नयाँ घरमा दंग बारपाकबासी

नयाँ घरमा दंग बारपाकबासी

गोरखा (बारपाक) : करिब ११०० घरधुरी एकै ठाउँमा झुरुप्प भएको बारपाकको ‘सोर–त’ टोलको मध्यभागमा सुष्मा घलेको चिटिक्कको घर छ। मनपर्ने रङको टायल बिछ्याएको आँगन, पिँढी, मझेरी, भ¥याङ, घरका भित्ता, छत, आवश्यकताअनुसार कोठा बनेका छन्।

हालै निर्माण सम्पन्न भएको नयाँ घरमा सरेपछि घलेको परिवार दंग छन्। रिनधन गरेर भए पनि पक्की र सुविधासम्पन्न घर बनाएर बस्न पाएपछि सुष्माको परिवार मात्र होइन, बारपाकका बासिन्दा खुसी भएका छन्। पुरानो घर २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएपछि बारपाकका अधिकांशले नयाँ घर आरसीसी गरेर बनाएका छन्। करिब ६० प्रतिशत घर आरसीसी गरेर बनाइएको स्थानीय युवा जितबहादुर घले बताउँछन्।

बारपाकमा अधिकांश ब्रिटिस र भारतीय सेनामा बहालवाला र भूपूहरुको बसोबास छ। वैदेशिक रोजगारीका क्रममा राम्रा देशहरुमा जानेको संख्या पनि उत्तिकै छ। ‘रिनधन त आफ्नो ठाउँमा छ। जे जसरी भए पनि बारपाकमा करोड–करोडका घर बनेका छन्’, घलेले भने, ‘सबैभन्दा जीवन ठूलो भन्ने सोचेर उनीहरुले सुरक्षित पक्की घर बनाएका हुन्।’

नयाँ घरहरुले भरिएको बारपाकको रुप फेरिएको उनी बताउँछन्। ‘चार वर्षदेखि बारपाक नदेखेकाले अहिले देखे भने यो पनि बारपाक हो र ? भनेर अचम्म मान्नुपर्ने अवस्था छ’, उनले भने, ‘पहिले साँगुरो गल्ली थियो, अहिले चोकचोकसम्म फराकिलो मोटर बाटो पुगेको छ। बडेबडेमाका रंगीचंगी घर बनेका छन्।’

बारपाकको स्वरुप नबिगार्न आग्रह गर्दागर्दै पनि बारपाकका केहीले भूकम्पअघि अटेरी गरी आरसीसी गरेर घर बनाएका थिए। भूकम्प जाँदा सबै घर ढले तर आरसीसी गरेर बनाइएको घर ढलेनन्। त्यसैले सबैले आरसीसी घर बनाएको स्थानीयको एक स्वर छ। ‘भूकम्प जानुअघि आठ दसवटा आरसीसी गरेर बनेका घर थिए’, स्थानीय आसबहादुर गुरुङले भने, ‘ढुंगामाटोले बनेका सबै घर ढले तर ती घर ज्यँकात्यूँ रहे। त्यसैले गाउँलेले पुरानो शैलीको घर बनाउने भनेर नेताहरुले भनेको कुरा नटेरेर धमाधम आरसीसी घर ठड्याउन थाले।’ राम्रो भन्दा पनि बलियो रोजेर यस्तो घर बनाएको उनको तर्क छ।

भूकम्पपछि गाउँमा मोटर चल्न थालेकाले पनि पक्की घर बनाउन सजिलो भएको अर्का स्थानीय सूर्य गुरुङको भनाइ छ। ‘गाउँमा मोटर नआएको भए बाध्य भएर पनि पुरानै ढाँचाको घर बन्थ्यो होला’, गुरुङले भने, ‘भूकम्पपछि गाउँमा मोटरबाटो बन्यो। सिमेन्ट, रड र चाहिने सबै कुरा घरसम्मै ल्याउन सजिलो भयो। त्यसैले यस्ता पक्की घर बन्न सफल भयो।’

धनीगरिब घरले छुट्टिने

भूकम्पअघिको पुरानो बारपाकमा प्रायः उत्रै र उस्तै घर थिए। घर हेरेर को धनी, को गरिब छुट्याउन सकिन्नथ्यो। तर अहिले घर हेरेरै धनी बारपाकी र गरिब बारपाकी छुट्याउन सकिने स्थानीय जित घलेले जानकारी दिए। ‘पहिले उस्तैउस्तै घर हुन्थे। को धनी, को गरिब भन्ने कुरा घर हेरेर छुट्याउन सकिँदैनथ्यो’, उनले भने, ‘तर अहिले त्यस्तो छैन। ६० प्रतिशत घर आरसीसी बिल्डिङ छ। ४० प्रतिशत भूकम्पको अनुदानले जेनतेन बनेका छन्। अब त जोसुकैले पनि धनी बारपाकी र गरिब बारपाकी भनेर सजिलैसँग चिन्न सकिन्छ।’

भूकम्पको केन्द्रबिन्दु बारपाकमा अहिलेसम्म ८९ प्रतिशत पुनर्निर्माण भइसकेको बारपाकमा खटिएका इञ्जिनियर महेन्द्र शाहीले जानकारी दिए। भूकम्पले भत्किएका एक हजार तीन सय ४५ घरधुरीमध्ये एक हजार एक सय ९१ जनाले तेस्रो किस्ता लगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.