ओबामा र नेपाली युवा पुस्ता

ओबामा र नेपाली युवा पुस्ता

अमेरिका स्वयंमा स्वर्ग होइन। कर्मठ जनताको वर्षौको मेहनतले नै स्वर्ग बनेको हो।


सेवानिवृत्तपछिको मेरो जीवन प्रशस्त फुर्सदिलो नै रह्यो। पत्रकारदेखि मित्रहरूसमेत ‘आजभोलि के गरेर समय बिताउने गर्नुभएको छ भनेर बारम्बार सोध्ने गर्छन्। मलाई बाहिर हिँडडुल गर्नुभन्दा बरु घरमै बसी लेखपढ गर्ने रुचि छ। मैले यसअघि नै केही पुस्तक भेला पारेकी थिएँ फर्सदमा पढ्न हुन्छ भनेर। ती पुस्तक विशेषतः विश्वका चर्चित राजनीतिक विद्वान्, समाजसेवी, धर्मावलम्बी आादिका जीवनी मूलभूत हुन्। आजभोलि तिनै पुस्तक पढ्ने गर्छु।

वास्तवमा महान् प्रतिभा भएका व्यक्तित्वहरूको जीवन पढ्दा एउटा आनन्द प्राप्त हुन्छ। हालै मैले अमेरिकाका पूर्वराष्ट्रपति बाराक हुसेन ओबामाको जीवनी दोहोर्याएर पढें। त्यसो त, काला जातकी दासी आमा र गोरा जातका बाबुबाट जन्मेका अर्का पूर्वराष्ट्रपति बुकर टी वासिङटनको जीवनीबारेमा हामीलाई पढाइन्थ्यो सानै हुँदा। उनको जीवनीले मलाई अत्यन्त प्रभावित पारेको थियो। अहिले पनि ती कुरा स्मरणमा छन्। उनी एउटी दासी महिलाका सन्तान थिए। स्वयं आफू दास भएकोमा उनलाई दासमुक्त हुने घोषणापछि मुक्ति दिइयो। उनी पछि अमेरिकाको राष्ट्रपति बन्न सफल भए। उनी सानो हुँदा उनकी माता र झड्केलो पिताले जंगलबाट काठ–दाउरा ल्याई ओत लाग्ने सानो झुप्रो निर्माण गरेका थिए। सम्भवतः त्यो घर अहिले पनि सुरक्षित छ।

ओबामा स्वयंले लेखेको मेरा पिताको सपना उनको जीवनी आफ्नै शब्दमा भन्ने पुस्तक आम नेपाली युवाले पढ्न आवश्यक छ। किनकि, हाम्रा आम युवाका सपना आजभोलि अमेरिकामा पढ्न जानु र त्यहीं स्थापित हुनु हो। उनको सो आत्मकथा पढ्दा कैयन् स्थानमा उनले गरेको एक्लो संघर्षले मन छुन्छ। तसर्थ यसबारेमा केही लेख्न गइरहेकी छु।

सन् १९६१ को चार अगस्तमा जन्मिएका बाराक ओबामा मध्यमवर्गीय परिवारका सन्तान हुन्। उनले आत्मनिर्भर बन्दै व्यक्तित्व विकास गरे। फलस्वरूप सन् २००९ मा उनी अमेरिकाको चौवालीसौं राष्ट्रपति बन्न सफल भए। आफ्नो भावी जीवनको लक्ष्य ओबामा आफैंले कोरेको देख्न सकिन्छ। उनका पिता केनियाली नागरिक थिए, जो अमेरिकामा पढ्न आउँदा उनको आमासँग भेट भई प्रेम सम्बन्ध कायम हुन गएको थियो। बाराक ओबामाकी आमा अमेरिकी नागरिक थिइन् र उनी एउटा सेवानिवृत्त सेनाकी एक मात्र सन्तान थिइन्। ओबामाका पिता अर्थशास्त्रमा डाक्टर पदवी हाँसिल गरी केनियाको सरकारी सेवाका उच्च पदाधिकारी बन्न सफल भएका थिए।

ओबामा अमेरिकामा जन्मिएको केही वर्षपछि केनियामै फर्किए र त्यहीं स्थापित भए। तत्कालीन समयमा केनियाली जनताको सोच नेपालको जस्तै परम्परावादी र संकीर्ण रहेछ। किनकि, ओबामाका केनियाली बाजेले मावली बाजे स्ट्यानले आर्मर ड्रनहामलाई पत्र लेखेछन्– म मेरो परिवारको रगतमा गोरा जातिको रगत मिसाउन चाहन्न। तपाईंकी छोरीसँग मेरो छोराको बिहेबारी म स्विकार्दिनँ।

पूर्वराष्ट्रपति बाराक ओबामाले भनेअनुसार सन् १९६३ मा उनका पिता उनलाई भेट गर्न हवाई आएका थिए, जुन बेला उनी मात्र दुई वर्षका थिए। तसर्थ त्यो भेटबारे उनलाई स्मरण हुने कुरै आएन। ओबामा भन्छन्– मेरा पिता उनको मृत्युका बेला मेरानिम्ति कल्पनासम्म थियो उनलाई पिताबारेमा जेजति जानकारी थियो, त्यो कि त उनकी आमा वा मावली बज्यैबाटै सुनेको सम्म थियो। ओबामाका पिताको देहावसान उनी एक्काइस वर्षको हुँदा केनियामै एक दुर्घटनामा परी भएको थियो। जुन बेला उनी जीवनको लक्ष्य प्राप्तिका निम्ति न्युयोर्कको म्यानहटनमा कठोर संघर्ष गरिरहेका थिए। म्यानहटन सहरमा उनका परिचित पाकिस्तानी मित्र सादिकसँगै बस्न उनी हवाई भन्ने सहरबाट आएका थिए। उनी आएको राति उनका मित्र सम्भवतः कुनै होटलमा रात्रिकालीन सेवामा व्यस्त थिए। उनी सादिकको कोठा भएको भवनअगाडि आफ्नो सुटकेसका साथ रात बिताएका थिए जसरी आबास र ठेगाना नभएका मानिसले सडकमा रात गुजारेजस्तो। त्यसैबीच उनी आफूसँग रहेको पिता बाराक ओबामा प्रथमले पठाएको पत्र झिकेर पढ्छन्। त्यसबेला उनी मनमनै भन्छन्– मेराबारेमा कुनै निजी चिन्तन छैन मेरो जीवनबारेमा म भविष्यमा के गर्दै छु, मलाई थाहा छैन। कहाँसम्म भने, अब म कहाँ बस्ने हो, त्यो सम्बन्धमा पनि मलाई यकिन छैन। म हवाई भन्ने स्थानबाट बाहिरिएँ भने फेरि त्यहाँ फर्केर स्थापित हुन सम्भव छैन। त्यहाँ बसोवास गर्ने कल्पना पनि गर्न सक्दिनँ।

हो, त्यहाँ मैले बाल्यकाल बिताएका स्मरण मसँग छन्। मैले मेरा पिता बाराक हुसेन ओबामा हुसेनसँग भेट गरें भने उनले मलाई भन्नेछन्– अब तिम्रोनिम्ति अफ्रिकाको केनियामा बसोवास गर्ने भन्ने कुरा ढिलो भइसकेको छ। फेरि म जन्मस्थानले गर्दा काला जातिका अमेरिकी नागरिकका रूपमा यहाँ दर्ता भइसकेको पनि छु। ओबामा भन्छन्– म काला जातका अमेरिकी नागकिका रूपमा यहाँ दर्ता भइसकेको पनि छ। ओबामा भन्छन्– म काला जातिको समुदायनिम्ति केही काम गर्नका लागि र तिनका हितनिम्ति नेतृत्व गर्न यहीं पनि आवश्यक छ। वास्तवमा ओबामा मावली बाजेबज्यैसँग बसी हुर्किएका थिए। उनले सोह्र वर्षपछि नै सानातिना काम सुरु गरी आफ्नो गर्जो टारेको देखिन्छ।

ओबामाका मातापिताको सम्बन्ध–विच्छेदपछि उनकी आमा स्टयानले ऐनको इन्डोनोसियाली मित्र लोलो सोइरोटोसँग मार्च १५ सन् १९६५ मा दोस्रो विवाह हुन्छ। आफ्नी आमासँग उनी सन् १९६६ मा पाँच वर्षको हुँदा इन्डोनेसियाको सौतेनी बाबुका घरमा पुग्छन्। बाल्यकालमा इन्डोनेसियामा हुँदा सहरभित्रका इन्डोनेसियाली युवाहरू त्यहाँको जातीय भेदभाव, गरिबी र भ्रष्टाचारविरुद्ध आक्रोशित भएको अभिव्यक्ति उनीबाट लिखित पुस्तकमा पढ्न पाइन्छ।

ओबामाको जीवनी पढ्दा युवा वर्गमा एउटै सन्देश प्रवाह हुन्छ– तपाईं हामी जहाँ जन्मौं, परिश्रम नगरी लक्ष्य प्राप्त हुँदैन। मुलुक बनाउने पनि युवा नै हुन्।

ओबामा सन् १९७१ मा पुनः हवाईमै फर्किन्छन् र युवावस्थासम्म मावली बाजेबज्यैसँग बसेर शिक्षा हाँसिल गर्छन्। तथापि, उनको मावली बाजेबज्यैको आर्थिक अवस्था कमजोर नै देखिन्छ। होनोबुबुमा सञ्चालित बाजेको काठ फर्निचर पसल त्यति चल्ती भएको थिएन। बज्यै नोकरी सेवा गर्थिन्। ओबामाको जीवनबारेमा मूल्यांकन गर्दा पिता केनियाली, माता अमेरिकी, झड्केलो पिता इन्डोनेसियाली हुन्। यिनैबीचमा उनको जीवनको सेरोफेरो घुमिरहेको पाइन्छ। केनियामा उनका छ–सातजना सौतेनी भाइबहिनी छन् र इन्डोनेसियामा एक झड्केली बहिनी छ। तथापि पृष्ठ ११५ मा बाबुको तर्फबाट उनको खोजखबर नहुँदा केही आक्रोशजस्तो अभिव्यक्ति पोखिएको पाइन्छ। तर जुन परिस्थितिमा उनी हुर्किए र उनले आफ्ना लागि संघर्ष गरे, त्यसका अलावा पनि उनले सौतेनी भाइबहिनीका परिवार र झड्केलो परिवारसँग उनको जुन सुमधुर सम्बन्ध र मित्रवत् व्यवहार छ, त्यो सराहनीय छ।

ओबामालाई बाल्यकालमा उनका झड्केलो पिता र मावली बाजेबज्यैले हेरविचार गरेको पाइन्छ। जब युवा भए उनले आफ्नो जीवनको मार्गप्रशस्त स्वयं गरेको देखिन्छ। उनको सिंगो पुस्तक पढ्दा युवाबाट राष्ट्रपति बन्दासम्म ओबामाले कसैको सहयोगमा नभई आफ्नो जीवन लक्ष्य आफैंले निर्धारण गरेको पाइन्छ।

ओबामाले अमेरिकामा बसोवास गर्ने काला जाति पिछडिएका छन्, तिरष्कृत छन् र विकासको मूलधारमा सबै पर्न सकेका छैनन्। त्यसको कारण उनीहरूका बीचमै आपसी सद्भाव र संगठित नहुनु भन्ने महसुस गरेको देखिन्छ। उनी अभिव्यक्त गर्छन्– सिंगो काला जाति समुदायको उन्नतिमा उनीहरूै गम्भीर चिन्तन नरहनु पनि एक कारण हो। ओबामा एक्काईस वर्षमा स्नातकको पढाइ सकिएपछि हवाईबाट काला जातका सामुदायिक सेवा र संगठननिम्ति भनेर न्युयोर्क आउँछन्। उनको म्यानहटनको बसाइको लक्ष्य त्यही थियो। उनी चर्चमार्फत सामुदायिक सेवा सञ्चालन र काला जाति तथा हिपानिकहरूको संगठन गर्न चाहन्छन्। उनी यी पिछडिएको समाजमा एउटा जागरण र संगठनात्मक एकता ल्याउन चाहन्छन् र यसैनिम्ति संगठन गर्न चाहन्छन्। यसै लक्ष्यनिम्ति दुई वर्षसम्म सिकागोमा भौंतारिन्छन्। उनलाई अनन्य मित्रहरूले सल्लाह दिएका हुन्छन् निजी व्यक्तित्व विकास गर्न र पैसा कमाउन। उनका ती मित्र भन्छन्– छोड यो फजुल कुरामा नलाग। राम्रो आवाज छ बरु रेडियो टेलिभिजनमा काम गर। आफ्नानिम्ति पैसा कमाऊ र राम्रो जीवन व्यतीत गर।

तर उनको मनले मानेन। उनलाई थाहा थियो– सामुदायिक सेवामा पैसा हुन्न। जसले त्यस योजनानिम्ति सिकागोमा पैसा लगानी गर्नु भनेको थियो उसको बारेमा ओबामा भन्छन्– उनले अर्थ अभावमा सिकागोमा ६ महिना मात्र सुप पिएर गुजारेका थिए। ओबामा सहनशील र जुझारु मात्र होइन, गम्भीर पनि देखिन्छन्। उनको यिनै स्वभावले संघर्ष गर्न अटल बनायो। परिणामतः उनी एउटा सफल कानुन व्यवसायी र अमेरिकाको राष्ट्रपति बन्न सफल भए।

हाम्रो पूर्वीय समाज र पश्चिमी समाजबीचको संस्कृति र परम्परामा काफी अन्तर छ। हामीकहाँ पैत्रिक सम्पत्तिमा छोराछोरीका हक रहन्छ। कानुन र प्रथाले आमाबुवाले सन्तानको लालनपालन तथा शिक्षादीक्षा दिनैपर्छ। अमेरिकामा अठार वर्ष पुगेपछि अभिभावकले पाल्न र सन्तानले पनि सँगै बस्नुपर्ने बाध्यता छैन। नेपाली युवा अमेरिकालाई स्वर्ग ठान्छन्। बुवाआमा पनि छोराछोरी अमेरिकामा बसेका छन् भने गर्वसाथ भन्छन्– त्यहाँको सुरक्षा, त्यहाँको कामअनुसारको दाम, विकसित सहर, भारी वजन भएको डलर मुद्रा हाम्रा युवानिम्ति ठूलो आकर्षण हो। तसर्थ ठूलो कष्ट गरी नेपाली युवायुवती दक्षिण अमेरिका र अफ्रिकी देशका सिमाका तारबार कष्टसँगले नाघी अमेरिका पुग्न भारी रकम दलाल र माफियाका हात बुझाउँछन्।

अमेरिकाको सपना देख्नेहरूले पैत्रिक सम्पत्तिबाट हात धोएका छन्, अनाहकमा ऋणको भार बोकेका छन्, ज्यान गुमाएका छन्, लुटिएका छन् र अझ बढी बन्धक बस्न र थुनामा पर्न बाध्य भएका छन्। परि श्रम गरेमा र विधिको शासन शासन पालन गरेमा कुनै पनि राष्ट्र स्वर्ग बन्न सक्छ। अमेरिका स्वयंमा स्वर्ग होइन। कर्मठ जनताको वर्षौ को मेहनतले नै स्वर्ग बनेको हो। काम नगरेमा अमेरिकामा भोकै मात्र हुँदैन, मर्न पनि सकिन्छ। यस कुराको हेक्का सबैले राख्न जरुरी छ।

अमेरिकामा आम जनताको जीउज्यान सुरक्षित छ। कामअनुसारको दाम पाइन्छ। त्यस्तै बेरोजगार भएर बस्नु पर्दैन। अन्यायविरुद्ध निश्पक्ष न्याय प्राप्ति हुन्छ र लुटको संस्कृति पनि छैन। त्यसैले पनि त्यहाँ गरिब राष्ट्रका युवायुवतीको आकर्षण छ। एसिया, अफ्रिका, ल्याटिन अमेरिकी युवायुवती त्यहाँ बस्न चाहन्छन्। नेपालबाट ६० लाख युवायुवती मुलुकबाहिर पलायन भएका छन्। उनीहरूले एक मुठी रकमनिम्ति अन्य मुलुकमा रगत र पसिना बगाएको देखिन्छ। मुलुकका गाउँहरू युवा अभावमा शून्य छन्। परि श्रम गर्ने युवा शक्ति नभएपछि मुलुकको विकास नहुनु स्वाभाविक हो। ओबामाको जीवनी पढ्दा युवा वर्गमा एउटै सन्देश प्रवाह हुन्छ– तपाईंहामी जहाँ जन्मौं, परि श्रम नगरी लक्ष्य प्राप्त हुँदैन। मुलुक बनाउने पनि युवा नै हुन्। तिनले नै मुलुकको स्वरूप परिवर्तन गराउने हो र विकासको मूलधारमा लाने हो भने संगठित भई प्रयास गर्न जरुरी छ, पलायन भएर हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.