लाप्राकमा फ्रान्सेली साथी

लाप्राकमा फ्रान्सेली साथी

 लाप्राक : फ्रान्सेली संस्था लाप्राकका साथी (लेजामी डी लाप्राक)ले यहाँको शिक्षा क्षेत्रमा २० वर्षदेखि सहयोग गर्दै आएको छ । संस्थामा ७ सय फ्रान्सेली आबद्ध छन् । उनीहरूकै सहयोगमा गोरखाका धार्चे र बारपाक सुलिकोट गाउँपालिकामा एक दर्जन विद्यालय बनेका छन् ।

अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङले सन् १९९८ मा फ्रान्सेली पर्यटक टोलीलाई लाप्राक (धार्चे–४) भ्रमणमा ल्याएका थिए । टोली नेता क्रिस्चियाेंले लाप्राकका बालबालिका शिक्षाबाट वञ्चित भएको देखेका थिए । ‘म पहिलो पटक सन् १९९८ मा लाप्राक आएको थिएँ’, उनले भने, ‘पहाडको काखमा रहेको सुन्दर गाउँ र यहाँका हसिला केटाकेटीमा मेरो मन बस्यो । उनीहरू स्कुल नियमित जाँदैनथे ।’ त्यसपछि संस्था दर्ता गरी गरिब १५ बालबालिकालाई स्कुल पठाउन सहयोग गरेको उनले सुनाए ।

लाप्राकको मणिकामदेवी प्रावि (हाल मावि)को भवन निर्माण गरी सहयोग कार्यक्रम सुरु गरिएको थियो । स्थानीयस्तरमा गणेशहिमाल एसोसिएसनले साझेदारी गरिरहेको छ । उनीहरूले फ्रान्समा नेपाली खाना बनाएर च्यारिटीका कार्यक्रम गरी संकलित रकम गणेशहिमालमार्फत पठाउँदै आएका छन् । संस्थाले विद्यालय भवन, प्रयोगशाला, छात्रावास निर्माणदेखि शिक्षकलाई तलब, विद्यार्थीलाई स्टेसनरी, पोसाकमा सहयोग गर्दै आएको छ । लाप्राक, गुम्दा, लप्सीबोट, उहिया, बालुवा, मान्द्रे, बारपाक, केरौजा, रुन्चेत, माछाखोला, थला र खोर्लामा संस्थाले विद्यालय भवन निर्माण गरेको थियो । सन् २०१५ सम्ममा ५ करोड ९३ लाख रुपैयाँबराबरको काम भएको थियो ।

स्थानीयमा परनिर्भरता बढ्दै जाने भएकाले संस्था बन्द गरी आफ्ना कार्यक्रम स्थानीय निकायलाई जिम्मा लगाउने योजना बनाउँदा भूकम्प गयो । उनीहरूले सहयोग गरेका सबै संरचना तहसनहस भए । फेरि संस्थाले उपलब्ध गराएको ५० लाख ७० हजार रुपैयाँबराबरको सहयोगले स्थानीयलाई राहत वितरणलगायत काम गरिएको गणेशहिमालका अध्यक्ष गुरुङले बताए । लाप्राकको मणिकामदेवी मावि, गण्डकी मावि आर्खेत, पार्वती प्राविलगायत विद्यालयमा टहरा तथा फर्निचरको व्यवस्था गरियो । हिमालय मावि बारपाकमा छात्रावासमर्मत गरिएको उनले सुनाए ।

संस्थाको आर्थिक सहयोगमा धार्चे गाउँपालिकामा चार विद्यालय भवन निर्माणाधीन छन् । मणिकामदेवी, सूर्योदय मावि, जनजागृति आधारभूत र सातकन्यादेवी माविमा ३३ कोठाका ११ वटा भवन निर्माण भइरहेको उनले बताए । ‘फ्रान्सेली दाता हरेक वर्ष नेपाल आउनुुहुन्छ’, उनले भने, ‘उहाँहरूले सहयोग गरेको विद्यालय अवलोकन गर्नुहुन्छ । स्थानीयसँगको छलफलमार्फत योजना छनोट गरी सहयोग घोषणा गर्नुहुन्छ ।’

अब पाँच वर्षमा विघटन गर्ने निर्णय गरिएको संस्थापक क्रिस्चियाेंले बताए । ‘हाम्रो उद्देश्य सन् २०२४ मा पूरा हुन्छ’, उनले भने, ‘लामो समय सहयोग गरिरहँदा स्थानीयमा परनिर्भरता बढ्छ । उनीहरूले हाम्रो अनुपस्थितिमा विद्यालय राम्रोसँग व्यवस्थापन गर्न सक्नुपर्छ ।’

संस्थाले सहयोग गरेको २० वर्ष पुगेको अवसरमा मणिकामदेवी माविमा शनिबार कार्यक्रम गरियो । स्थानीयले २२ फ्रान्सेलीलाई सम्मान गरे । ‘मैले स्पोन्सर गरेको धनबहादुर गुरुङ प्रधानाध्यापक भएको थाहा पाउँदा धेरै खुसी छु’, उनले भने, ‘शिक्षा अत्यन्त जरुरी छ । यहाँका बच्चाहरू लाप्राकका भविष्य हुन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.