देउवाविरुद्ध ५१ जिल्ला सभापति

काठमाडौं : महासमितिमा दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेपछि असन्तुष्ट कांग्रेस जिल्ला सभापतिको बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। कांग्रेस काठमाडौं जिल्ला कार्य समितिले आयोजना गरेको बैठकमा पार्टीको आन्तरिक राजनीतिको समीक्षा र सरकारी कार्यशैलीको विरोधमा विभिन्न अभियान सञ्चालन गर्न रणनीति तय गरिनेछ।
महासमिति बैठकको सुझावविपरीत केन्द्रीय समितिले विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट छन्। जारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध कसरी अघि बढ्ने भन्ने रणनीति तय गरिने एक जिल्ला सभापतिले बताए। ५१ जिल्लाका सभापति सहभागी बैठकमा देउवा निकटका सभापति भने छैनन्।
गत फागुन १३ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा विधान पारित गरेपछि जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर निर्णय सच्याउन माग गरेका थिए। निर्णय नसच्चाए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी उनीहरूको थियो।
‘हामीले आफ्नो औपचारिक धारणा बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं’, नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले अन्नपूर्णसँग भने, ‘बैठकमा पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिसम्मको विषयमा छलफल भइरहेको छ।’
बुधबारको बैठकले सबै जिल्ला सभापतिहरू बारा–पर्साका हुरी पीडितलाई राहत वितरण गर्न जाने निर्णय गरेको छ। यस्तै बैठकले मेची–महाकाली अभियान थाल्ने निष्कर्ष निकालेको छ। केसीले भने, ‘हामीले बैठकपछि आफ्नो औपचारिक धारणा सार्वजनिक गर्छौं।’
सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै केसीले सरकारविरुद्ध मेची महाकाली अभियान गर्न लागेको बताए। बैठक काठमाडौं ठमेलस्थित एक होटलमा जारी छ। गत पुसमा काठमाडांैमा सम्पन्न महासमिति बैठकमा जिल्ला सभापतिसहित बन्दसत्रका सहभागीले सबै केन्द्रीय नेता पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने प्रावधान विधानमा राख्न सुझाएका थिए। समावशी कोटामा एक व्यक्तिले एकपटक मात्रै अवसर पाउनुपर्ने माग उनीहरूको थियो। त्यतिबेला सभापति देउवाले महासमितिमा उठेका सबै विषयलाई केन्द्रीय समितिबाट अनुमोदन गराउने आश्वासन दिएका थिए। तर केही समयपछि बसेको केन्द्रीय समितिले सभापतिको आश्वासनविपरीत विधान पारित गरेको थियो। यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहले नोट अफ डिसेन्ट लेखेका थिए। त्यसपछि जिल्ला सभापति पनि असन्तुष्ट भएका हुन्।
यसअघि मंसिर दोस्रो हप्ता जिल्ला सभापतिहरुले नुवाकोटको ककनीमा बैठक गरेर सामूहिक धारणा बनाएका थिए। महासमिति बैठकको पूर्वसन्ध्यामा भएको बैठकपछि जिल्ला सभापतिहरूले विधानमा समावेश गर्नुपर्ने बुँदाहरू नेतृत्वसमक्ष बुझाएका थिए। त्यसअघि गत असारमा पनि जिल्ला सभापतिहरुको औपचारिक भेला आयोजना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
