अन्धाधुन चीनमा पनि हिट
एजेन्सी : भारतमा ७५ करोड कमाइ गरेको बलिउड चलचित्र ‘अन्धाधुन’ले चीनमा तीन सय करोड भारतीय रुपैयाँबराबरको व्यापार गरेको छ। रिलिज भएकोे १५ दिनमै उक्त चलचित्रले चिनियाँ बक्स अफिसमा नयाँ रेकर्ड राखेको हो।
यो सफलतासँगै अन्धाधुन चीनमा धेरै व्यापार गर्ने तेस्रो बलिउड चलचित्र भएको छ। श्रीराम राघवन निर्देशित उक्त चलचित्र ३२ करोड लगानीमा बनेको बताइएको छ। श्रीरामका यसअघि ‘एक हसिना थी, बदलापुर’ चर्चित छन्। चलचित्र निर्माणमा बढी बजेट लगानी गर्नुुपर्छ भन्ने तर्कलाई भने यसले चुनौती दिएको छ।
अन्धाधुनमा आयुष्मान खुराना, तब्बु र राधिका आप्टेको अभिनय छ। पियानोवादकको रूपमा रहेका आयुष्मान दृष्टिविहीन छन्। कथाको निकै रोचक छ। सलमान खानको ‘बजरंगी भाइजान’ दुई सय ५० करोडको व्यापार गर्दै तेस्रो स्थानमा थियो। अन्धाधुनभन्दा अगाडि आमिर खानको ‘दंगल’ र ‘सिक्रेट लभ’ छन्।
भियाकम १८ मोसन पिक्चर्स र म्याचबक्स पिक्चर्सले निर्माण गरेको ‘अन्धाधुन’ चीनमा भने ‘द पियानो प्लेयर’ नाममा रिलिज भएको थियो। नयाँ विषयमा आधारित चलचित्रले छिमेकी मुलुकमा पाएको अपार मायाले आफू उत्साहित भएको भियाकमका सीईओ अजित अन्धारेले बताए।
प्रतिक्रिया दिनुहोस !