पेस्तोल, म्याग्जिन र ३ राउण्ड गोलीसहित दुई जना पक्राउ
सुनसरी : सुनसरी प्रहरीले अवैध हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशबकुमार थेबेले बुधबार बिहान १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका–१ मधेली स्थित झण्डा चोक क्षेत्रमा पैदल हिँडिरहेका दुई जनालाई शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट पेस्तोल, म्याग्जिन र गोली बरामद गरेको जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा ५१ बर्षीय नुर महमद र ३२ बर्षीय मोहमद अहमद (इम्रान खान) रहेको एसपी थेबेले बताए । उनीहरू दुवै मोरङको विराटनगर महानगरपालिकाका बासिन्दा हुन् । उनीहरूको साथबाट चाइनिज पेस्तोल एकथान, सोही पेस्तोलमा प्रयोग हुने एक थान म्याग्जिन र ३ राउण्ड गोली बरामद गरेको एसपी थेबेले बताएका छन् ।
हतियारसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरहेको एसपी थेबेले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका नुर महमद यसअघि हातहतियार तथा खरखजाना र जबर्जस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई १२ वर्ष कैद सजाय भुक्तान गरिसकेको खुलेको प्रहरीले जनाएको छ । त्यस्तै मोहमद अहमद उर्फ इमरान खानविरुद्ध २०७५ सालमा चोरी मुद्दा दर्ता भएको अभिलेख समेत फेला परेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !