पानी तान्ने कलको तारबाट करेन्ट लाग्दा महिलाको मृत्यु
विराटनगर : मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारमा करेन्ट लागेर बुधबार बिहान एक जना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–५ कोचाखालकी २० वर्षीया सञ्जु सहनीको मृत्यु भएको हो ।
सहनीलाई कटहरी–४ स्थित माइतीघरमा बिहान ७ः१५ बजेतिर पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । पानीको कल चलाउने क्रममा करेन्ट लागेर सहनीको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार सञ्जु माइतीघरमा रहेका बेला कलमा जडान गरिएको पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !