चुनावमा सेलिब्रिटी : बलिउड अभिनेत्री स्वरा भास्कर कनैया कुमारको पक्षमा !
नयाँदिल्ली : भारतमा अहिले जारी आईपिएल भन्दा पनि धेरै चर्चामा छ लोकसभा चुनाव । र चुनावमा पनि चर्चाको पात्र हुन् कनैया कुमार ।
बिहारको बेगुसरायमा सांसदको उम्मेद्वार बनेका उनले सत्तारुढ भारतीय जनता पार्टीका नेता गिरिराज सिंहलाई हराउन सक्लान् त ? जब कि, सिंह प्रधानमन्त्री नरेन्द्र मोदीका निकटस्थ नेताको रुपमा चिनिन्छन् ।
विद्यार्थी राजनीतिबाट सिधै मूलधारको राजनीतिमा प्रवेश गरेका कनैया कुमारलाई सुभेच्छा प्रकट गर्नेको भने भीड नै छ । नयाँदिल्ली, मुम्बइ लगायत ठूला सहरबाटै थुप्रै युवा कनैयाको चुनावी प्रचारका लागि बेगुसराय पुगेका छन् ।
खासगरी सामाजिक संजालमा उनको विजयका लागि शुभकामना पनि दिएका छन् । यस्तैमा बलिउड अभिनेत्री स्वरा भास्करले कनैया कुमारको खुलेर प्रसंशा गरिन् ।
ट्वीटरमार्फत उनले स्वतन्त्रताको पक्षमा आफू रहेको शंकेत दिँदै लेखेकी छन्, ‘कनैया कुमार एक उत्कृष्ट र सैद्धान्तिक नेता हुन् । जो राम्रो वक्ता पनि हुन् । आशा छ, उनले आफ्नो कला र संवेदनशिलता संसदमा पनि देखाउने छन् । साथै गुमाउनको लागि तिमिसँग सिक्री मात्रै छ, तर पाउनका लागि त सिंगो संसार छ भन्ने कुरा रुपान्तरण गर्न पनि उनले आफ्नो कला प्रयोग गर्ने आशा छ ।’
स्मरणीय के छ भने भारतीय जनता पार्टीलाई मतदान नगर्न जनतालाई संयुक्त रुपमा आग्रह गर्ने ६ सय भन्दा बढी बलिउड कलाकारहरुको सूचीमा स्वरा भास्कर पनि छन् । साथै हालैकाे यस्ताे प्रसंशालाई कनैया कुमारकाे पक्षमा मत मागिदिएकाे रुपमा पनि ब्याख्या भएकाे छ ।