२०७५ ले जन्माएका नायिका

२०७५ ले जन्माएका नायिका

काठमाडौं : यो वर्ष रिलिज भएका झन्डै ८० फिल्मबाट नेपाली रजतपटमा दर्जनभन्दा बढी आशलाग्दा नायिकाको प्रवेश भएको छ। स्थापित नायक लियो भने नायिका नयाँ लिने र स्थापित नायिका लियो भने नायक नयाँ लिने ट्रेन्ड यसपालि धेरै देखियो। प्राय:जसो निर्माता निर्देशकले आफ्नो फिल्ममा एउटी नयाँ युवती डेब्यु गराउने परिपाटी पनि धेरै देखियो। यसले गर्दा धेरै युवती डेब्यु फिल्ममा नै सीमित हुने गरेका छन्। थोरै मात्र भाग्यमानी नायिका छन् जसले उद्योगमा स्थापित हुने अवसर पाउँछन्।

यो वर्षको अन्तिम साता प्र्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर–३’बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका सुहाना थापाको चर्चा अहिले सिने नगरीमा निकै छ। फिल्मको गीत र ट्रेलरबाटै उनलाई स्टारका रूपमा हेर्न थालिएको छ। अनमोल केसीको पेयरका रूपमा देखिएकी उनी नायिका तथा निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकी छोरी हुन्।

स्टार किड रजतपटमा आउने सिलसिलालाई निरन्तरता दिँदै आएकी उनी यो फिल्मको परिणामपछि यो क्षेत्रमा निरन्तरता दिने कि नदिने भन्ने निर्णय गर्ने बताउँछिन्। लभस्टोरी जनराको फिल्मबाट आएकी उनी विदेश पढेर फर्केकी हुन्।

यस्तै भुवन केसीले निर्माण गरेको पछिल्लो फिल्म ‘क्याप्टेन’बाट दुई युवती उद्योगमा प्रवेश गरेका छन्। उपासना सिंह ठकुरी र प्रियंका एमभीलाई भुवनले आफ्नै छोरा अनमोल केसीको अपोजिटमा डेब्यु गराएका हुन्। फिल्मले अपेक्षाकृत प्रशंसा बटुल्न नसके पनि भुवनको खोजलाई सम्भावना बोकेकी नायिकाका रूपमा हेरिएको छ।

 

क्याप्टेन रिलिज भएपछि उपासनालाई ‘कबड्डी ३’ र अर्को एक अनाम फिल्मबाट अफर गरिएको छ। एमबीए पढिरहेकी प्रियंकालाई भुवनले सामाजिक सञ्जालमा तस्बिर हेरेर क्याप्टेनका लागि अफर गरेका थिए। अभिनयको प्रशिक्षणपछि उनी छायांकनमा उत्रेकी थिइन्।

फिल्म द ब्रेकअपमार्फत रजतपटमा देखिएकी शिल्पा मास्केले सुरुमा म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्। द ब्रेकअपभन्दा पहिले नै शिल्पाले ‘कागजपत्र’ नामक फिल्ममा अभिनय गरे पनि प्रदर्शनको हिसाबले उनको डेब्यु फिल्म यही बन्यो। शिल्पाले क्रमश: फिल्म पाउन थालेकी छन्। अहिले उनी नयाँ फिल्म ‘सानो मन’मा व्यस्त छिन्।

मंसिर ७ बाट प्रदर्शनमा आएको फिल्म ‘ड्रिम गर्ल’बाट डेब्यु गरेकी आश्मा गिरी सौन्दर्य प्रतियोगिताबाट ग्ल्यामर उद्योगमा प्रवेश गरेकी हुन्। कोरियोग्राफर गम्भीर विष्टसँग नृत्य सिक्दै गर्दा उनी फिल्म ‘ड्रिम गर्ल’सम्म पुगेकी हुन्। फिल्म हिट नभए पनि आश्माको अभिनय भने रुचाइएको थियो।

फिल्म ‘रणवीर’मार्फत रजतपटमा दुई नायिका भित्रिए। सुपुष्पा भट्ट र शुभेच्छा खड्काले यो फिल्मबाट आफूलाई ग्ल्यामर उद्योगमा स्थापित गराउने प्रयास गरे। चार्टर्ड एकाउन्टेन्टकी विद्यार्थी सुपुष्पा अडिसन दिएर फिल्ममा छनोट भएकी हुन्। उनी सानैदेखि फिल्ममा रुचि राख्थिन्। यस्तै शुभेच्छा सुन्दरी प्रतियोगिताबाट ग्ल्यामर उद्योगमा प्रवेश गरेकी हुन्। उनी भीजे, मोडल हुँदै फिल्ममा आइपुगेकी हुन्। शुभेच्छाले सन् २०१२ को मिस इन्टरनेसनल नेपालको टाइटल जितेकी थिइन्।

निर्देशक तथा नायक विश्व बस्नेतकी छोरी निरिसा बस्नेत फिल्म ‘जानी नजानी’बाट रजटपटमा उदाएकी हुन्। चैत १ बाट प्रदर्शनमा आएको यो फिल्म खेल्नुअघि उनी मुम्बईमा थिइन्। निरिशाले हिन्दी सिरियल ‘चन्द्रा नन्दिनी’मा अभिनय गरेकी छन्। म्यानेजमेन्टमा स्नातक निरिशाले मिस टुरिजम क्विन नेपाल टाइटल जितेकी थिइन्।

चैत २९ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’बाट रजतपटमा डेब्यु गरेकी मालिका महतले सलिनमान बानियाँसँग स्क्रिन सेयर गरेकी छन्। फिल्ममा उनी दृष्टिविहीन युवतीको भूमिकामा छिन्।

फिल्मका लागि उनले टुंगना बजाउन सिकेकी थिइन्। माघ १८ बाट प्रदर्शनमा आएको फिल्म सयकडा दसबाट रजतपटमा डेब्यु गरेकी नायिका करुणा श्रेष्ठ मिस कलेज २०१२ की विजेता हुन्। विज्ञापन, म्युजिक भिडियो अभिनयसहित फिल्ममा आएकी उनी टेलिभिजन कार्यक्रम सञ्चालन पनि गर्थिन्।

नायिका रेखा थापाको खोजका रूपमा आएकी कमला वली जाजरकोटवासी हुन्। फिल्म र अभिनयका बारेमा केही पनि जानकारी नभएकी उनी फिल्म ‘मालिका’मार्फत रजतपटमा देखिएकी हुन्। १५ वर्षीया कमलाले बालविवाहविरुद्ध आवाज उठाएकी छन्। यस्तै असोज १२ बाट प्रदर्शनमा आएको फिल्म ‘छिरिङ’बाट कामना भुजेलले डेब्यु गरेकी छन्।

गायक यस कुमारसँग फिल्ममा आएकी उनी दोस्रो फिल्ममा भने देखिएकी छैनन्। अप्सना थापा फिल्म चोखो मायामा देखिइन्। सबिन श्रेष्ठसँग देखिएकी उनी ‘रुमालै छ चिनो’मा पनि देखिएकी छन्। फिल्म बबीबाट कविता गुरुङ उदाएकी हुन्। यसको सिक्वेल पनि घोषणा भइसकेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.