आफैं एसईईका परीक्षार्थी थिए प्रश्नपत्र चोर्ने प्रहरी, यसरी खुल्यो रहस्य

आफैं एसईईका परीक्षार्थी थिए प्रश्नपत्र चोर्ने प्रहरी, यसरी खुल्यो रहस्य

राजविराज : माध्यमिक शिक्षा परीक्षा (एसईई) का ७० हजार ५६८ विद्यार्थीलाई प्रभावित पार्ने गरी प्रश्नपत्र बाहिर ल्याउने कार्य प्रदेश २ को सिरहास्थित इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहाबाट बाहिरिएको अनुसन्धानबाट खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गर्दै एसईई परीक्षाको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिर ल्याउने कार्य इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहामा कार्यरत दुई जना प्रहरी नै पहिलो दोषी रहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा राखिएको प्रश्नपत्र सोही कार्यालयमा कार्यरत प्रहरीहरू राजविराज १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत यादव र कञ्चनरुप ६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डलले परीक्षाअगावै लिक गरेको सीआईबीको अनुसन्धानमा खुलेको हो। घटनामा संलग्न यी दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले दोषी प्रहरी भएकाले उनलाई अन्य व्यक्तिलाई हुने सजाय बाहेक प्रहरी ऐन बमोजिम समेत कारबाही हुने बताए।

प्रश्नपत्रको समूह र प्रश्न नम्बरसहित हुबहु उत्तर भएको चिटसहित पक्राउ परेका सप्तरी र सिरहाका परीक्षार्थीहरूलाई सोधपुछ गर्दै जाँदा प्रश्नपत्र लिक गर्ने र आदानप्रदान गर्ने अन्तिम व्यक्तिसम्म पुगेको सीआईबीले जनाएको छ।

यसरी खुल्यो रहस्य

घटना अनुसार इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत प्रहरी दीपेन्द्र स्वयं पनि एसईईका परीक्षार्थी हुन्। उनको परीक्षा केन्द्र बरहथवा मावि विष्णुपुरमा परेको थियो। यो केन्द्रको प्रश्नपत्र सुरक्षार्थ एक दिन अगाडि नै इप्रका कल्याणपुरमा ल्याइएको थियो।

दीपेन्द्रले आफ्नो प्रवेशपत्रमा सँगै कार्यरत प्रहरी ब्रह्मदेवको फोटो टाँस गरी परीक्षा दिन लगाए। नक्कली परीक्षार्थी बनेर परीक्षा दिने ब्रह्मदेव र दीपेन्द्र मिलेर नै कल्याणपुर प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोका ब्लेडले चिरेर फोटो खिचेका थिए।

ब्रह्मदेवले प्रश्नपत्र निकाल्ने मात्र नभई सिरहाको वरहथवा मावि विष्णुपुरमा परीक्षा केन्द्र रहेका दीपेन्द्रको ठाउँमा बसेर परीक्षा पनि दिए। सो घटनाको समेत पुष्टि भई सो अभियोगमा समेत उनीहरुमाथि कारवाही भइरहेको छ।

‘प्रवेशपत्रबाट दीपेन्द्रको फोटो झिकी ब्रह्मदेवको फोटो टाँसेर आफैं परीक्षामा बसेको अनुसन्धानमा खुल्यो,’ शाहीले थपे, ‘त्यसमा छाप समेत किर्ते गरेको पाइएको छ।’

‘इन्चार्जले राखेको चाबी चोरेर प्रश्नपत्रका पोका ब्लेडको चिर्दै फोटो खिचेर फेरि पोकाभित्र हालेको पाइयो,’ सीआईबीका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले भने, ‘अहिले सम्मको अनुसन्धामा अन्य प्रहरीको संलग्नता देखिएको छैन् तर जिम्मेवारीमा चुकेको देखियो।’

सीआईबीका अनुसार यस्का लागि खाना खाने समयमा सबै व्यस्त रहेको बेला पारेर उनीहरूले साँचो चोरेर प्रश्नपत्रको खामको तल्लो भागमा खुर्केर प्रश्नपत्र निकाली फोटो खिचेर पुन टाँस गरेको देखिएको छ।

ब्रह्मदेबले प्रश्नपत्र निकालेर फोटो खिच्ने काम गरिरहँदा दीपेन्द्रले भने बाहिर पाले पहरा दिएका थिए। ब्रह्मदेबलाई यतिले मात्र चित्त नबुझे पछि उनले दाजु बिष्णुदेवलाई इमोमार्फत प्रश्न पठाए जुन उनले खोक्सर प्रवाहा मावि शम्भुनाथका राहत शिक्षक राजविराज १६ बोरियाका मनोज यादवलाई उपलब्ध गराए।

मनोजले सालो नाता पर्ने सप्तरीको हनुमाननगर कंकालिनी १ भारदहका कक्षा १२ मा अध्ययनरत राजेश यादवलाई दिए, जुन उनले सँगै पढ्ने साथी सोही ठाउँका उमेश यादवलाई देखाए।

त्यसपछि प्रश्नपत्र हजार, दुई हजारमा बिक्री भई सामाजिक सञ्जालहरूमा समेत सम्प्रेसित भएको सीआईबीको ठहर छ। उनीहरूले प्रयोग गर्ने मोबाइल र सामाजिक सञ्जालहरूको प्राविधिक विश्लेषण गर्ने कार्य अझै भइरहेको सीआईबीका प्रमुख प्रहरी नायव महानिरीक्षक शाहीले बताए।

आरोपितहरूलाई प्रचलित कानुन बमोजिम शिक्षा ऐन, चोरी र विशेष प्रहरी ऐनअनुसार कारवाही अघि बढाइएको उनले जानकारी दिए।

श्रृखंलाबद्ध रुपमा परीक्षा अगावै प्रश्नपत्र बाहिरिन थालेपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगन गर्दै घटनाको अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरेको थियो। ब्यूरोसहित प्रादेशिक कार्यालय र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीको २० जनाको संयुक्त टोलीले पुनः परीक्षाको पूर्व सन्ध्यामा अनुसन्धान पुरा गरी आरोपितहरूलाई सार्वजनिक गरेको छ।

परीक्षा स्थगनले प्रदेश २ का २६२ परीक्षा केन्द्रका ७० हजार पाँच सय ६८ परीक्षार्थी प्रभावित बने।

पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही, सीआईबीका एसपी उमा चतुर्वेदी, प्रदेश नं. २ जनकपुरका एसपी सन्तोष खडका र सप्तरीका एसपी राजेन्द्र विष्टको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.