कल्पना तामाङको मुक्तक–संग्रह 'हिउँको आगो' सार्वजनिक
काठमाडौं : कल्पना तामाङ ‘प्रकृति’को मुक्तक–संग्रह 'हिउँको आगो' सार्वजनिक भएको छ। सोमबार राजधानीस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, निर्मोही व्यास, गोविन्द गिरी -प्रेरणा, जीवन खत्री लगायतले संयुक्तरुपमा उक्त कृति विमोचन गरेका हुन्।
कार्यक्रममा बोल्दै वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले कल्पनाको मुक्तकभित्र समाजमा विद्यमान राष्ट्रिय बेथिति, सामाजिक विषमता र अन्य विसंगतिमाथि चित्त दुखाई रहेको बताए। झट्ट हेर्दा सरल देखिएपनि उनको मुक्तकमा सरलताभित्र गम्भीरताको विषय उठाउने काम भएको टिप्पणी गरे।
एक अर्को प्रसंगमा पौडेलले भने -‘विगत ४५ वर्षदेखि हामी साहित्यमा कलम चलाईरहेका छौ, अझै सिक्दै छौँ जस्तो लाग्छ। आफूलाई साहित्यप्रेमीको रुपमा परिचय गराएका छौँ, तर आजको पुस्ता आफूलाई आफैँ विशिष्टता ठान्छन्, सानो भूमिका लेख्ने मौका पायो भने नामको अगाडि वरिष्ठ लेखाउँछन्।’ ‘कस्तो लज्जास्पद परिपाटी आयो, भोली छिमेकी देशमा कसरी मुख देखाउने, सोच्नुपर्दैन ? उनले प्रश्न गरे।’
साहित्यमा विकृति भित्रिएकोप्रति चिन्ता व्यक्त गर्दै गजलकार पौडेलले ताली पाउने रहरले लेखेका गजल, मुक्तक अपाङ्ग हुने भएकाले साहित्यमा स्थापित हुने हो भने मेहनत गर्नुपर्नेमा जोड दिए।
विमोचन कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणा, निर्मोही व्यास, मधुवन साहित्यिक प्रतिष्ठान नेपालका अध्यक्ष जीवन खत्रीलगायतले टिप्पणी गरेका थिए। उनीहरुले रामेछापको माटोमा हुर्किएकी तामाङलाई साहित्यको एक उज्वल नक्षत्रको रुपमा चित्रण गरे।
मुक्तककार कल्पना तामाङ प्रकृतिले हिउँको आगोबाट ६ वटा मुक्तक सुनाएकी थिइन्।
भगवान् कसले बनायो, भूत कसरी बनायो
पुजारीलाई भगवानकाे दूत कसले बनायो
अरु केही नजाने नि यति कुरा जान्न मन छ
समाजमा जातभात छुवाछुत कसले बनायो।
अन्य सहभागीलेसमेत मुक्तक संग्रहभित्र रहेका मुक्तक सुनाएका थिए।
लाखौँ झुप्रा मासेर एउटा दरबार बन्यो
सानो माछा, ठूलो माछाको शिकार बन्यो
हाम्रोतिर त सिटामोल पनि पाइन्न यार
बन्न त मुटु फेर्न सक्ने पनि उपचार बन्यो।
मुक्तककार तामाङले आगामी दिनमा साहित्यिक क्षेत्रमा अझ सशक्त ढंगले लागिपर्ने बताइन्। उनले अग्रज स्रष्टाको प्रेरणाले नै मुक्तक संग्रह प्रकाशनमा ल्याउन सफल भएको धारणा राखिन्।
मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले प्रकाशनमा ल्याएको उक्त संग्रहमा १२० वटा मुक्तक समावेश रहेका छन्।
रामेछाप जिल्ला मन्थली नगरपालिका ४ की तामाङले यस अगाडि पल्लवी रातहरु (संयुक्त मुक्तक संग्रह ), हैसियत ३ (संयुक्त गजल संग्रह), शब्द शिविर (संयुक्त गजल संग्रह) मा आफ्ना रचना प्रकाशित गर्नुका साथै विभिन्न साहित्यिक पत्रपत्रिकामा गजल, मुक्तक, कविता प्रकाशन गरी सकेकी छिन्।



प्रतिक्रिया दिनुहोस !