बारामा रुखले थिचेर एक जनाको मृत्यु
सिमराः बाराको सुवर्ण गाउँपालिकामा रुख काट्ने क्रममा थिच्चिएर मंगलबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सुवर्ण गाउँपालिका-१ रामटोल बस्ने ५५ वर्षीय जोखन महरा रहेका छन्।
सुवर्ण गाउँपालिका–२ सनफुलवामा रुख काट्ने र टुक्राउने क्रममा सो दुर्घटना भएको हो। बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार सुवर्ण गाउँपालिका-३ संतगजका शिवधारी पण्डितको जग्गामा रहेको पकडको रुख काट्ने क्रममा महरालाई अर्को रुखले थिचेको थियो।
उक्त पकडको रुख सुवर्ण गाउँपालिका-७ का बाबुलाल यादवले खरिद गरेका थिए र सोही रुखलाई टुक्राउने क्रममा महरा दुर्घटनामा परेका हुन्। महराको शव परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा पठाइएको प्रहरी प्रवक्ता घलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !