नाम र राजधानी टुंगो नलगाई प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

नाम र राजधानी टुंगो नलगाई प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा : ३ नम्बर प्रदेशको नाम र राजधानी टुंगो नलगाई प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारले यही अवधिमा स्थायी राजधानी टुंगो लगाउने भनेको थियो।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेको थियो। प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबारै अधिवेशन अन्त्य भएको पत्र प्रदेशसभा सचिवालयमा पठाएको कार्यव्यवस्था परामर्श समिति सचिव सुनीता गजुरेलले बताइन्।

समितिको चैत १७ गते बसेको बैठकमा यही अधिवेशनमा प्रदेश राजधानी टुंगो लगाउने सहमतिसमेत भएको थियो। त्यही दिन बसेको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले राजधानी टुंगो लगाउन कार्यविधि बनाउने बताएका थिए। मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते दिउँसो १ बजे बजेट अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बताए।

प्रदेशसभालाई झुक्याएर हिउँदे अधिवेशन अन्त्य गरेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ। ‘झुटको खेती गर्नेहरूसँग अब हाम्रो विश्वास रहेन’, संसदीय दलका नेता इन्द्र बानियाँले भने, ‘आजको दिनसम्म हामीले सदन सहज रूपमा चल्न दियौं, अब वर्षे अधिवेशनमा त्यो सहजता हुँदैन।’

मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनमा राजधानी टुंगो लाग्ने बताएका थिए। सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले तयारी अभावमा राजधानी टुंगो लगाउन नसकिएको बताए। ‘आवश्यकताले यस्तो निर्णय भयो’, उनले भने, ‘सधैं यस्तो हुँदैन।’

सत्तारुढ दल नेकपामै राजधानी तोक्ने विषयमा कुरा मिलेको छैन। सभामुख श्रेष्ठले वैशाख ५ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा स्थगन गरेका थिए। प्रदेशसभाका विभिन्न समितिमा आठ विधेयक दफावार छलफलका क्रममा छन् । हिउँदे अधिवेशनबाट चार विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.