चोरीका ‘मास्टरमाइन्ड’ समातिए, तीन महिनामा १६ ठाउँमा चोरी
काठमाडौं : शृंखलाबद्ध चोरीका मास्टरमाइन्ट प्रेम सिंह भन्ने चुनाव तामाङ पक्राउ परेका छन्। भक्तपुर क्षेत्रमा मात्रै गिरोह बनाएर तामाङले चोरी गर्दै आएको प्रहरीको दाबी छ। काभ्रे तिमाल गाउँपालिका घर भएका तामाङ कपनमा डेरा गरी बस्दै आए पनि उनले भक्तपुरलाई ‘अपराध क्षेत्र’ बनाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाले गत साता तामाङलाई कपनबाट पक्राउ गरेको हो। तामाङकै योजनामा असोजदेखि मंसिरसम्म मात्रै भक्तपुरका विभिन्न १६ जनाको घरमा चोरी गरेको पाइएको छ। तीन महिनाको बीचमा ६९ लाख ३० हजार सात सय ५० रुपैयाँबराबरको धनमाल चोरी गरेको पीडितले प्रहरीमा खुलाएका छन्।
तामाङको समूहमा काभ्रेको तिामाल गाउँपालिकाका वाङ्देन तामाङ, काभ्रे भुम्लु गाउँपालिकाका विकास भन्ने सुमन लामा, सन्तोष विक र भारत महाराष्ट्र प्रदेश साङ्ली जिल्ला तासगाउँ पानमलेवाडीका सचिन भन्ने वैभव वापुसो भोस्ले थिए। उनीहरू यसअघि नै पक्राउ परी भक्तपुर जिल्ला अदालतको आदेशमा फागुन २ गते पुर्पक्षमा जेल चलान भइसकेका छन्। प्रहरीले उनीहरुविरुद्ध चोरी, डाँका तथा संगठित अपराधमा मुद्दा चलाएको थियो।
तामाङकै योजनामा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको थियो। मंसिर ४ गते घरमा कोही नभएको मौका छोपी तामाङको समूहले २५ लाख रुपैयाँबराबरको धनमाल चोरी गरेर फरार भएको थियो। उनीहरूले असोज ४ गते एकै स्थानमा दुई जनाको घर, असोज १७, असोज २९, कात्तिक २० र मंसिर ४ गते एकएक स्थानमा, मंसिर ९ गते दुई स्थानमा, मंसिर १३ गते एक स्थानमा, मंसिर १६ गते एकै स्थानमा चार जनाको घर र मंसिर २० गते तीन स्थानका चार जनाको घरमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले तामाङलाई पक्राउ गरेपछि गाडीमा राखेर चोरी भएका स्थानमा पुर्याउँदा आफूले चोरी गरेको घर देखाइदिएका थिए। विशेषगरी कोही नभएको मौका छोपी यो गिरोहले चोरी गर्दै आएको थियो।
‘मोटरसाइकलमा दिनभरि रेकी गर्ने र कोही नभएको घर देखेपछि तत्कालै समूह जम्मा भएर चोरी गरेर भाग्ने गरेको देखियो’, महाशाखा प्रमुख एसएसपी सिंहले भने, ‘ताल्चा लगाएको घर देखेपछि बाहिर दुई जना राख्ने र अरू भित्र बसेर १० देखि १५ मिनेटको बीचमा चोरेर भाग्ने गरेको पाइयो।’
समूह पक्राउ गरेपछि भक्तपुर क्षेत्रमा हुने चोरीका घटनामा केही कमी आएको सिंहले जानकारी दिए। तामाङको समूहले पैसा, गरगहनालगायत बहुमूल्य वस्तु मात्रै चोर्दै आएको महाशाखाको भनाइ छ। ‘यो समूहले चोरीपछि सामान बिक्री गरेर आपसमा पैसा बाँड्ने गरेको थियो’, सिंहले भने।
तामाङ यसअघि पनि पटकपटक चोरी घटनामा पक्राउ परेर छुटेका अभियुक्त हुन्।
–कहिले कसको घरमा चोरी ?
२०७५ असोज ४ – नारायणटारका राममणि ढुंगानाको घर
२०७५ असोज ४ – नारायणटारका रामशरण पण्डितको घर
२०७५ असोज १७ – गुण्डुका दीपेन्द्रराज खत्रीको घर
२०७५ असोज २९ – गिरीटोलका प्रकाश गिरीको घर
२०७५ कात्तिक २०– कटुन्जेका कर्णदास श्रेष्ठको घर
२०७५ मंसिर ४ – सिपाडोलकी रजनी जोशीको घर
२०७५ मंसिर ९ – सँगाकी सबिना बस्नेतको घर
२०७५ मंसिर ९– चित्तपोलकी अञ्जना बस्नेतको घर
२०७५ मंसिर १३ – कोलडाँडाका राजु काफ्लेको घर
२०७५ मंसिर १६ – दधिकोटका भीमबहादुर ढकालको घर
२०७५ मंसिर १६ – दधिकोटका कुमार पौडेलको घर
२०७५ मंसिर १६ – दधिकोटका गोकुल पौडेलको घर
२०७५ मंसिर १६ – दधिकोटका अशोक खड्काको घर
२०७५ मंसिर २० – ताथलीकी गंवा सुवालको घर
२०७५ मंसिर २० – गुन्डुकी पुतली खत्रीको घर
२०७५ मंसिर २० – गुन्डुका बलराम थापाको घर
प्रतिक्रिया दिनुहोस !