गाउँपालिकाको मोटरसाइकल सडकमै बेवारिसे
गुल्मी : स्थानीय तहका वडाध्यक्ष र कर्मचारीहरू सरकारी सवारीसाधन चढ्छन्। उनीहरूले सरकारी सेवाको भरपूर उपभोग पनि गर्छन्। 'अति गरे खति हुन्छ' भनेजस्तै उनीहरू त्यसकै कारण आलोचित पनि बन्छन्।
गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी यस्तै रवैयाका कारण आलोचित भइरहेका छन्। जिल्लाको पश्चिम क्षेत्रमा पर्ने यस गाउँपालिकामा सरकारी सवारीसाधनको चरम दुरुपयोग गरेको घटना बाहिर आएको छ।
गाउँपालिकाका एक कर्मचारीले सरकारी सवारीसाधन बेवारिसे अवस्थामा छाडेका छन्। माघ २४ गतेदेखि एउटा मोटरसाइकल सडक छेउमै उत्तानो परेको अवस्थामा भेटिएको छ। वडा-१ नेटा कार्यालयका सहायक सुनिल थापाले विगत केही समयदेखि प्रयोग गर्दै आएको लु१ब ८७७ सेतो नम्बर प्लेटको मोटरसाइकल उत्तानो अवस्थामा भेटिएको हो।
उल्लेखित नम्बरको मोटरसाइकल वडाको नेटादेखि निस्ती जाने सडक छेउमै बेवारिसे अवस्थामा रहेको स्थानीयहरूले बताएका छन्। घरदेखि वडा कार्यालय जाने क्रममा मोटरसाइकल सडकमै बिग्रिएको कार्यालय सहायक थापाले बताए। थापाका अनुसार आफूले मोटरसाइकल मर्मतका लागि मिस्त्रीलाई फोन गरेको तर, मिस्त्रीले शनिबारबाहेक अन्य समयमा नभ्याउने भनेपछि मोटरसाइकलाई स्थानीयको घर नजिकै छोडिएको बताए।
त्यसैदिन दिउँसो काम विशेषले आफू काठमाडौं जानु परेकाले कार्यालयलाई मोटरसाइकल बिग्रिएको जानकारी गराएको उनको भनाइ छ। आफूले स्थानीयको घर अगाडि सुरक्षित स्थानमा मोटरसाइकल छाडे पनि स्थानीयले उत्तानो पारेर तस्बिर भाइरल बनाएको उनको आरोप छ।
मोटरसाइकलको उचित व्यवस्थापनमा कसैले चासो नदिँदा गत शनिबारसम्म सडकको छेउमै उत्तानो अवस्थामा रहेको स्थानीयले जानकारी दिए। गाउँकै एक विद्यालयमा अध्यापन गराउने शिक्षकले लामो समयसम्म सरकारी नम्बर प्लेटको मोटरसाइकल सडकको छेउमै उत्तानो अवस्थामा रहेको बताए। पालिकाका जनप्रतिनिधि र कर्मचारी गैर जिम्मेवार हुँदा सडकमै मोटरसाइकल बस्ने अवस्था आएको स्थानीयले गुनासो गरेका छन्।
सरकारी साधनको दुरुपयोग गरेको भन्दै त्यहाँका स्थानीय आक्रोशित समेत बनेका छन्। वडाध्यक्ष दीपक श्रीषले मोटरसाइकल सडकमै बिग्रेर त्यहाँ छोडेर गएको र स्थानीय खबर गरेपछि मात्रै आफूले थाहा पाएको उनले बताए। कार्यालय सहायक थापाको मोटरसाइकल रहेको सडकदेखि घर तल र वडा कार्यालय माथि रहेकाले त्यही छोडेर गएको हुनसक्ने वडाध्यक्ष श्रीषले बताए। बिग्रेको मोटरसाइकल सडकमै छोडेर थापा काठमाडौं गएका थिए। फागुन ४ गते बिग्रेको मोटरसाइकल नजिकैको स्थानीयको घरमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !