सामान्य सहयोग, असामान्य महत्व

सामान्य सहयोग, असामान्य महत्व

स्मल थिङस् ह्याज ग्रेट मिनिङ । अमेरिकामा बसेका व्यक्तिले आफ्नो दुःखेसो पोख्दै भनेका थिए, ‘पिसो तो घणो कमायो, पर कि कणा माह्रोे छोरो हातसे निकलगयो ।’ (पैसा त धेरै कमाइयो तर के गर्नु छोरा हातबाट फुत्कियो) । सानो दुःखकष्ट झेलेका हैनन् उनले अमेरिकामा स्थापित हुन । परिवारको लालनपोषण, पढाइलेखाइ, सुखसुविधा यावत् कुरामा कुनै कमी हुन दिएनन्् उनले । तर पखेटा लागेपछि बचेराहरू गुँडबाट फुर्रफुर्र उडे झैं छोराहरू पनि आआफ्ना जोडी समात्दै घरबाट फुत्तफुत्त निस्की हिँडेकोमा उनी आफैंभित्रको दोष तथा कमजोरी खोज्न तल्लीन भए ।

अमेरिकी कल्चरमा सायद यो साधारण मानिन्छ । तर हाम्रो नेपाली समाजमा आफूले जन्माएका, हुर्काएका र पढाएका सन्तान विदेशी रकमको अन्धो अनुसरणको एउटा नमुना थियो त्यो । साथै बाउआमालाई त्यसले प्रदान गरेको पीडा शब्दमा बयान गर्न उनको सामथ्र्य थिएन । अझ बढी पीडा उनलाई त्यसबखत हुन्थ्यो जब आफ्ना छोराले भन्ने गर्दथे, ‘बाउ, तपाईंले हाम्रा लागि जे पनि गर्नुभयो आफ्नो सोख पूरा गर्न । त्यो त तपाईंहरूको कर्तव्य पनि थियो । छोराछोरी जन्माएपछि लालनपालन गर्ने र हुर्काउने त जसले पनि गर्छ । फेरि कोही केही बन्छ भने आफ्नै मेहनत र भाग्यले बन्छ ।’

हुन पनि हो, आफ्नो मेहनत र परि श्रमबिनाको के नै बन्न सक्छ र ? विज्ञानले यति लामो

फट््को मारिसक्यो कि वैज्ञानिक बाउलाई आइप्याड र आधुनिक मोबाइलसँगै सुत्ने उनकै सन्तानले आउटडेटेड, ओल्ड फेसन भने भने, दोष उनको ठान्नुभन्दा आधुनिक विचारको उपज मान्नुपर्ने हुन्छ । एकातिर यस्ता विचार तथा संस्कार हुर्किरहेका छन् भने अत्यन्त साधारण घटनालाई पनि जीवनमा ठूलो महत्व दिने व्यक्तिहरू प्नि यही समाजमा प्रशस्तै भेटिन्छन्।

धेरै समयअघि एकजना हट्टाकट्टा जवान मसामु आएर आफ्नो भविष्य तथा क्यारियरको दुहाइ दिँदै सहयोगको याचना गर्न थाले । एआईटी बैंककमा तुरुन्तै पुग्नुपर्ने आफ्नो कागज खामबाट झिकेर मलाई देखाउँदै त्यो खाम बैंकक एयरपोर्टबाट पोस्ट गरिदिन उनको विनम्र अनुरोध थियो। त्यो खाम यहाँको हुलाकबाट तुरुन्तै पुग्न न त पर्याप्त समय थियो न त भरोसा ।

बैंकक एयरपोर्टबाट अर्जेन्ट शुल्क तिरेर पठाइदिन उनी मेरा हातमा केही रुपैयाँ पनि थमाउन खोज्दै थिए । पोस्ट अफिसमा टिकटका निमित्त यति नै पैसा लाग्छ भन्ने यकिन नहुँदा मैले त्यो पैसा लिन मानिनँ । त्यो डकुमेन्ट बैंकक एयरपोर्टबाट पोस्ट गरेपछि जत्ति पैसा लाग्छ जरुर लिनेछु भनेर म जहाजतिर लम्किएँ । जिन्दगी तथा क्यारियरको सवाल भनेपछि मैले पनि उक्त खाम सावधानीपूर्वक ककपिटमा आँखाअगाडि नै राखेर जहाज ल्यान्ड गर्नेबित्तिकै

एयरपोर्टबाट पोस्ट गरिदिएँ । दुईतीन वर्षपछि

उक्त कुरा मेरा मानसपटलबाट ओझेल

परिसकेको थियो ।

एक दिन अचानक उनै आकर्षक व्यक्ति आफ्नो फुल आर्मी युनिफर्ममा मेरो जहाजको नजिकै आएर ब्यांकक एआईटीमा गरेको अध्ययनको सफलता तथा पदोन्नति दुवैको सम्पूर्ण श्रेय मलाई दिन थाले । ‘मेरो जिन्दगीको यो सफलता सरको योगदानबिना सम्भव थिएन, जुन कुरा म यो जन्ममा त के अर्को जन्ममा पनि बिर्सन सक्दिनँ’ भन्ने शब्द बारम्बार दोहोर्‍याइरहेका थिए । सबैसामु यति सानो कुरा (एउटा खाम पोस्ट गरेको) लाई यति ठूलो महत्व दिँदै बयान गर्दा म संकोच महसुस गरिरहेको थिएँ । तसर्थ ती आर्मी अफिसरलाई मैले जीवनको एउटा गूढ रहस्य भन्नैपर्‍यो, ‘दीपकज्यू, अब योभन्दा धेरै यो प्रसंग अरूसामु न दोहोर्‍याइरहनुस््, मैले त भगवान्् पशुपतिनाथले खटाएको र अह्राएको कुरा मात्र गरेको हुँ ।’

लागेको बानी सहजै कहाँ जान्थ्यो र ? लामो अन्तरालपछि एक दिन उहाँ मेरो जापान उड््ने तर्खरमा रहेको जहाजको उडान कक्ष (ककपिट) मै आउनुभयो । आर्मीको आकर्षक युनिफर्ममा गोरा अग्ला जवान आकर्षणका केन्द्र भएको मैले त्यो बेला महसुस गरें जब एयरहोस्टेज मैले भन्नुअगावै तीन कप तातो कफीको टे« लिएर आइन््, ‘सरले भन्नुअगाडि नै मैले कफी ल्याएँ ।’ मुस्कुराउँदै हामी तीनैजनालाई उनले कफी दिइन्् । ककपिटभित्र पस्नेबित्तिकै सुनौलो तारा तथा फुली इत्यादि चम्काउँदै उनले मलाई एउटा रोबदार आर्मी स्यालुट मार्दै आफ्नो टोपी शिरबाट फुकाल्दै, ‘यो कर्नेली फुली पहिले म हजुरलाई टक्य्राउँछु, हजुरको सहयोगको प्रतिफल आज म कर्नेल भएँ, यो तमाम श्रेय हजुरलाई जान्छ सर’ भनेर फेरि टोपी लगाउँदै उनले फेरि स्यालुट ठोके । कर्साबलाई हृदयदेखि बधाई दिन म आफ्नो सिटबाट उठें र हात मिलाउँदै अंकमाल गरें । उहाँ कर्नेल भएकोमा म खुसी थिएँ । तर, फेरि पनि त्यही कुरा दोहोर्‍याउँदा मैले भन्नैपर्‍यो, ‘प्लिज, एउटै प्रसंग फेरि दोहोर्‍याई नराख्नुस््, यसका निमित्त भगवान्् पशुपतिनाथलाई धन्यवाद दिनुस््, जसले मलाई यस्ता कामका निमित्त खटाउनु हुन्छ, अह्राउनु हुन्छ ।

एउटा अर्को प्रसंग, नेपालगन्जको टाउको फुट््ने घाममा एकजना भद्र मानिस ठूलो संकटमा परे झैं छट््पटाउँदै कहिले जहाजको छेउ आउँथे त कहिले निगम कर्मचारीलाई हात जोड््दै हुन्थे । बाउको देहावसान भएपछि काजकिरिया गर्न विराटनगर पुग्नुपर्ने उनको समस्या थियो । कसैको सहयोग नपाउँदा तथा एभ्रो विमानका ४४ वटै सिट भरिभराउ हुँदा निगम कर्मचारीले पनि उनका निमित्त केही गर्न सकेका रहेनछन्् । जहाजको पखेटामुनि घाम छल्न उभिएको मनजिक आएर उनले मलिन स्वरमा समस्या सुनाए । मैले जहाजको ककपिटको जम्पसिट (अतिरिक्त सिट) मै राखेर उनलाई काठमाडौंसम्म पुर्‍याएर भोलिपल्टको विराटनगर फ्लाइटमा एउटा सिट सुनिश्चित गर्नसमेत निगम कर्मचारीलाई भनेर घरतिर लागें ।

संयोग पनि कस्तो ! लगभग २०÷२५ वर्षपछि बाउको हातको टीका लगाउन म विराटनगर गएको बेला एयरपोर्टमा मलाई चिनेर तिनै यात्रुले आफ्नो परिचय दिए र विगतका सम्पूर्ण कुरा आफ्ना साथीभाइलाई सुनाउन थाले । कसरी जीवनमा पहिलोपटक जहाजको ककपिट देखेको मात्र नभई त्यसभित्रै बसेर काठमाडौं आएको । ‘तपाईंले लगाउनुभएको त्यो गुन म यो जन्ममा कहाँ बिर्सन सक्छु र ? ’ उनको मुखबाट ती पुराना सम्झना निस्कँदै गर्दा म २०÷२५ वर्षअघि नेपालगन्जको त्यो प्रचण्ड गर्मीसँग गााँसिन पुगें । मानसपटलबाट धुमिल भइसकेका कुरा कसैकसैका मनमा कसरी छाप भएर बस्दा रहेछन्् म अचम्मित भएँ । हो, केही घटनाचाहिँ मेरा मानसपटलबाट कहिल्यै जाँदैनन्् ।

निकै वर्ष पहिलेको घटना हो, टुइनअटर विमानको नेपालगन्ज–रुकुमकोट (चउरझारी)– नेपालगन्जको कुनै एक उडानको सम्झना मलाई बेलाबखत आइरहन्छ । नेपालगन्जबाट चउरझारी ल्यान्ड गर्नेबित्तिकै सदा झैं म बाहिरको दृश्य अवलोकन गर्न नजिकैको एउटा पसलमा चिया पिएर फर्कन लाग्दा सडक किनारमा खुट्टा पसारेर बसेको एउटा मानिसमा मेरो दृष्टि तानिन्छ । पट्टी बाँधेको उसको खुट्टाबाट पीपमि िश्रत रगत बगिरहेको थियो । कूतुहलवश नजिक गएर मैले उनलाई सोध्दा रूखबाट लडेर खुट्टा भाँचिएको र नेपालगञ्ज जान टिकट नपाएर १५ दिनदेखि बिचल्ली परेको उनले सुनाए । उनलाई मेरै फ्लाइटमा नेपालगन्ज लाने प्रबल इच्छा गरेपछि उनलाई सोधें, ‘जाने हो त मसँग ? ’ ‘जहाजले हाम्लाई कहाँ लान्छ र ? ’, उनको मलिन जवाफ थियो । मैले निगमका कर्मचारीसँग ती बिरामीलाई लाने इच्छा प्रकट गर्दा उनले पहिले त सिट नै नभएको सुनाए भने पछि मेरो कानैनेर आएर भने, ‘सर, त्यसलाई ग्यांग्रिन भइसकेजस्तो छ, दुर्गन्धले छेउमै जान सकिँंदैन । अन्य यात्रु सँगै बस्नै मान्दैनन््, कसरी लाने उसलाई ? ’, उनको विरोध प्रस्ट झल्कियोे । जहाजको सबैभन्दा पछाडि ढोकैनिरको सिटमा राखेर लाने मेरो निधो भयो, जसका लागि एउटा सानो केटालाई उसकै अभिभावकको काखमा राखेर त्यो सिट उक्त खुट्टा भाँच्चिएको यात्रुलाई दिने प्रबन्ध भयो । एयर होस्टेजले जहाजमा दुईतीनपटक सुगन्धित एयरफ्रेसनर छर्दाछर्दै जहाज नेपालगञ्ज पुग्यो । ती यात्रुलाई नेपालगन्ज अस्पतालसम्म निगमकै गाडीमा पुर्‍याउने बन्दोबस्त गरेर म काठमाडौंकोे उडानतिर लागें । उनको नेपालगन्जमै उपचार भयो, उनको त्यो खुट्टा सहीसलामत रह्यो कि काट््नुपर्‍यो इत्यादि कुरा मेरो मानसपटलमा धेरै दिनसम्म आइरह्यो ।

तत्कालीन शानेवानिका जहाजले देशका दुर्गम पहाडी क्षेत्रका उडानका अतिरिक्त तराईका थुप्रै क्षेत्रको उडान पनि भ्याउनुपर्ने हुन्थ्यो । काठमाडौंबाट बिहान सबेरै उडेको टुइनअटर विमानले लामीडाँडा, विराटनगर, तुम्लिङटार, भोजपुर इत्यादि भ्याएसम्म बढी से बढी उडान गरेर सोही बाटो काठमाडौं फर्कंदा कहिलेकहीं झमक्कै साँझ पर्दथ्यो । लामीडाँडामा एकजना प्रसूतिसम्बन्धी समस्याले पीडित महिलालाई सुविधासम्पन्न अस्पताल लाने पर्खाइमा बसेका उनका आफन्त हड््बडाइरहेका थिए, जहाज विराटनगरबाट विगतमा झैं सोझै काठमाडौं गइदेला कि भनेर । महिलाको अवस्था देखेर मलाई पनि माया लागेर उनीहरूलाई आश्वस्त पारें, ‘म कसैगरी पनि लामीडाँडा आउँछु र उनलाई काठमाडौं आजै पुर्‍याउँछु ।’

बिहानैदेखि प्रतिकूल मौसमका कारण भोजपुर तुम्लिङटार उडान झन्् ढिलाइ हुन गएको थियो । उड््ने बेलामा लामीडाँडा टावरले दिएको मौसमी विवरणअनुसार दक्षिणतिरबाट बादलले ढाकेका कारण ल्यान्ड गर्न कठिनाइ हुने कुरा विदितै थियो, सोही कुरा अगाडि सार्दै विराटनगरबाट सोझै काठमाडौं जान विमानस्थल कर्मचारी मलाई सल्लाह दिइरहेका थिए । उता ती स्वास्नीमान्छेको अवस्था तथा आफूले दिएको आश्वासन दुइटै मेरानिमित्त उत्तिकै महत्वपूर्ण थिए । समय अभावका कारण दक्षिणतिरबाटै लामीडाँडा ल्यान्ड गरेर चाँडै काठमाडौं उड््ने मेरो योजना सफल हुन नसक्नुको कारण थियो बादल । उत्तरतिरबाट बादल छल्दै लामीडाँडामा ल्यान्ड गर्न म सफल भएँ । हतारोका कारण जहाजको एउटा इन्जिन पनि बन्द नगरी मैले सबै यात्रुहरूलाई जहाजभित्र राख्न भनें ।

प्रतिकूल मौसममा पनि जहाज आएकोमा सबैभन्दा खुसी ती महिला नै थिइन्् । जहाज उड््नेबित्तिकै हल्लाउने कृया सुरु भइहाल्यो, जुन पाइलट नभई मौसमका कारण भएको थोरै मानिसले मात्र बुझ््थे । बादलको मुनिमुनि सुनकोसी पछ््याउँदै दुई डाँडाको बीचमा

उड््नुको विकल्प थिएन । दायाँबायाँ बिजुली चम्किरहेको र माथि पानी पार्ने कालो बादलले ढाकेका कारण रामेछापसम्म सुनकोसी पछ्याउँदै उडे पनि जहाजलाई त्यसउप्रान्त बादलभित्र नपसी धरै भएन ।

केहीबेर बादलसँग बात मार्न तथा उसका आफ्नै समस्यासँग साक्षात््कार हुन पनि मजै आउँछ । धुलिखेल र बनेपाको बीच कुनै स्थानमा बादलसँगको हाम्रो वार्तालाप टुंगियो । काठमाडौंमा झमक्क साँझ परे पनि ककपिटको सिसाबाट टाढैबाट रन वे देख्दा मन ढुक्क भयो। राम्रो कार्यका निमित्त गरेको प्रयास कतै खेर जाँदैन भन्ने मेरो आत्मविश्वासलाई त्यो नौधुरको पानी तथा कालो बादलले डग्मगाउन सकेन। सम्झन्छु– मैले ती असहाय महिलालाई दिएको वचन पूरा गराउने अर्कै शक्ति थियो । ती महिलाको बच्चा पनि ठूलो भएर पाइलट नै बनेको कुनै दिन सुनें भने मलाई कुनै आश्चर्य हुने छैन । [email protected]


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.