कांग्रेसमा सिटौला व्यवस्थापन सकस

कांग्रेसमा सिटौला व्यवस्थापन सकस

काठमाडौं : कांग्रेसमा यतिबेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको व्यवस्थापन एउटा सकसका रूपमा देखा परेको छ। कार्यसम्पादन समितिदेखि पार्टीका विभागहरू गठनमा समेत सिटौला समूहलाई व्यवस्थापन गर्न समस्या परेको हो। केन्द्रीय समिति बैठकसमेत सहज तवरबाट गर्न नसकेको कांग्रेसमा समाधानको खोजीस्वरूप सोमबार बिहान फेरि अनौपचारिक बैठक भए पनि निकास निस्केन।

गत शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा अनौपचारिक बैठक बसेको भए पनि कुनै समाधानबिनै टुंगिएको थियो। उक्त बैठकमा असन्तुष्ट पूर्वमहामन्त्री सिटौला सोमबार बिहानको अनौपचारिक बैठकमा सहभागी नै भएनन्। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यसम्पादनदेखि विभागहरूमा ४० प्रतिशत भागबन्डा दिने बताएदेखि नै सिटौला समूह रुष्ट भएको हो। सभापतिले त्यही ४० प्रतिशतमा सिटौलालाई समेत समेट्न वरिष्ठ नेता पौडेललाई भनेका थिए। पौडेलले त्यसलाई अस्वीकार गरे। सिटौलाले आफूलाई अपमानित गर्न खोजेको आरोप लगाए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका विभागदेखि कार्यसम्पादन समिति गठनका लागि पार्टीभित्र अनौपचारिक प्रयास भइरहेका र चाँडै नै सबै कुरा सहमतिमै हुने दाबी गरे। उनले सिटौला पार्टीका महत्वपूर्ण नेता भएको भन्दै उनलाई समेत विश्वासमै लिएर पार्टी अघि बढ्ने दाबी गरे।

नेता सिटौला सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग रुष्ट देखिएका छन्। सिटौलाले सभापति र वरिष्ठ नेता दुवैविरुद्ध भागबन्डा गरेर पार्टी कमजोर बनाउन लागेको आरोप लगाएका थिए। उनीनिकट एक नेताका अनुसार सिटौलाले अहिले पार्टीमा सशक्त कार्यसम्पादन समिति कसरी बनाउनेभन्दा पनि भागबन्डामा नेतृत्व अघि बढेको भन्दै गत शुक्रबार बूढानीकलण्ठको अनौपचारिक बैठकबाट बाहिरिएका थिए।

कांग्रेसको १३ औं महाधिवेशनमा सभापति देउवा, वरिष्ठ नेता पौडेलसँगै सिटौलाले पनि सभापतिको उम्मेदवारी दिएका थिए। पहिलो चरणमा तीन उम्मेदवारले ५१ प्रतिशत मत नकटाएपछि सिटौला बाहिरिए। दोस्रो चरणमा प्रतिस्पर्धामा उत्रिएका देउवा र पौडेलमध्ये सिटौलाले देउवालाई सघाएका थिए। देउवा सभापति भएपछि सिटौलासँग नजिक भएर काम गर्दै आए पनि संसदीय चुनावपछि उनी देउवासँग रुष्ट छन्।

निर्वाचनमा टिकट बाँड्दा सभापति र वरिष्ठ नेताले भागबन्डामा बाँडेकाले पार्टी पराजित भएको आरोप सिटौलाले पार्टी बैठकमा लगाउने गरेका थिए। देउवाविरुद्ध मोर्चाबन्दीमा सिटौला पौडेलसँगै देखिए। सभापति देउवाविरुद्ध पार्टीमा सबै समूह एक भएका बेला गत महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले मिलेको सन्देश दिएका थिए।

महासमितिलगत्तै सभापति देउवा र वरिष्ठ नेता पौडेलले दिएको डिनरमा सिटौलालाई डाकेका थिएनन्। त्यसपछि रुष्ट सिटौलाले छुट्टै पत्रकार भेट गरेर भागबन्डाभन्दा पनि विधानअनुसार पार्टी चल्नुपर्ने माग गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.