हुरीपीडित एसईई परीक्षार्थीलाई अखिलको साथ
![हुरीपीडित एसईई परीक्षार्थीलाई अखिलको साथ](https://annapurnapost.prixacdn.net/media/albums/see-bara-student_20190405064426_qUSWCbh5d0.jpg)
भलुई भरवलिया (बारा) : हुरीले वस्ती उजाड बनाएपछि अन्यौलमा परेका एसईई परीक्षार्थीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरस्ववियु) विद्यार्थी नेताले साथ दिएका छन्। चार दिनदेखि हुरी प्रभावित वस्तीमा एसईई परीक्षार्थी खोजिरहेका अनेरस्ववियु र अनेरस्ववियु क्रान्तिकारीले १३ परीक्षार्थीलाई शुक्रबार परीक्षा दिने वातावरण बनाइ दिएका छन्।
हुरीले बढी क्षति पुर्याएको फेटा गाउँपालिको पुरैनिया र भलुईभरवलियाका १३ जना विद्यार्थीलाई अखिलका विद्यार्थी नेताले परीक्षा दिनका लागि आवश्यक सामाग्री उलपब्ध गराएर केन्द्रसम्म पुर्याएका छन्।पुरैनिया र भलुई भरवलियाका परीक्षा केन्द्र प्रसौनी गाउँपालिकाको खुटवा प्रसौनीमा रहेको छ।
परीक्षार्थीलाई परीक्षा अवधिभर परीक्षा केन्द्र नजिक बस्न र खानको व्यवस्था समेत मिलाएको अखिल केन्द्रीय सचिव तथा प्रदेश २ की इन्चार्ज आरती लामाले बताइन्।'गाउँमा बसेर पढ्न सक्ने वातावरण छैन, घटना र त्यसपछि मानिसको भीडले विद्यार्थीलाई मनोवैज्ञानिक ढंगले असर पारिरहेको छ,' लामाले भनिन्, 'त्यसैले उनीहरुलाई गाउँबाट निकालेर परीक्षा केन्द्र वरपर नै बस्ने वातारण बनाएका हौं।होटल नभएकाले साथीको घरमा राखेका छौं र अब उनीहरु परीक्षा सकाएर मात्रै घर फर्कनेछन्।'
हुरीले घर भत्काउँदा कतिपय विद्यार्थीको साथमा प्रवेश पत्र समेत छैन्। प्रवेश पत्र नभएका विद्यार्थीलाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर तत्काल परीक्षा दिने वातारण बनाएको लामाले बताइन्।
यसअघि हुरी प्रभावित वस्तीमा पुगेर अनेरस्ववियुले एसईई परीक्षार्थीलाई टर्च लाइट वितरण गरेका थिए। अखिलका महासचिव ऐनबहादुर महर, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, केन्द्रीय सचिव सूर्यनारायण साहसहित अखिलका विद्यार्थी नेताले टर्च वितरण गरेका हुन्।
अखिलले एसईई बाहेक गाउँका अन्य विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउन लागेको महासचिव महरले बताए। चार दिन उद्धारमा जुट्दा विद्यार्थीको अवस्था पनि बुझेका थियौं।एसईई परीक्षार्थीलाई परीक्षा दिने वातावरण बनाउने काम भयो।अब हामीले अन्य विद्यार्थीले पढ्न पाउने वातारण बनाउन लागिपरेका छौं,' महरले भने।
अध्यक्ष महर र तामाङसहित अखिलको टोली हुरी प्रभावित क्षेत्रमा चार दिनदेखि उद्धारमा जुटिरहेका छन्। हुरीले घर भत्काउँदा भएको भगनावशेषलाई पन्छाउने, सरसफाईलगायतको काममा केन्द्रीय टोलीसहित कास्की, म्याग्दी, सर्लाही, मोरङ, पर्सा, मकवानपुर, चिवतनलगायत अन्य जिल्लाको टोली खटिएको महरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)