आठाैं राष्ट्रिय खेलकुद : स्क्वासमा बाबु-छोरी, टेनिसमा आमा-छोरी

आठाैं राष्ट्रिय खेलकुद : स्क्वासमा बाबु-छोरी, टेनिसमा आमा-छोरी

काठमाडौं : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म प्रदेश ५ का विभिन्न जिल्लामा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय मान्यतालाई पछ्याउँदै प्रतियोगिताका पाँचवटा खेल भने बुधबारदेखि नै सुरु भएका छन् । आठौं राष्ट्रिय खेलकुदको पहिलो चरणमा लनटेनिस, स्क्वास, पुरुष हकी, टेबलटेनिस र कुस्तीको स्पर्धा सुरु भएको हो ।

पहिलो चरणमा सुरु भएका पाँच खेलमध्ये स्क्वास, लनटेनिस र टेबलटेनिससँग भने रमाइलो प्रसंग जोडिएको छ । यी तीनवटै खेलमा एउटै परिवारका सदस्य पनि प्रतिस्पर्धाका लागि कोर्टमा ओर्लने भएका छन् । एकै परिवारका दुई पुस्ताबीचको घम्साघम्सीले यी खेललाई अझ रोचक बनाउने पक्का छ । अर्को रमाइलो संयोग के भने, स्क्वास र लनटेनिस खेलमा सहभागी हुने परिवारका सदस्य एउटै प्रदेशबाट छनोट भएर राष्ट्रिय प्रतियोगिता खेल्न आएका हुन् ।

स्क्वासमा गण्डकी प्रदेशबाट बाबु र छोरी सहभागी भएका छन् । बाबु सन्तोष घिमिरे र छोरी सालिनी घिमिरे जिल्ला र प्रदेशस्तरीय छनोट चरण पार गर्दै बृहत् राष्ट्रिय खेलकुदसम्म पुगेका हुन् । सन्तोष राष्ट्रिय खेलकुदका लागि छनोट हुने कास्कीका एकमात्र पुरुष स्क्वास खेलाडी पनि हुन् । ‘राष्ट्रिय खेलकुद देशको सबैभन्दा ठूलो प्रतियोगिता हो । बाबु÷छोरीले एकैसाथ यो प्रतियोगिता खेल्ने अवसर पाउनु हाम्रा लागि निकै ठूलो उपलब्धि हो’, ४३ वर्षीय सन्तोषले अन्नपूर्णसँग भने ।

राष्ट्रिय खेलकुदमा छनोट हुन आफूहरूले निकै कठिन परि श्रम गरेको उनी बताउँछन् । ‘राष्ट्रिय प्रतियोगितामा छनोट हुन हामी बाबु÷छोरीले निकै मेहनत गरेका छौं । जिल्ला र प्रदेशस्तरीय छनोट प्रतियोगितामा थुप्रै प्रतिद्वन्द्वीलाई हराएर हामी यो स्थानसम्म आइपुगेका हौं’, आफ्नै व्यवसायमा सक्रिय सन्तोष भन्छन् । पोखरा न्युरोडका सन्तोष विगत १७ वर्षदेखि स्क्वास खेलमा सक्रिय छन् । तर, उनले राष्ट्रिय खेलकुद खेल्ने अवसर पाएको भने यो पहिलो पटक हो । संयोग पनि कस्तो, निरन्तरको प्रयासपछि आफूमात्र होइन्, १६ वर्षीया छोरी सालिनी पनि एकैपटक राष्ट्रिय खेलकुदमा छनोट भइन । २०७३ सालमा पूर्वाञ्चलका विभिन्न जिल्लामा सातौं राष्ट्रिय खेलकुद हुँदा उनी खेलाडी नभई व्यवस्थापकको भूमिकामा सहभागी भएका थिए ।

‘कुनै पनि क्षेत्रमा अघि बढ्न उमेर बाधक बन्दैन । परि श्रमसँग डराउनेहरूका लागि उमेर बहाना मात्र हो । लगातार १७ वर्षको परि श्रमपछि मैले बृहत् राष्ट्रिय खेलकुद खेल्ने सपना पूरा गरेको छु’, उनी भन्छन् । राष्ट्रिय खेलकुदमा आफूभन्दा निकै दिग्गज खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने भए पनि आत्मविश्वास बलियो रहेको उनी बताउँछन् । ‘ठूला प्रतियोगितामा सहभागी हुने सबैले पदक जित्दैनन् । जिल्ला र प्रदेशभन्दा राष्ट्रिय खेलकुदमा प्रतिद्वन्द्वी पनि निकै बलिया छन् । त्यै पनि हिम्मत भने हारेका छैनौं’, उनी भन्छन् ।

