प्रतिनिधि सभा बैठक सुरू (लाइभ)
काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकको प्रारम्भमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक, २०८३ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।
त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैंतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ सभामा पेश गर्ने कार्यसूची छ।
व्यवस्थापन कार्यअन्तर्गत मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक,२०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने तथा उक्त विधेयक सभामा प्रस्तुत गर्नेछिन्। साथै नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ।
यस्तै,अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पोखरेलले पर्यटन विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभामा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !