ऋण आफ्नो मुलुकको फाइदाकानिम्ति लिने हो

ऋण आफ्नो मुलुकको फाइदाकानिम्ति लिने हो

बीआरआई कसैविरुद्ध लक्षित छैन। यसबाट नेपालले अधिकतम फाइदा लिनुपर्छ भन्छन् पूर्वप्रधामन्त्री माधवकुमार नेपाल। चीनले आफ्नो ‘एक चीन नीति’ झैं दत्तचित्त भएर अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन बेइजिङ पुगेका नेपाल यो संसार जोड्ने विषयमा ढिलाइ गर्न नहुने बताउँछन्। सम्मेलन शनिबार सम्पन्न हुँदैछ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेतासमेत रहेका नेपालसँग बीआरआई सम्मेलनपरिसरमा बीआरआईमा नेपालको भूमिका र यसको महत्वबारेमा केन्द्रित भएर चिनियाँ अन्तरराष्ट्रिय रेडियोका नेपाली भाषाविज्ञका रूपका कार्यरत अजय अलौकिकले अन्नपूर्ण पोस्ट्का लागि गरेको कुराकानी :

 राष्ट्रपतिको सहभागिता रहने बीआरआई सम्मेलनमा उपस्थित हुन आउनुभएको रहेछ, तपाईंको सहभागिता केकस्ता विषयमा केन्द्रित रहन्छन् ?

म चिनियाँ कम्युनिस्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा बीआरआईको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएको हुँ। पूर्वप्रधानमन्त्रीको हैसियतमा सेसनमा सहभागी हुन आएको हुँ। म आउने भएपछि मात्र राष्ट्रपति आउने विषय जानकारी पाएँ। मेरो र राष्ट्रपतिको भ्रमण फरक हो।

मेरो यो भ्रमण राष्ट्रपतिसँगको भ्रमण होइन। हामी कतिपय उही कार्यक्रममा रहन्छौं, तर प्यानल फरक छन्। म बिहीबारदेखि छलफलमा सहभागी छु। राम्रै छलफल र सकारात्मक ‘वेब’ मैले देखेको छु। बीआरआईबारे पनि छलफल भयो। बीआरआईबाट हाम्रोजस्तो मुलुकलाई लाभ मात्र हासिल हुनेछ। यसले जुन किसिमको संसार जोड्न खोजेको छ, त्यसले विश्वमा अघि मात्र बढाउँछ, पछाडि फर्काउँदैन।

 तपाईंको भ्रमणका उद्देश्यहरू होलान् नि ?

भ्रमणको उद्देश्य भनेको मुलुकको हितमा उपयोग गर्ने भन्ने हो। बीआरआईले आर्थिक माध्यम, कनेक्टिभिटी, रेल, रोड, समुद्र जुनबाट जोडे पनि सहकार्य बढाउने हो। त्यसमा हामीले नेपालको लिंक खोज्ने हो। यसका लागि म अधिकतम सेसनमा छलफलमा छु। विश्वका कुनै नेताहरूले यस्तो अवधारणा ल्याएका थिएनन्। व्यापार र सामाजिक सञ्जालबाट विस्तार गर्ने अवधारणा ल्याइएको छ, जुन अद्भुत अवधारणा हो। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई म यस्तो अवधारणाप्रति विशेष धन्यवाद दिन चाहन्छु। त्यसमा केन्द्रित रहेर नेपालबारेमा आफ्नो धारणा राख्नेछु। पूर्वप्रधानमन्त्रीको हैसियत र दलको नेताको हैसियतमा आफ्नो कुरा राखेर नेपाल–चीन जोड्ने प्रयास गर्नेछु। बीआरआई दूरदृष्टियुक्त अवधारणाको रूपमा रहेकाले यसमा नेपाल अग्रसर देखिनुपर्छ। यसले सबैलाई लाभ मात्र दिन्छ, कुभलो हुँदैन। सिंगो संसार जोड्ने विषय नराम्रो हुनै सक्दैन। तर, सबैले आफ्नो मुलुक हेरेर त्यसमा सहभागिता देखाउन खोज्नुपर्छ।

 नेपालले बीआरआई प्रवेशमै आनकानी गर्‍यो, तर पनि खासै लाभ लिन नसकेको देखियो, किन ?

हो, हामीले अवश्य पनि बीआरआईबाट भनेअनुरूप लाभ लिन सकेका छैनौं। तर, केही काम अघि बढेका छन्। यसअघि सन् २०१७ मा सम्झौता भयो। त्यसपछि लिनुपर्नेजति सहकार्य हुन सकेन। राष्ट्रपति विद्यादेवी भण्डारीले यस सम्मेलनमा सहभागिता जनाएर नेपालको महत्व झल्काउनुभएको छ। नेपालले बीआरआईमा आबद्ध भए पनि लिन नसकेका विषयमा गम्भीर छलफल गर्नुपर्छ। एसियन इन्फ्रास्ट्रक्चर बैंकमा सहभागी भएदेखि लाभ लिनुपर्ने विषयमा प्रक्रिया अघि बढाउनुपर्छ। अब ढिलाइ गर्नु हुँदैन।

हामीलाई ‘फन्ड’ को खाँचो छ। विदेशी लगानी आवश्यक छ। जलविद्युत् होस् या कृषि, कहाँ चाहिएको छैन हामीलाई लगानी। यसैले पनि हामीले यसमा सहभागी हुनुपर्छ। स्मार्ट सिटी होस् या रेल, सबैमा सहयोग आवश्यक छ। नेपाललाई खाँचो परेको फन्ड लिने स्थान बीआरआई हो। तर, त्यसमा मुलुकको हित हेर्ने र व्यवस्थापन गर्ने पाटोमा नेपाल स्वयं ‘स्मार्ट’ हुनुपर्छ।

 राष्ट्रपतिको भ्रमणबाट त्यसमा बाटो खुल्ने वा थप उपलब्धि हासिल हुने देख्नुहुन्छ ?

केही विषयमा सम्झौता हुने भन्ने सुनेको छु। पारवहन तथा व्यापार सम्झौताको प्रोटोकलले अन्तिम रूप पाउने र तेस्रो मुलुकको पहँुचको विकल्प खुल्ने काम हुनु आफैंमा राम्रो हो। यस्तै अन्य केही परियोजना शनिबार हुने समापनमा पनि केन्द्रित रहेर आउनेछ। सबैबाट नेपालले केही न केही लाभ लिन सक्नुपर्छ। नेपालले चीनबाट लिने सहयोगको अपेक्षा हुनु स्वाभाविक हो। चीनले पनि लगानीका साथै सहयोग गर्दै आएको भए पनि ठूला लगानी अझै आउन सकेको छैन। यो भ्रमणले केही बाटो खोल्नेछ।

कुनै सहयोग हुने अपेक्षा पनि छ कि ?

हुन त मेरो ध्यान राष्ट्रपतिको भ्रमणमा छैन। तपाईंहरूले झैं म पनि बाहिर बसेर त्यो भ्रमण हेरिरहेको छु। राष्ट्रपतिसँग आएको पनि होइन। संयोगले सँगै भएका मात्र हौं। तर दुई देशका राष्ट्रपतिबीच हुने छलफलले केही नयाँ आयाम थप्ने विश्वास मलाई छ। उच्च राजनीतिक तहमा हुने छलफलले केही न केही नयाँ मोड लिन्छ नै। चीनले नेपालमा लगानी गर्ने विषय राम्रो हो। मेरो व्यक्तिगत चाहना छ– बीआरआईअन्तरगत नेपालमा लगानी भित्रियोस्।

 चिनियाँ लगानी डरलाग्दो हुन्छ भन्छन् नि ?

अनर्गल हल्ला फैलाइएको पाउँछु। मलाई त त्यस्तो लाग्दैन। कसैले ऋण लिन्छ भने लिनेले त्यसको व्यवस्थापन गर्ने गरी बलियो बाटो अपनाउनुपर्छ। दिनेको भरमा ऋण लिने होइन। ऋण आफ्नो मुलुकको फाइदाका लागि लिने हो। धेरै हिसाबले यो इनिसिएटिभ राम्रो भएकाले त्रसित हुनुपर्ने आवश्यकता छैन। कसैले हल्ला गर्‍यो भनेर त्यसको पछि लाग्नु हुँदैन। वास्तविकता बुझ्नुपर्छ। कसैको कुनै इस्यु मन नपरेर वा स्वार्थ नमिलेर सहभागिता नभएको हुन सक्छ। हामी त्यसको पछि लाग्ने कुरा आउँदैन।

अमेरिका र चीनको बीचमा देखा परेको प्रतिस्पर्धा भनिन्छ नि ?

अमेरिका होस् वा कुनै मुलुक, सबैलाई आफ्नो विषय बढी संवेदशील र महत्व लाग्छ। चीनलाई पनि यो महत्वपूर्ण लाग्छ। यसले गर्दा प्रतिस्पर्धा होला नै। तर, यो आर्थिक विषयमा हुने सहकार्य र सँगसँगै विकास अवधारणा हुनाले कुनै देशविरुद्धको कार्यक्रम होइन। यसले सबैलाई लाभ हुन्छ। गरिबी र अभावमा बस्नु कसैको हितमा छैन। यसैले पनि यो कार्यक्रम आवश्यक छ। शान्तिपूर्ण स्थिति बनाउन, प्रेमको सन्देश फैलाउन र दुःखकष्ट साट्नका लागि पनि यो इनिसिएटिभ राम्रो भएकाले कसैले पनि तर्सनु पर्दैन।

तर अमेरिकाले निकै चासो देखाएर हेरे झैं लाग्दैन ?

सिंगो संसार ग्लोबल भिलेजका रूपमा गएकाले गरिबी, अभाव र पछौटेपनमा बस्नु नपर्ने भन्ने विषयलाई चासो देखाउनु राम्रै हो। चासो दिएअनुसार सहकार्य गरेर अघि बढे झन् राम्रो। यसलाई शान्तिका रूपमा अघि बढाउन आवश्यक छ। आपसी सहयोग बढाउनका लागि महत्वपूर्ण हुनेछ।

लगानीको आवश्यकतासँगै सञ्जालको माध्यम झन् महत्वपूर्ण हो। जुनसुकै देश होस्, यसमा संवेदनशील हुनुपर्छ। कुनै देशविरुद्ध लक्ष्यित नभएकाले सहकार्य गर्नुपर्छ। अरूले के भन्छ होइन, हामीले आफ्नो मुलुक हेरेर यस्ता फोरमबाट लाभ उठाउन सक्नुपर्छ। लाभ लिन हल्लाको पछि दौडिनु हुँदैन। हल्ला फैलाउन हुँदैन।

पार्टी एकताको विषयमा तपाईंले असहमति देखाएको विषय नेपाली छापामा पढ्न पाएँ, केही भनिदिनुहुन्छ कि ?

पार्टी एकताको विषय मेरो सहमतिअनुसार भएको हो। हाम्रो सहमतिमा एकताको काम अघि बढेको छ। मसँग सहमति भएर अघि बढेकाले म नेपालको विषयमा भन्दा यहाँको फोरमकै विषयमा केन्द्रित छु। दलभित्र हुने कुराकानीमा म पनि रहेको हुन्छु। यसमा सहमति हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.