सेन्टमेरिज स्कुलमा कक्षा ११ मा अध्ययनरत सालिनी पनि बुवाकै प्रेरणाले आफू खेलकुदमा लागेको बताउँछिन् । ‘म जन्मनुभन्दा पनि अघिदेखि नै बुवा यो खेलमा सक्रिय हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले म यो खेलमा लागेकी हुँ’, सालिनी भन्छिन्, ‘खेलकुदमा लाग्न बुबा र आमा (ईश्वरी घिमिरे) दुवैले सधैं प्रोत्साहन गर्नुहुन्छ ।’

खेलकुदमा लागे छोराछोरी बिग्रिन्छन् भन्ने पुरानो मान्यतामा क्रमशः परिवर्तन आउँदै गएको सन्तोषको बुझाइ छ । ‘समय परिवर्तन भएको छ । पछिल्लो समय खेलकुदमा नाम र दाम दुवै छ । अहिले हरेक शिक्षित अभिभावकले आफ्ना छोराछोरीलाई खेलकुदमा लाग्न प्रेरित गर्छन्’, उनी भन्छन्, ‘अब देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने नयाँ पुस्ताले नै हो ।’

आठौं राष्ट्रिय खेलकुद खेल्न गण्डकी प्रदेशबाटै छनोट भएका आमा—छोरीको कथा पनि उस्तै रोचक छ । ४५ वर्षीया आमा विमला बस्याल र २० वर्षीया छोरी सुप्रिया बस्याल दुवैजना जिल्ला र प्रदेशस्तरीय छनोट पार गर्दै राष्ट्रिय खेलकुदसम्म पुगेका हुन् । अझ उनीहरूको त परिवार नै टेनिसमय छ । सुप्रियाका बाबु विमल बस्याल र दिदी सिल्भिया बस्याल पनि टेनिस खेलाडी हुन् । तर, विभिन्न कारणले गर्दा यसपटक विमल र सिल्भियाले भने राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियोगिता खेल्ने अवसर पाएनन् । बस्याल परिवारले त टेनिस खेल्न घरमै कोर्ट पनि बनाएको छ । राष्ट्रिय खेलकुदमा विमला र सुप्रियाले महिला डबल्स र मिक्स डबल्स स्पर्धामा भाग लिएका छन् ।

राष्ट्रिय खेलकुदका लागि आफूहरूले तीन महिनादेखि तयारी गरेको विमला बताउँछिन् । उनले यसअघि पाँचौं र छैटौं राष्ट्रिय खेलकुद पनि खेलेकी थिइन् । ‘छोरीसँगै राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको छ । छनोट प्रतियोगितामा स्तरीय प्रदर्शन गरेका थियौं । राष्ट्रिय खेलकुदमा त्योभन्दा पनि राम्रो प्रदर्शन गर्ने विश्वास छ’, विमला भन्छिन् ।

यसैगरी स्क्वासमा गण्डकी प्रदेशबाटै दिदी र भाइले पनि प्रतिस्पर्धा गर्दैछन् । २४ वर्षीया दिदी कृष्णा थापामगर र २२ वर्षीया भाइ अमृत थापामगर दुवैजना राष्ट्रिय वरीयताको दोस्रो स्थानमा रहेका खेलाडी हुन् । यी दिदी र भाइबाट गण्डकी प्रदेशले यसपटक स्वर्ण पदककै आशा गरेको छ । ‘हाम्रो तयारी राम्रो छ । प्रदेश नम्बर ३ हाम्रा लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो’, अमृत भन्छन् । अमृत र कृष्णाका बाबु हीरा थापामगर पनि आफ्नो समयका चर्चित खेलाडी हुन् । उनले स्क्वासको राष्ट्रिय प्रतियोगितामा लामो समय एकक्षत्र राज गरेका थिए । हाल उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् ।

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत नै बुधबारदेखि दाङमा सुरु भएको टेबलटेनिसमा पनि अर्को रोचक प्रसंग जोडिएको छ । टेबलटेनिसमा हजुरबुवा र नातिनीले एकैसाथ राष्ट्रिय प्रतियोगिता खेल्दैछन् । ६७ वर्षीय गोबद्र्धन श्रेष्ठ र उनकी आठ वर्षीया नातिनी शुभ श्री श्रेष्ठ विभागीय टोली नेपाल पुलिस क्लबको तर्फबाट प्रतियोगितामा सहभागी भएका हुन् । सम्भवतः आठौं खेलकुदमा गोवद्र्धन सबैभन्दा बढी र शुभ श्री सबैभन्दा कम उमेरका खेलाडी हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.