लजालु स्वभावको रेड पान्डा

लजालु स्वभावको रेड पान्डा

जाजरकोट : रेड पान्डा अर्थात् हाब्रे एक सुन्दर प्राणी हो। यो निकै लजालु स्वभावको हुन्छ। रूखको हाँगामा सुत्ने यो जनावरले एकान्त जंगल मन पराउँछ। रातो पान्डाको मुख्य आहार निगालोको टुसा र कलिलो पात हो। ऐलुरस फल्जेन्स वैज्ञानिक नामले परिचित यो जनावरका दुई उपप्रजाति छन्। तीमध्ये नेपालमा पाइने उपप्रजाति एलुरस फल्जेन्स फल्जेन्स हो। हाबे्रलाई ठाउँअनुसार रातो पाण्डा, पुडे कुदो, वाह, होप, होपरोक्पा, होपदोगाँ, हाब्रे, निगाले पोन्यो आदि नामले चिनिन्छ।

उपयुक्त हावापानी भएको जाजरकोट संकटापन्न वन्यजन्तु रेड पान्डाको मुख्य बासस्थान हो। विश्वकै दुर्लभ रेड पान्डा जाजरकोटको बारेकोट गाउँपालिकाको नायकवाडा, रोकायगाउँ, सक्ला, रामीडाँडाको केही उच्च पहाडी जंगलमा पाइन्छ। यो जनावर कुशे गाउँपालिकाको पैंक, अर्छानी लगायतका उच्च पहाडी जंगलमा भेटिने गरेको प्रकृति संरक्षण अभियान नेपालका अनुसन्धानकर्ता बद्री बरालले जानकारी दिए। डोल्पाको मुड्केचुला गाउँपालिकाको सर्मी तथा नर्कुका जंगलमा पनि पाइने भएको हुँदा जाजरकोटको नलगाड नगरपालिकाको रग्दा र भगवतीका उच्च पहाडी जंगलमा पनि रेड पान्डाको बास स्थान हुन सक्ने अनुमान बरालको छ।

नेपाल, भारत, चीन, भुटान र म्यानमार गरी विश्वका पाँचवटा देशमा मात्र रेड पान्डा पाइन्छ। यी पाँच देशको ७० हजार वर्गकिलोमिटर क्षेत्रफलको प्राकृतिक बासस्थानमा रातो पान्डाको संख्या १६ हजार देखि २० हजारसम्म भएको अनुमान गरिएको छ। रेड पान्डा नेटवर्कले गरेको जेनेटिक्स अध्ययनको तथ्यांकले नेपालमा रेड पान्डाको संख्या करिब पाँच सय मात्र रहेको देखाएको छ। जिल्लाको बारेकोट र कुशे गाउँपालिकाका विभिन्न जंगलमा गरिएको जेनेटिक्स अध्ययन तथ्यांकका अनुसार जाजरकोटमा ५५ वटा रेड पान्डा छन्। रेड पान्डा हाल नेपालका २४ जिल्लामा पाइने अध्ययनले देखाएको छ।

विश्व वन्यजन्तु संरक्षण संघले हाब्रेलाई संकटापन्न प्राणीको समूहमा सूचीकृत गरिएको छ। दुलर्भ वन्यजन्तु तथा वनस्पति अन्तर्राष्ट्रिय व्यापार महासन्धिले यस जनावरलाई अनुसूची–१ मा राखी यसको गैरकानुनी ओसारपसार गर्न बन्देज लगाएको छ।

यसलाई सन्तुलित पारिस्थितिकीय प्रणालीको सूचक मानिन्छ। हाब्रे वैज्ञानिक अध्ययनको दृष्टिले पनि अति महत्त्वपूर्ण जनावर हो। स्तनधारी जनावार हाब्रे अति लजालु तथा मनमोहक स्वभावको हुन्छ। यो बिहान र बेलुकीको समयमा धेरै क्रियाशील हुने गर्छ। जाजरकोटका साथै हाब्रे पश्चिम नेपालको मुगु जिल्लाको नाम्लुङ उपत्यकादेखि पूर्वी नेपालको ताप्लेजुङ पाँचथर, इलाम, संखुवासभा साथै नेपालका नौवटा संरक्षित क्षेत्र रारा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, कञ्जनजंघा संरक्षण क्षेत्र र ढोरपाटन सिकार आरक्षण र हिमाली भेगका राष्ट्रिय एवं सामुदायिक वनहरूमा पनि पाइने गर्छ।

रातो पान्डा समशीतोष्ण हावापानीमा पाइने निगालो प्रजाति पर्याप्त रहेको चौडापाते पतझर र कोणधारी वनहरूमा पाइने गर्छ। हाब्रे करिब २२ सय मिटरदेखि ४८ सय मिटरको उचाइसम्म १० देखि २५ डिग्री तापक्रमसम्म औसत वार्षिक वर्षा तीन सय ५० मिलिमिटर भएको उच्च भेगका जंगलमा बस्न रुचाउँछ।

विभिन्न मानवीय तथा प्राकृतिक प्रकोपका कारण यस जनावरको बासस्थानको विनाश भइरहेको छ। त्यसैगरी खण्डीकरण, अव्यवस्थित चरीचरनको चाप, जथाभावी जडीबुटी संकलन, पासो तथा धराप थाप्ने क्रियाकलाप, घरपालुवा कुकुरहरूको आक्रमण, बासस्थानमा डढेलो लाग्नु÷लगाउनु र विकास निर्माणका कामले यसको अस्तित्व संकटमा परेको छ। यसको प्रत्यक्ष असरस्वरूप हाब्रेको संख्या दिनानुदिन घट्दै गएको विज्ञहरू बताउँछन्।

संकटापन्न संवेदनशील प्रजातिका रूपमा रहेको रेड पान्डाको चोरी सिकारी दैनिक रूपमा हुने गरेको छ। एकातिर भोजपत्र, निगालो लगायतका वनजंगल विनाश गर्ने क्रम पनि बढेको छ भने रेड पान्डाको चोरी सिकार पनि त्यत्तिकै हुने गरेको छ। रेड पान्डाको मासु खाइन्छ। यसको छाला र हड्डी अन्तर्राष्ट्रिय बजारमा निकै महँगो मूल्यमा बिक्री हुन्छ भन्ने भ्रममा परेर चोरी सिकार हुने गरेको वरिष्ठ वन्यजन्तुविज्ञ तथा प्राध्यापक करन शाहले बताए।

जाजरकोटमा रेड पान्डा संरक्षणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न पहल गरिए पनि प्रभावकारी हुन नसकेको वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए। रेड पान्डाको बासस्थान सुरक्षित गरी रेड पान्डा जोगाउन सके यसको अध्ययन तथा अनुसन्धानका लागि विदेशी पर्यटकसमेत यहाँ आउने र पर्यटन विकासमा समेत टेवा पुग्ने विज्ञहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.