एकीकृत घुम्ती शिविरबाट हजारौं लाभान्वित
डोटी : डोटीको आदर्श गाउँपालिकामा संचालन भएको तीन दिने एकीकृत घुम्ती सेवा शिविरमा हजारौंको संख्यामा लाभान्वित भएका छन्। जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा आदर्श गाउँपालिकाको समन्वय तथा सहयोगमा संचालन भएको शिविरमा ६०३ जनाले नागरिकता पाएका छन्।
जसमा चार सय २६ जना महिला, एक सय ७६ जना पुरुष तथा एकजना अन्य रहेका छन्।नागरिकता लिनेमा महिलाको संख्या बढी रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी लिए।
त्यसैगरी मतदाता परिचयपत्र भने ६ सय २४ जनाले लिएका छन्। नागरिकता तथा मतदाता परिचय पत्र लिनेमा महिला, असक्त तथा वृद्धवृद्धाको संख्या बढी रहेको अधिकृत शर्माले जानकारी दिए।
धुम्ती शिविरमा नौ सय ३४ को संख्यामा कृषि सेवा प्राप्त गरेका छन् भने पशु सेवामा चार सय ४८ को संख्याले सेवा पाएका छन्। त्यसैगरी शिविरमा तीन सय ६८ जनाले निशुल्क स्वास्थ्य सेवा पाएको आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायले जानकारी दिए।
जिल्ला सदरमुकाम गएर नागरिकता लिन नसकेका नागरिकलाई गाउँमै नागरिकता, निशुल्क स्वास्थ्य उपचार, फोटोसहितको मतदाता परिचय पत्र लगायतका सेवा प्रदान गर्नका लागि शिविरको आयोजना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले बताए।
मुलुकमा संघीय संरचना आएको सन्दर्भमा नागरिकलाई घरदैलोमा सेवा प्रदान गर्नका लागि शिविर सञ्चालन गरिएको प्रजिअ सुबेदीले बताए। आदर्श गाउँपालिकाको केन्द्र मौवा नगरदहमा संचालन भएको धुम्ती शिविरमा गाउँपालिकाले तीन सय ८४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।
दुई सय ४४ जना दलित विद्यार्थी तथा एक सय ४० जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको गाउँपालिका अध्यक्ष रोकायले जानकारी दिए।