कर्णाली प्रिमियर लिग : घरेलु टोलीको विजयी सुरुआत
सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ। कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा दुई विभागीयसहित आठ टोलीको सहभागिता रहेको छ।
वीरेन्द्रनगरको कालुङचौक क्रिकेट मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोलीले विजयी सुरुआत गरेको छ। घरेलु टोली कर्णाली—११ ले झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई आठ विकेटले हरायो।
एक सय दुई रनको लक्ष्य पछ्याएको कर्णालीले १४.२ ओभरमा केवल दुई विकेट गुमाएर जित हात पार्यो। कर्णालीका लागि कप्तान रवीन्द्रजंग शाहीले अविजित ४५ रनको योगदान गरे।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लालीगुराँसले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको थियो। लालीगुँरासका लागि रौनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाए।
पाहुना टोलीलाई सस्तोमा समेट्न कर्णालीका बलर किशोर महतोले चार ओभरमा केवल १४ रन दिएर तीन विकेट लिए। दिवान पुनले पनि तीन विकेट हात पारे।
जितेन्द्रसिंह ठकुरीले दुई विकेट हात पारे। शुक्रबार न्यु होराइजन बुटवल र महेन्द्रनगर क्रिकेट एकेडेमी तथा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्रिकेट एकेडेमीबीच खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगिता वैशाख २१ गतेसम्म चल्ने जानकारी आयोजक कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले दिए। लिगकम नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितमाको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ। उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले पनि जनही २० हजार रुपैयाँ हात पार्नेछन्।
फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा छक्का प्रहार भएको बल समात्ने दर्शकलाई एक हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले गरेका थिए।