राजविराजको मुख्य बजारमा आगलागी, ७ पसल जलेर खरानी
![राजविराजको मुख्य बजारमा आगलागी, ७ पसल जलेर खरानी](https://annapurnapost.prixacdn.net/media/albums/rajbiraj-fire_20190417091835_iRXaDtT4Ld.jpg)
राजविराज : राजविराजस्थित मुख्य बजार क्षेत्रमा बुधबार भीषण आगलागी भएको छ।
राजविराज नगरपालिका ४ को मुख्य बजार क्षेत्रमा बिहान भएको भीषण आगलागीमा सातवटा पसल जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
आगलागीबाट सहिद दशन चोकमा रहेको पशुपति रेडिमेड स्टोर, शौरभ शितल महल, श्री पशुपति होटल, अमृत बैष्णव होटल, विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर र चौधरी सिको टाइम पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगलागीबाट भवनाथ देवले सञ्चालन गरेको रेडिमेड कपडा रहेको पशुपति स्टोर जलेर ध्वस्त हुँदा उनको मात्र १४ लाख रुपैयाँ भन्दा बढीका कपडा नष्ट भएको छ। स्टोरसँगै रहेको शौरभ शितल महलको मदिरा तथा अन्य पेय पदार्थ नष्ट हुँदा करिब साढे तीन लाख रुपैयाँ बराबर नोक्सानी भएको सञ्चालक विनोदकुमार साहले जानकारी दिए।
आगलागीबाट पशुपति होटलको चार लाख, अमृत बैष्णव होटलको १० लाख, विशाल मोबाइल सेन्टरको दुई लाख, पशुपति कोल्ड स्टोरको ६ लाख र चौधरी सिको टाइमको ५० हजार मूल्य बराबरको सामग्री नष्ट भएको पसलेहरूले बताएका छन्। आगलागीबाट पसल रहेको भवनमा क्षति पुगेको छ।
बिजुलीको लाइन सर्ट भई पशुपति स्टोरबाट आगलागी सुरु भएको होटलका सञ्चालक सन्तोषकुमार साहले बताए। स्थानीय प्रमोद साहका अनुसार पसल राखिएका घरमा मानिस नबस्ने भएकोले पसल सञ्चालकहरू घटनस्थल पुग्दा बारुणयन्त्रले आगो नियन्त्रणमा लिइसकेको थियो।
गस्तीमा रहेका प्रहरीहरूले आगो लागेको देखेपछि बारुणयन्त्रलाई खबर गरेका थिए। आगो नियन्त्रणमा लिन राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्रलाई तीन घण्टा लागेको थियो।
सघन रुपमा घर र पसलहरू रहेको राजविराजको मुख्य बजारमा मध्यरात अचानक आगलागी भएपछि बजारका बासिन्दा त्रसित भएका छन्। एकापसमा जोडिएर रहेका पसलहरूमा लागेको आगोलाई सावधानीपूर्वक नियन्त्रणमा लिन सफल भएकाले राजविराजमा हुनसक्ने सम्भावित ठूलो दुर्घटनाबाट जोगिन पुगेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)