मनास्लु क्षेत्रमा मुखियाकै भर

मनास्लु क्षेत्रमा मुखियाकै भर

गोरखा : संविधानले गरेको व्यवस्थाअनुसार गाउँपालिका, नगरपालिकामा जनप्रतिनिधिको व्यवस्था भइसकेको छ । गोरखाको दुर्गम मनास्लु क्षेत्र भने अहिले पनि मुखियाकै भरमा छ । चुमनुब्री गाउँपालिका–५ (साविक बिही गाविस) मा यसअघि जस्तै अहिले पनि तीन जना मुखिया छन् ।

गाउँका विभिन्न निर्णय पहिलेको झैं मुखियाले नै गर्ने वडाध्यक्ष सोनाम ग्याल्जेनले बताए । ‘बिही गाउँमा टासी छिरिङ, क्य्राकमा नुर्बु ग्याल्जेन र कोया गाउँमा खासी डोल्मा मुखिया छन्’, उनले भने, ‘वादविवाद, झैझगडा प्रायः मुखियाले नै मिलाउँछन् । गाउँमा विकास निर्माणको के काम गर्ने भन्ने योजना पनि पहिले मुखियाले तयार गरेपछि मेरोसामु आउँछ ।’ हरेक वर्षको पुस १ गते सबै गाउँमा मुखिया चुन्ने गरेको उनले बताए ।

आफू बरु नरहने तर मुखिया रहिरहने वडाध्यक्ष ग्याल्जेनले बताए । ‘प्रधान, अध्यक्ष भन्ने कुरा त राजनीतिक परिवर्तन भएपछि फेरबदल भइरहन्छ । मुखिया भन्ने कुरा त परापूर्वकालदेखि चलिआएको हो । अहिले पनि चलिरहेको छ । पछि पनि चलिरहन्छ’, वडाध्यक्ष सोनाम ग्याल्जेनले भने, ‘हामी बरु नरहन सक्छौं, मुखिया रहिरहन्छन् ।’ जनप्रतिनिधिलाई भन्दा मुखियाप्रति गाउँलेको आस्था रहने उनले बताए ।

चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङको गाउँ फिलिममा पनि मुखियाको राज छ । ‘रीतिथितिका कुरा सबै मुखियाले गर्छन्, राजनीतिका कुरा, विकास निर्माणको योजना, सम्झौताजस्ता कुरा मात्रै हामी गर्छौं ।’ बर्सेनि आलोपालो प्रणालीअनुसार मुखिया चुन्ने परम्परा कायमै रहेको उनले बताए । साविक सातवटा गाविस र हाल सातवटा वडा रहेको चुमनुब्री गाउँपालिकाका सबै वडामा मुखिया प्रथा कायम रहेको उनले स्विकारे ।

गुम्बा पूजा, कुलदेउता पूजा कहिले गर्ने, कसरी गर्ने, गोठ कहिले सार्ने, कहाँ सार्ने, गोठ जाने, पानी पँधेरो बाटो बनाउनेलगायत काम मुखियाको निर्णयअनुसार हुने साविक बिही गाविसका पूर्वअध्यक्ष नुर्बु गुरुङले बताए । ‘कसैलाई अन्याय पर्यो भने उसले मुखियालाई एक पोम रक्सी र खाता चढाउँछ । मुखियाले के भयो ? भनेर सोधेपछि उसले आफ्ना समस्या बेलिविस्तार लगाउँछ’, पूर्वगाविस अध्यक्ष गुरुङले भने, ‘अनि मुखियाले प्रतिवादीलाई हाजिर गराउन घ्यापो (कटुवाल)लाई अह्राउँछन् । वादी र प्रतिवादीका कुरा सुनेपछि मुखियाले फैसला गर्छन् ।’ गाउँका मुखियाले गरेको निर्णय यदि वादी, प्रतिवादीले स्विकारेनन् भने छिमेकी गाउँका मुखियासमेत निमन्त्रणा गरेर फैसला गर्ने चलन कायमै रहेको उनले बताए ।

मुखिया प्रथामा पीडित र पीडक दुवै पक्षसँग रकम असुल गर्ने चलन रहेको ल्होका कुन्साङ दोर्जेले बताए । ‘मुद्दा हार्नेले त यसै पनि जरिवाना तिर्नुपर्छ, जित्नेले पनि जितौरीका रूपमा केही पैसा तिर्नुपर्छ’, उनले भने, ‘उनीहरूसँग असुल गरेको रकम बैठक खर्च र गाउँको विकासमा खर्च गर्नुपर्छ ।’ मुखिया प्रथा लोकप्रिय रहेकाले आफ्नो समाजबाट नहट्ने उनले तर्क गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.