जंगली भालु गाउँमा पसेर आतंक मच्चाउँदा ६ जना घाइते
वीरगन्ज : वीरगन्जको सिर्सिया गाँउमा बुधबार साँझ जंगली भालुले आतंक मच्चाएपछि भागदौड हुँदा ६ जना भन्दा बढी घाइते भएका छन् ।
सिर्सियामा रहेको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) को झाडीमा बुधबार बिहान १० बजे तिर अचानक भालु देखा परेको थियो । झाडीमा भालु देखा परेपछि ड्राइपोर्ट सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले डिभिजन वन कार्यालय पर्सामा खबर गरेका थिए ।
ड्राइपोर्टमा पुगेको वन कार्यालय र राष्ट्रिय निकुञ्जको टोलीले झाडीमा बसेको भालुलाई नियन्त्रणमा लिने प्रयास गर्दा बिच्किएर भालु सिर्सिया गाँउमा पसेको र भागदौड हुँदा लडेर चोटपटक लाग्दा स्थानीय अमरेन्द्र पटेल, नासीर हुसेन, राधेश्याम सहित ६ जना घाइते भएको स्थानीय भैयाराम पटेलले जानकारी दिए ।
गाँउमा पसेको भालु फेरि फर्किएर अहिले ड्राइपोर्टको झाडीमै पसेको प्रहरी चौकी सिर्सियाका प्रहरी सहायक निरीक्षक पूर्ण तामाङले जानकारी दिए । वन र निकुञ्जबाट आएको टोलीले डाट सुइ हानेर भालुलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर भालु फेरि अहिले झाडीमै पसेको बताइएको छ । प्रहरी सहायक निरीक्षक तामाङले भने, ‘अहिले पनि हामी भालुलाई नियन्त्रणमा लिने कोसिस गरिरहेका छौँ तर झाडी भित्र पसेकाले गाह्रो भइरहेको छ ।’
पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट मानवबस्तीमा पसेको भालु बाटो बिराएर सिर्सिया नदीको तिरै तिर हुँदै सिर्सिया ड्राइपोर्टको झाडीमा आएको हुनसक्ने स्थानीय आशीक अन्सारीले बताए ।
प्रतिक्रिया दिनुहोस !