको व्यवस्था प्रदेश सरकारले गर्ने बताए । ‘अहिले हामीले घाइतेको उपचार र विस्थापित परिवारलाई सकेसम्म राहतका लागि प्रयास गरेका छांै’, उनले भने, ‘हुरीले भत्काएको सबै परिवारको घर प्रदेश सरकारले बनाउनेछ ।’

राहत संकलन तीव्र

फेटा गाउँपालिका र प्रसौनी गाउँपालिकाले विस्थापित परिवारलाई खानेकुराको व्यवस्था गरेका छन् । रेडक्रसलगायत संघसंस्थाले राहत संकलन कार्य तीव्र पारेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कटेल धुर्मुसले बारा आएर प्रभावित क्षेत्रमा राहत वितरण गरेका छन् । उनले चार सय थान त्रिपाल, ९ क्विन्टल चामल र चार सय कार्टुन चाउचाउ स्थानीय तहलाई हस्तान्तरण गरे ।

हुरीले घर भत्किँदा पुरैनियामा ज्यान गुमाएका ९ जनामध्ये सात जनाको स्थानिय कबरस्तानमा सामूहिक दाहसंस्कार गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.